वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह एक दशकपछि फिल्म निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म 'कमला मिस' मार्फत उनी निर्देशनमा फर्किएका हुन्।
शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको छ।
फिल्म 'कमला मिस' मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको जनाइएको छ। यसमा निर्देशक नीर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा कार्यरत छन्।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानले प्रस्तुत गर्न लागेको हो। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान तथा लाइन प्रोड्युसर पुष्कर लामा छन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
नीर शाहले वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित 'परिवर्तन' बाट फिल्म यात्रा सुरू गरेका थिए। उनले निर्देशन गरेका स्मरणीय फिल्महरूमा 'वासुदेव', 'पच्चीस वसन्त', 'राजमती', 'वसन्ती', 'मसान', 'सेतोबाघ' पर्दछन्। उनले दर्जनौं फिल्ममा अभिनय गरेका छन्।
उनी अभिनीत पछिल्लो फिल्म 'परान' ले बक्स अफिसमा करिब १८ करोड रूपैयाँ कलेक्सन गर्दै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो।
