माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'कुमारी' र 'रमिताको पिरती' को बक्स अफिस कमाइ सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन्।
दिनेश राउत निर्देशित 'कुमारी' ले पछिल्लो शनिबार (फागुन २) सम्म सिनेपाः बक्सअफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कमाइ गरेको छ। यो अवधिमा फिल्मको १७ हजार २५ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, सुदीप्ता निर्देशित 'रमिताको पिरती' ले सोही अवधिमा १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ हुँदा फिल्मको ५ हजार ९३७ वटा टिकट बिक्री भएको उल्लेख छ।
यी दुवै फिल्म भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ रिलिज भएका थिए। फिल्मले प्रेम र भावनाको फरक-फरक आयाम प्रस्तुत गर्छन्। 'कुमारी' मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायतको समेत अभिनय छ।
त्यस्तै, 'रमिताको पिरती' को मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन्। साथमा धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ।