दोस्रो सातामा प्रदर्शनरत फिल्म 'लालीबजार'लाई विशेष प्रदर्शनीमा कलाकर्मीहरूले खुलेर प्रशंसा गरेका छन्।
सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हलमा आयोजित विशेष शोपछि अभिनेता तथा निर्देशक नीर शाहले फिल्मलाई 'वर्षौंसम्म सम्झिने उपहार' भन्दै कथा, निर्देशन र कलाकारहरूको अभिनयको प्रशंसा गरे। उनले स्वस्तिमा खड्काको अभिनयलाई करिअरकै उत्कृष्टमध्ये एक भएको बताए।
'स्वस्तिमाजीले गर्नुभएको काम अघिल्ला काम भन्दा ज्यादै माथी छ, अब उहाँको प्रतिष्पर्धा स्वयम् आफैसँग हुनेछ,'– उनले भने।
अभिनेत्री प्रियंका कार्कीले फिल्मको विषयवस्तु र कलाकारहरूको अभिनयले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने प्रतिक्रिया दिइन्।
उनले भनिन्, 'फिल्म हेर्दा कतै निस्किने वा मोबाइल चलाउन मन लाग्दैन, बाँधेर राख्छ। फिल्मको क्लाइमेक्स झनै सशक्त छ, यो फिल्म हेर्नै पर्ने बनेको छ।'
अभिनेत्री वर्षा राउतले सामाजिक विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको भन्दै फिल्म नछुटाउन आग्रह गरिन्। अभिनेता आयुष्मान डीएस जोशीले पनि स्वस्तिमाको अभिनयलाई निकै सशक्त रहेको बताए।
फिल्मको गीत 'मायालाई के दिउँ म बैना'का गायक तथा संगीतकार खेम सेन्चुरीले फिल्म हेर्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँदै काठमाडौं र मोफसलमा टोली विभाजन गरेर दर्शकसँग भेटघाट जारी राखिएको जानकारी दिइन्।
यसअघि 'लालीबजार' टोलीले नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन र पोखरामा दर्शकसँग भेटघाट गरिसकेको छ भने मंगलबारदेखि पूर्वी नेपाल भ्रमण सुरू गरिएको छ। फिल्मको ट्रेलर युट्युब मुभी चार्टमा नम्बर १ मा रहेको छ। यम थापाको कथा तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारको अभिनय रहेको छ। साथै विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्मबाट डेब्यु गरेका हुन्।
४ करोड २९ लाख कमाइ
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको 'लालीबजार'ले ११ दिनमा नेपालभर ४ करोड २९ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्टस्ले जनाएको छ। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार वितरकबाट प्राप्त विवरणअनुसार फिल्मले उक्त व्यापार गरेको हो।
हाल फिल्मको एक टोली काठमाडौंका विभिन्न हलमा दर्शकसँग भेटघाटमा व्यस्त छ भने अर्को टोली पूर्वी नेपालका दर्शकमाझ पुगेर साक्षात्कार गरिरहेको छ।


