साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'गौँथली'को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ।
सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको शुक्रबार ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो।
ट्रेलरमा शिक्षाप्रति दृढ अठोट बोकेकी एक युवतीको संघर्षलाई केन्द्रमा राखिएको छ। परिवार र समाजको दबाबकाबीच उनले आफ्नो सपना पूरा गर्न गरेको प्रयासलाई मर्मस्पर्शी ढंगले देखाइएको छ।
ट्रेलरले परम्परागत सोच, सामाजिक मान्यता र महिलामाथि हुने विभेदलाई पनि उठान गरेको छ। ट्रेलरमा अटिजमबाट प्रभावित युवकसँग विवाह गरेकी युवतीले भोग्नुपरेका चुनौती, वैवाहिक जीवनमा आउने अप्रत्याशित परिस्थितिहरू र त्यसले सिर्जना गर्ने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ।
साथै, महिलालाई महिलाले नै साथ नदिँदा उत्पन्न हुने समस्या र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई पनि ट्रेलरले संकेत गरेको छ।
ग्रामीण परिवेशमा आधारित फिल्मले शिक्षा, आत्मसंघर्ष, पारिवारिक जिम्मेवारी र सामाजिक चेतनाको सन्देश बोकेको देखिन्छ। मुख्य पात्रहरूको भावनात्मक यात्रा, पारिवारिक सम्बन्धको जटिलता र फरक क्षमता भएका व्यक्तिप्रतिको समाजको दृष्टिकोण फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरले संकेत दिन्छ।
डा. कपिल रिजाल निर्देशित 'गौँथली'मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाईली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीले समेत अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल, गिरिराज घिमिरेलगायतको सहकार्य छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा छन्।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। सार्वजनिक ट्रेलर साहिल खानले तयार पारेका हुन्।
डा. भोला रिजालले दुई दशकअघि 'गौँथली' नामकै फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ 'गौँथली' निर्देशन गरेका हुन्।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर 'ओएसआर डिजिटल' रहेको छ।
भिडिओः