प्रदर्शन तयारीमा रहेको फिल्म 'पार्वती'को ट्रेलर सार्वजनिक भएको छ।
निर्माण टिमले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओएसआर डिजिटल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो।
चार मिनेट लामो ट्रेलरमा अटिजम प्रभावित युवतीको भूमिकामा देखिएकी नीता ढुंगाना र बाल कलाकार अशोक दर्जीबीचको दिदी-भाइको अटुट माया र भावनात्मक सम्बन्धलाई कारूणिक ढंगले प्रस्तुत गरिएको छ।
फिल्ममा अटिजम भएकी छोरीलाई विद्यालय भर्ना गर्दा भोग्नुपरेको विभेद, समाजका विभिन्न पात्रहरूले दिने लाञ्छना र त्यसले परिवारमा पार्ने प्रभावलाई मर्मस्पर्शी रूपमा देखाउन खोजिएको छ। फिल्मले समाजमा फरक क्षमता भएका व्यक्तिहरूले भोग्नुपर्ने यथार्थलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको ट्रेलरले संकेत दिन्छ।
नीता ढुंगानाको निर्देशनमा तयार 'पार्वती' मा उनीसँगै अशोक दर्जी मुख्य भूमिकामा छन्। साथमा, दीपाश्री निरौला, सिरू विष्ट, राज पंगेनी शर्मा, राधिका कंडेल, आशा पौडेल, दीप्त प्रकाश अधिकारी, राजेन्द्र नेपालीलगायत कलाकारहरूको पनि अभिनय छ।
निर्देशक नीताकै कथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको छ।
हरिहर अधिकारीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।
'पार्वती' यही भदौ १२ गते (रक्षाबन्धन)देखि प्रदर्शनमा आउँदैछ।