नेपाली फिल्म 'बुकी फूल' निर्माण हुने भएको छ। बिहीबार कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा फिल्मको शुभमुहूर्त गरिएको हो।
गण्डकी प्रदेशका सांसद तथा फिल्म निर्माता बेदबहादुर गुरूङ 'श्याम'को परिकल्पना रहेको फिल्म ओमप्रकाश गुरूङले निर्देशन गर्दैछन्।
फिल्ममा गुरूङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको निर्माण पक्षले जनाएको छ।
फिल्मको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने छ। शुभमुर्हूत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरूङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति थियो।
फिल्ममा मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री संस्कृति गुरूङले अभिनय गर्दैछन्। साथमा पुष्कर गुरूङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरूङ, विश्वास गुरूङ, राजेश गुरूङ, एन्सर्ज गुरूङ, टीकाराम घले, ओसिन गुरूङ, लालशोभा गुरूङ, मनबहादुर गुरूङ र बेदबहादुर गुरूङ ‘श्याम’लगायतको अभिनय रहनेछ।
शुभमुर्हत कार्यक्रममा बोल्दै निर्देशक नवीन सुब्बाले 'बुकी फूल' गुरूङ समुदायको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने बताए।
कथाअनुसार मेकिङमा ध्यान दिन सके फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको उनले बताए। नेपाली फिल्म क्षेत्रमा सुधारको क्रम देखिन थालेको उल्लेख गर्दै उनले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्नेमा जोड दिए।
फिल्मका परिकल्पनाकार तथा निर्माता बेदबहादुर गुरूङ 'श्याम'ले 'बुकी फूल' आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए। आफ्ना बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई फिल्ममार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ।
उनले फिल्मको कथा आफ्नै परिकल्पनामा तयार भएको बताउँदै गुरूङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई पर्दामा उतार्न खोजिएको बताए।
निर्देशक ओमप्रकाश गुरूङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राखेर फिल्म निर्माण गरिने बताए। कथाअनुसार निर्देशन र प्रस्तुतिलाई महत्व दिइने उनको भनाइ छ।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरूङले सिक्लेसमा फिल्म छायाँकन हुनु यस क्षेत्रको प्रचारप्रसारका लागि महत्वपूर्ण हुने बताए। फिल्ममार्फत सिक्लेस र आसपासका स्थानलाई आम दर्शकले हेर्न पाउने उनले बताए।
फिल्म सुसन प्रजापतिले छायाँकन गर्नेछन्। मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। फिल्मको छायाँकन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य निर्माण टिमको छ।
गुरूङ समुदायको सांस्कृतिक परम्पराअनुसार शुभ कार्यमा गरिने पूजाविधि सम्पन्न गरी फिल्मको शुभमुर्हत गरिएको थियो।
