वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म 'कमला मिस' को टिजर सार्वजनिक गरिएको छ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यो फिल्मको टिजरले कथावस्तुबारे जानकारी दिन्छ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक 'कोही किन बर्बाद होस्'बाट प्रभावित 'कमला मिस'को टिजरमा मुख्य कलाकारहरूलाई देखाइएको छ। टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कविता अर्याललगायत कलाकारहरूको अभिनय छ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले यस फिल्ममार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। यसअघि उनले वासुदेव, पच्चीस बसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।
फिल्मलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो। चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। फिल्मका लाइन प्रोड्युसर पुष्कर लामा हुन्।
फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन बिक्रम शाहको सम्पादन छ।
'कमला मिस' आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।