नेपाली फिल्म 'एक मुठ्ठी बादल' र 'लाइफ ड्यामेज' शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजअन्तर्गत दुवै फिल्म एकसाथ प्रदर्शनमा आएका हुन्।
ड्रामा विधामा निर्माण गरिएको 'एक मुठ्ठी बादल' ११७ मिनेट लामो छ। यूनिभर्सल सर्टिफिकेट प्राप्त यस फिल्मले विवाहको तयारीबीच एउटा परिवारमा वर्षौंदेखि दबिएका प्रेम, मौनता र अपेक्षाको कथा प्रस्तुत गर्छ। परिवारभित्र घट्ने एउटा अप्रत्याशित घटनाले सम्बन्धमा आउने उतारचढावलाई फिल्मले भावनात्मक ढंगले चित्रण गरेको बताइएको छ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, सहयोग अधिकारीलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको निर्देशन सहारा शर्माले गरेकी हुन्। निर्मातामा अभिमन्यु दीक्षित, सारा फजिलत, सामिप्यराज तिमल्सेना, अनुप पौडेललगायत छन्।
यस्तै ड्रामा जनरामा बनेको 'लाइफ ड्यामेज' पनि ११७ मिनेट लामो छ। युवा पुस्ताको मित्रता, सम्बन्ध, आधुनिक जीवनका संघर्ष तथा भावनात्मक उतारचढावलाई हास्य-व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको फिल्मले समकालीन युवाको जीवनशैलीलाई केन्द्रमा राखेको बताइएको छ।
फिल्ममा सुरक्षा पन्त, निमेश श्रेष्ठ, ईशा थापा, अमोघ अर्याललगायत कलाकारहरूको अभिनय छ।
'लाइफ ड्यामेज' को निर्देशन निमेश श्रेष्ठले गरेका हुन्। फन रिभोलुसन इन्टरटेनमेन्ट प्रा. लि.को ब्यानरमा फिल्म बनेको हो।
दुवै फिल्मले फरक कथावस्तु र शैली प्रस्तुत गरेकाले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउनेछन् भन्ने चासो छ। यतिबेला सिनेमा हलमा यसअघि रिलिज फिल्म पनि प्रदर्शनरत छन्।