चन्द्र पन्त निर्देशित फिल्म 'आ बाट आमा' प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।
यो फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ। निर्माण पक्षको दाबी अनुसार दुई सातामा नेपालमा फिल्मको व्यापार ७ करोड नाघेको छ। शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मले घरेलु बक्स अफिसमा ७ करोड ६ लाख रूपैयाँ ग्रस कमाइ गरेको दाबी गरेका हुन्। विश्वव्यापी कमाइ ८ करोड ७२ लाख रूपैयाँ पुगेको जनाइएको छ।
चलचित्र विकास बोर्डले गत शनिबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको थियो। जसअनुसार फिल्मले दोस्रो शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको थियो। तेस्रो शनिबारसम्मको आधिकारिक बक्स अफिस विवरण भने बोर्डले आगामी सोमबार सार्वजनिक गर्नेछ।
निर्देशक पन्तका अनुसार देशभरका हलमा फिल्मले राम्रो साथ पाइरहेको छ। आमा-बुबा र छोराबीचको सम्बन्ध तथा वैदेशिक रोजगारीका लागि विदेश पुगेका युवाको कथामा आधारित भएकाले फिल्मले धेरै दर्शकको मन छोएको निर्देशकको दाबी छ।
आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा पटकथा स्वयं निर्देशक पन्तकै रहेको छ। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली, रचना गौतमलगायत कलाकारको मुख्य भूमिका छ।
फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्।
संवाद अभिमन्यू निरवीले लेखेका हुन् भने अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य छ।