चलचित्र विकास बोर्डले ६ नेपाली फिल्महरूको आधिकारिक बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
सोमबार बोर्डले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा फिल्महरूले गरेको आम्दानी विवरण सार्वजनिक गरेको हो।
विवरणअनुसार प्रदर्शनमा रहेका फिल्ममध्ये 'लालीबजार' ले सर्वाधिक व्यापार गरेको छ। वैशाख २५ गते रिलिज यो फिल्मले ५ करोड ७६ लाख ३१ हजार ४७१ रूपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मको १ लाख ९६ हजार ४०६ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, 'परालको आगो' ले ४ करोड २७ लाख ५३ हजार ६४५ रूपैयाँ ग्रस कमाएको छ। वैशाख ११ गते रिलिज यो फिल्मको १ लाख ५३ हजार ९२५ वटा टिकट बिक्री भएका छन्।
वैशाख २५ गते रिलिज 'मालती मंगले' ले ५१ लाख ६३ हजार ५९३ रूपैयाँ कमाएको छ। यसको १६ हजार १३७ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।
यस्तै, वैशाख २५ मै रिलिज 'गुरूआमा' ले २९ लाख ४२ हजार ५७६ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको ९ हजार ३२७ वटा टिकट बिक्री भएका छन्।
जेठ १ मा एकसाथ रिलिज 'लाइफ ड्यामेज' र 'एक मुठ्ठी बादल' दुवै फिल्म कमाइमा कमजोर देखिएका छन्। 'लाइफ ड्यामेज' ले २८ लाख ४६ हजार १७० रूपैयाँ आम्दानी गरेको छ। यसको ९ हजार २ सय ४१ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।
त्यस्तै, 'एक मुठ्ठी बादल' ले ५ लाख २१ हजार ८२५ रूपैयाँ मात्रै कमाएको छ। यसको १ हजार ५०१ वटा टिकट बिक्री भएका छन्। यी दुई फिल्मको पहिलोपटक बक्स अफिस रिपोर्ट सार्वजनिक भएको हो।
चलचित्र विकास बोर्डले हरेक सोमबार फिल्महरूको व्यापार विवरण सार्वजनिक गर्दै आएको छ।
गत शुक्रबार रिलिज 'मितज्यू' र 'काजी'को बक्सअफिस रिपोर्ट भने आगामी सोमबार सार्वजनिक हुनेछ।