फिल्म 'गौँथली'को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा अभिनेता अरूण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुवै अटाएका छन् भने अर्कोमा सिम्रन मात्रै देखिएकी छन्।
पोस्टरले फिल्म ग्रामीण समाजको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।
एउटा पोस्टरमा अरूण र सिम्रन दुलाहा–दुलहीको भेषमा देखिएका छन्। अरूण दौरासुरूवाल, कोट, ढाका टोपी र दुबोको माला लगाएको बेहुलाको पहिरनमा छन्। उनले बाँधेको पटुकीमा गुलेली सिउरिएको देखिन्छ । उनका हातका केही औंला अस्वाभाविक देखिएका छन्। औंलाको बनावट र पटुकीमा सिउरिएको गुलेलीले उनी शारीरिक रूपमा केही समस्या भएको पात्र रहेको संकेत गर्छ।
पोस्टरमा अरूणको मुहारमा उत्साह देखिन्छ भने सँगै बेहुलीको पहिरनमा रहेकी सिम्रनको अनुहारमा तनाव झल्किएको छ। पृष्ठभूमिमा देखिएको घर र आँगनले उनीहरू गाउँका स्थानीय पात्र भएको संकेत गर्छ। खरले छाएको सानो झुपडीले उनीहरू गरिब परिवारबाट आएको बुझाउँछ।
अर्को पोस्टरमा सिम्रन एक्लै देखिएकी छन्। उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन्। खाली खुट्टामा देखिएकी उनी घरको काम गर्दै पढाइलाई पनि निरन्तरता दिइरहेको अवस्थामा चित्रित छिन्। पोस्टरमा उनी पुस्तक पढिरहेको देखिन्छ। यसले विवाहपछि पनि उनले पढाइलाई निरन्तरता दिएको सन्देश दिन खोजेको बुझिन्छ। पढ्ने तीव्र चाहना हुँदाहुँदै विवाह गर्नुपरे पनि आफ्नो उद्देश्यबाट विचलित नभएको पात्रका रूपमा पोस्टरले उनलाई प्रस्तुत गरेको छ।
पृष्ठभूमिमा देखिएको हिमालले उनीहरूको बसोबास उच्च पहाडी क्षेत्रमा रहेको संकेत गर्छ।
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म 'गौँथली' आगामी साउन १ गतेबाट प्रदर्शनमा आउनेछ। फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन्।
निर्माण पक्षका अनुसार 'गौँथली' शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले दिएका छन्। त्यस्तै, फिल्मको छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।
डा. भोला रिजालले दुई दशकअघि पनि 'गौँथली' नामकै फिल्म निर्माण गरेका थिए। उक्त फिल्मलाई नेपालको पहिलो 'गीति फिल्म' (म्युजिकल फिल्म) मानिन्छ।
यसपटक सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म 'गौँथली' निर्देशन गरेका हुन्।

