फिल्म 'हामी तीन भाइ' देशव्यापी प्रदर्शनमा आएको छ।
शुक्रबार रामनवमीको अवसर पारेर देशभरका हलमा फिल्म रिलिज भएको हो।
निर्माताका अनुसार फिल्मले १ सयभन्दा बढी शोसहित आफ्नो प्रदर्शन आरम्भ गरेको छ। सिनेमा हलमा भारतीय फिल्म 'धुरन्धर २' को दबदबाबीच नेपाली फिल्म 'हामी तीन भाइ' रिलिज भएको हो।
'हामी तीन भाइ' मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झालगायत कलाकारहरूको शीर्ष अभिनय छ। प्रसिद्धि सिने आर्टस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठ हुन्।
फिल्मले तीन दाजुभाइबीचको सम्बन्ध, उनीहरूबीचको मनमुटाव र पारिवारिक कथा प्रस्तुत गर्छ। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
शिव ढकालको छायांकन रहेको फिल्ममा बनिश शाहको सम्पादन छ।
'हामी तीन भाइ' लाई सोसल ड्रामा जनरामा राखिएको छ। यसको रनटाइम १३७ मिनेट तय छ। युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन्।