अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'रातो घेरा-द रेड सर्कल' को पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।
असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहीबार पटकथा पूजा गर्दै विधिवत रूपमा शुभारम्भ गरिएको हो।
विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरसहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहनेछ। निर्माण पक्षका अनुसार फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिनेछ। फिल्म आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको छ।
निर्देशक अनिल बुढा मगरका अनुसार फिल्मले सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ। सत्य घटनामा आधारित भनिएको यस फिल्मलाई कथात्मक र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरूङले बताए। अनुभवी कलाकार तथा दक्ष प्राविधिक टोलीको सहभागिताले फिल्म थप प्रभावशाली बन्ने विश्वास पनि उनले व्यक्त गरे।
फिल्मको निर्मातामा जीवन गुरूङसँगै कविता गुरूङ, भोजेन्द्र गुरूङ (भोज) र सरून शेरचन रहेका छन्। सह–निर्मातामा सुमन गुरूङ र खेम राना छन्। फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।
फिल्मका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन्।
फिल्ममा दयाहाङ र मिरूनासहित रजनी गुरूङ, अरूण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन (खबपु), सुस्मिता कुँवर, भावना खपांगी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरूङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईं, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।
कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले सत्य घटनामा आधारित सुन्दर कथामा निर्माण हुन लागेको फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए।
निर्माण पक्षले दर्शकले दयाहाङ राई र मिरूना मगरको जोडीबाट फेरि एकपटक उत्कृष्ट अभिनय र नयाँ किसिमको सिनेम्याटिक अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
फिल्मको निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरूङले सम्हाल्नेछन् ।
वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्सका गोविन्द शाही र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन्।
