स्वस्तिमा खड्काको शीर्ष अभिनय रहेको फिल्म 'लालीबजार' ले ५ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ।
निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार फिल्मले जेठ ७ गतेसम्म उक्त कमाइ गरेको हो। यम थापाको निर्देशनमा बनेको फिल्म वैशाख २५ गते रिलिज भएको थियो।
निर्माता तथा षट्कोण आर्टस्का सीईओ म्याक्स दीपेश खत्रीले पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शक हल पुगेको बताए। उनका अनुसार फिल्मले आमा छोरीको कथा, शिक्षाको महत्वलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका कारण पारिवारिक दर्शकको बढी साथ पाइरहेको छ।
अभिनेत्री स्वस्तिमा खड्काले देशभरका दर्शकबाट समान माया र सकारात्मक प्रतिक्रिया पाएको बताइन्।
उनका अनुसार विशेषगरी फिल्म हेरेर निस्किने दर्शकले कथासँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएका छन्।
'लालीबजार' मा स्वस्तिमासहित रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रसंशा सुवेदी, अभय बराल, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।