यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्। 'ऊनको स्वीटर', 'जेरी अन टप', 'परान' र 'आबाट आमा' ले उक्त आँकडा पार गर्न सफल भएका हुन्।
गत बैशाखमा प्रदर्शनमा आएको विपिन कार्की र मिरूना मगर स्टारर 'ऊनको स्वीटर' ले ११ करोड ४१ लाख रूपैयाँ ग्रस कमाएको थियो। नवीन चौहान निर्देशित यो फिल्म हालै युट्युबमा समेत सार्वजनिक भइसकेको छ। युट्युबमा पनि यसले दर्शकको निकै माया पाइरहेको छ।
त्यसपछि असोजमा रिलिज सुयोग गुरूङ निर्देशित 'जेरी अन टप' ले १२ करोड रूपैयाँभन्दा माथिको व्यापार गर्दै आफूलाई सफल फिल्मको सूचीमा उभ्यायो। अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्मले १२ करोड २५ लाख रूपैयाँभन्दा माथिको ग्रस कमाइ गरेको थियो।
कात्तिकमा प्रदर्शनमा आएको नीर शाह अभिनीत 'परान' ले यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको स्थान बनाएको छ। दीपक आचार्य निर्देशित यो फिल्मले १७ करोड ८४ लाख ग्रस कमाइ गर्यो। यो फिल्मको टिकट बिक्री संख्या ६ लाख ३३ हजार बढी छ।
यसैबीच पल शाह, विपना थापा, प्रदीप रावत लगायतको अभिनय रहेको फिल्म 'आबाट आमा' ले पनि नेपालमा १० करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित फिल्मले गत शनिबारसम्म बक्स अफिसमा ८ करोड ३१ लाख रूपैयाँ ग्रस कमाएको थियो।
बुधबार बेलुकासम्मको कमाइ १० करोड ५ लाख रूपैयाँ पुगेको निर्माण पक्षले जनाएको छ। यो फिल्म शुक्रबारदेखि चौथो सातामा प्रदर्शनरत छ।
आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुनेछ।