फिल्म 'आबाट आमा' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको हो। फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मले पहिलो साता ३ करोड रूपैयाँभन्दा माथिको व्यापार गरेको दाबी गरेको छ। पहिलो ७ दिनमा ३ करोड १८ लाख रूपैयाँ ग्रस कमाइ गरेको निर्माताको दाबी छ।
आधिकारिक बक्स अफिस रिपोर्ट भने चलचित्र विकास बोर्डले सोमबार मात्रै सार्वजनिक गर्नेछ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा' भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो। यसले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ। यसलाई फ्यामिली-ड्रामा जनरामा राखिएको छ।
फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।