आगामी बैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म 'लालीबजार' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र डेब्यु अभिनेता विशाल देवकोटा जोडीका रूपमा देखिएका छन्। निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार विशाल 'लालीबजार' मा अडिसनमार्फत छनोट भएका हुन्।
रंगमञ्चमा अभिनेतासँगै निर्देशनको समेत अनुभव संगालेका विशाललाई अभिनय कौशलकै आधारमा डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर मिलेको हो।
सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए। रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका उनले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। विशाललाई पछिल्लो समय उदयीमान कलाकारको रुपमा हेर्न थालिएको छ। विशालले भने, 'सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ।'
उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको 'मीरा' नाटकमा अभिनय गर्दा नै फिल्म 'लालीबजार' को टिमको ध्यान उनीतर्फ खिचिएको थियो। त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए। यसरी रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताए।
उनले भने, 'मैले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ 'मिरा' मा। त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो। उहाँहरूले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरू सुरू भयो।'
रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए। उनका अनुसार रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भए पनि फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने हुन्छ। फिल्म ‘लालीबजार’को कथावस्तु समाजको यथार्थसँग जोडिएको उनले उल्लेख गरे।
'यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,' उनले भने।
नयाँ टिमसँग काम गर्दा आफूलाई सहज अनुभव भएको उनले बताए। स्थापित ब्यानर षट्कोण आर्टस्बाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ। उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरेका छन्।
'यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो। बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,' उनले भने।
फिल्मको सार्वजनिक गीत 'मायालाई के दिउँ म बैना' यतिबेला दर्शकमाझ लोकप्रिय छ। फिल्मको उक्त गीतलाई युट्युबमा ८० लाखभन्दा बढीपटक हेरिएको छ।
'लालीबजार' मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायत कलाकारहरूको अभिनय छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। प्रसंशा जेनजी अभियन्ताका रुपमा चर्चित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म 'लालीबजार' को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्। छायांकन निर्देशक सुशन प्रजापती र सम्पादक मित्रदेव गुरूङ हुन्।
