फिल्म 'लालीबजार' ले ३ करोड ४२ लाख ६१ हजार ७७९ रूपैयाँ ग्रस कमाइ गरेको छ। वैशाख २५ गते रिलिज फिल्मले जेठ २ गते (शनिबार)सम्म सिनेपा बक्सअफिसमा उक्त कमाइ गरेको हो।
चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्मको १ लाख १४ हजार ४६८ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, वैशाख २५ मै रिलिज फिल्म 'मालती मंगले' ले ४४ लाख ७८ हजार ६०८ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको १३ हजार ८९० वटा टिकट बिक्री भएका छन्।
सोही मितिमै रिलिज अर्को फिल्म 'गुरूआमा' ले २८ लाख ४४ हजार ४५१ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको ८ हजार ९७४ वटा टिकट बिक्री भएको उल्लेख छ। चलचित्र विकास बोर्डले यी फिल्मको ९ दिनको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।
फिल्म 'लालीबजार', 'मालती मंगले' र 'गुरूआमा' देशभरका हलमा एकसाथ रिलिज भएका थिए। तीनै फिल्मले फरक-फरक विषयवस्तु प्रस्तुत गर्छन्।
'लालीबजार' पट्कोण आर्टस्को सामाजिक ड्रामा फिल्म हो। यम थापाको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय छ। १३७ मिनेट लामो यस फिल्मले बादी समुदायकी एक महिलाले छोरीका लागि गर्ने संघर्षको कथा भन्छ।
त्यस्तै, रामकृष्ण ढकालको निर्माण रहेको 'मालती मंगले' प्रेम, संघर्ष र सामाजिक दबाबको कथामा आधारित ड्रामा–रोमान्स जनराको फिल्म हो। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ। यसको निर्देशन प्रकु पाण्डेले गरेका हुन्। यसको रनटाइम १५८ मिनेट छ।
यस्तै, 'गुरूआमा' शिक्षाको महत्व र सामाजिक समस्यामाथि केन्द्रित फिल्म हो। १२८ मिनेट लामो यस फिल्ममा मिथिला शर्मा शीर्ष भूमिकामा छिन्। उनी एक समर्पित शिक्षिकाको भूमिकामा देखिएकी छन्। फिल्ममा बुद्धि तामाङ, प्रेम सोनी सुनार र सुशील पोखरेलको पनि शीर्ष अभिनय रहेको छ। फिल्मको निर्देशन प्रेम सोनी सुनारले गरेका हुन्।