फिल्म 'श्री बुकुरोः द होम कलिङ' को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ।
सुदीप भूपाल सिंह निर्देशित फिल्मको आधिकारिक ट्रेलर रिलिज हुनुअघि निर्माताले पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य प्रस्तुत छन्।
पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गर्छ। यो फिल्ममार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले फिल्म 'माला' र 'रुद्रप्रिया' निर्देशन गरेका थिए।
फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको 'श्री बुकुरोः द होम कलिङ' पारिवारिक ड्रामा हो।
फिल्ममा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन् भने रूबी सेन सिंह निर्माता हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। 'श्री बुकुरोः द होम कलिङ' फागुन १ गतेदेखि प्रदर्शनमा आउनेछ।