शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'पार्वती'को पब्लिक प्रिमियर गरिएको छ। मंगलबार चितवनस्थित म्याङ्गो जनज्योति हलमा फिल्मको प्रिमियर गरिएको हो।
प्रिमियरमा फिल्मका कलाकार नीता ढुंगाना र अशोक दर्जी आफ्ना पात्रको क्यारेक्टर लुक्समै उपस्थित भएका थिए। पर्दामा देख्दै आएको लुक्सलाई प्रत्यक्ष देख्न पाउँदा दर्शकले नीताप्रति माया र उत्साह व्यक्त गरेका थिए। फिल्म हेर्ने क्रममा अधिकांश दर्शक भावुक बनेको निर्माण टिमले जनाएको छ।
टिमका अनुसार प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा आफ्नै घर-परिवारको कथाजस्तो लागेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
'पार्वती' अटिजम भएकी एक महिलाको जीवनयात्रा, उनका भाइसँगको आत्मीय सम्बन्ध तथा परिवार र समाजसँगको संघर्षमा केन्द्रित पारिवारिक ड्रामा हो। फिल्मले मुख्य पात्र पार्वतीको बाल्यकालदेखि वृद्धावस्थासम्मको यात्रा प्रस्तुत गर्छ।
फिल्ममा परिवार तथा समाजबाट हुने उपेक्षाबीच पार्वतीका भाइले दिदीप्रति देखाउने माया, साथ र समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
'पार्वती' नीता ढुंगानाले निर्देशन गरेकी हुन्। निर्देशक तथा अभिनेत्री ढुंगानाका अनुसार दिदीप्रति भाइले देखाएको माया र समर्पणको कथाले दर्शकको मन छोएको थियो। प्रिमियरपछि प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित भएको उनले बताइन्।
उनले पब्लिक प्रिमियरमा दर्शकले फिल्म मन पराएकोमा खुसी व्यक्त गरिन्। उनले 'पार्वती'ले भावनात्मकसँगै प्रेरणादायी सन्देश दिने बताएकी छन्। प्रचारप्रसारका क्रममा चितवन पुगेका बालगायक तथा कलाकार अशोक दर्जीले फिल्ममा काम गर्दाको अनुभव पनि सुनाए। सामाजिक विषयमा आधारित फिल्म भएकाले सबैलाई हलसम्म पुगेर हेर्न उनले आग्रह गरे।
फिल्ममा नीता र अशोकले दिदीभाइको भूमिका निर्वाह गरेका छन्। साथै दीपाश्री निरौला, सिरू विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारहरूको समेत फिल्ममा अभिनय छ।
हरिहर अधिकारी निर्माता रहेको फिल्मको कथा पनि नीता ढुंगानाकै हो। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ भने यसको रनटाइम १५२ मिनेट रहेको छ। फिल्मका लागि अधिकांश मल्टिप्लेक्सले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री खुलाइसकेका छन्।
'पार्वती' जनैपूर्णीमा (रक्षाबन्धन)को अवसर पारेर रिलिज हुन लागेको हो।