दयाहाङ राई, प्रकाश सपूतलगायत कलाकारहरूको मुख्य अभिनय रहेको फिल्म 'मिरमिरे' को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा केन्द्रमा छ।
श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ भन्ने ट्रेलरमा देखाइएको छ।
त्रिकोणात्मक प्रेम कथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा छ। आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाइएको ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति छ भन्ने देखाउँछ।
ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनलगायत कलाकार देख्न सकिन्छ। दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ। आमाको अभाव महसुस गरिरहेकी छोरीलाई कसरी मातृत्व प्रदान गर्ने भन्ने दयाहाङको प्रयास छ। यसले दर्शकलाई भावनात्मक बनाउँछ।
ट्रेलर हेर्दा फिल्मले आमाको अनुपस्थितिमा सन्तानलाई हुर्काउने बुबाको संवेदनशील संघर्ष र प्रेम, सामाजिक/आर्थिक कठिनाइ र मानवीय सम्बन्धको चित्रण गरेको अनुमान गर्न सकिन्छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म 'मिरमिरे' मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचनलगायत कलाकारहरूको अभिनय छ।
ग्रामिण परिवेशमा तयार ‘मिरमिरे’ यार्सा फिल्मसको प्रस्तुतिमा बनेको हो। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन्।
'मिरमिरे' माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।