चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। निर्माण टिमले आइतबार काठमाडौैंमा एक समारोह गर्दै उक्त उपलब्धिको खुसी साटेको छ।
फिल्मले ५१ दिन पूरा गरेको अवसरमा निर्माण टिमले प्राविधिक, कलाकार, संचारकर्मी, वितरक तथा प्रदर्शकलाई सम्मानपत्र प्रदान गरेको थियो। निर्देशक पन्तसँग पल शाह, विपना थापा, उषा उप्रेती र सिम्रन पन्तलगायतले सम्मान प्रदान गरेका थिए।
सो अवसरमा अभिनेत्री थापाले फिल्ममा आबद्ध सम्पूर्ण टिमप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, ' कलाकारहरूले मलाई अत्यन्तै माया, साथ र सहयोग दिनुभयो। नयाँ कलाकारसँग काम गर्दा गाह्रो हुन्छ भन्ने सुनेकी थिएँ, तर मैले त्यस्तो कुनै अनुभव गरिनँ। उषा उप्रेती, सिम्रन पन्त र पल शाहले असाध्यै साथ दिनुभयो।'
अभिनेता पल शाहले फिल्मलाई ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
उनले आफ्नो करिअरको चुनौतीपूर्ण अवस्थामा निर्देशक चन्द्र पन्तले आफूलाई लिएर काम गर्ने साहस देखाएको उल्लेख गर्दै भने, 'त्यो समयमा म के गर्न सक्छु भन्ने प्रश्न उठिरहेको थियो। तर निर्देशक साबले ममाथि विश्वास गरेर काम गर्ने अवसर दिनुभयो, जसका कारण आज हामी सफल भएका छौं।'
कार्यक्रममा उपस्थित अभिनेत्री उषा उप्रेती र सिम्रन पन्तले पनि फिल्मलाई ५१ दिनसम्म साथ दिने दर्शकप्रति धन्यवाद व्यक्त गर्दै सम्पूर्ण टिमको योगदानको प्रशंसा गरे।
निर्देशक चन्द्र पन्तले दर्शकको निरन्तर साथप्रति कृतज्ञता व्यक्त गर्दै सबैको संयुक्त प्रयासले फिल्मले सफलता हासिल गरेको बताए। उनका अनुसार हाल फिल्म देशभरका २५ भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। फिल्ममा प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारहरूको समेत अभिनय छ।
कमाइ १३ करोड १० लाख
'आबाट आमा' ले सिनेपा बक्सअफिसमा ५१ दिनमा १३ करोड १० लाख ९२ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार पछिल्लो शनिबारसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ५ लाख ३ हजार ११४ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
'आबाट आमा' वर्षकै सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म हो। यसवर्ष सबभन्दा धेरै कमाउने फिल्म भने 'परान' (१७ करोड ८४ लाख) हो।
'आबाट आमा' को व्यवसायिक सफलतासँगै 'आबाट आमा २' को समेत घोषणा भइसकेको छ। त्यसको छायांकन आगामी बैशाखको दोस्रो साताबाट सुरू गर्ने निर्माण पक्षको तयारी छ।