प्रदर्शनको चार दिनअघि सार्वजनिक गरिएको फिल्म 'आबाट आमा २'को ट्रेलरले यतिबेला युट्युबमा दर्शकको राम्रो साथ पाइरहेको छ। सोमबार सार्वजनिक ट्रेलरले १८ घण्टामै १७ लाखभन्दा बढी भ्युज पाएको छ।
अधिकांश दर्शकले ट्रेलरप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। विशेषगरी पल शाह र मलिका महतको जोडीलाई रूचाइएको छ।
४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरले पारिवारिक प्रेम, संघर्ष र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्छ। आमाबुबाको सन्तानप्रतिको माया र सन्तानको आमाबुबाप्रतिको जिम्मेवारीलाई ट्रेलरमा देखाउन खोजिएको छ।
ट्रेलरको एउटा दृश्यमा गाडीले किच्न लागेको कुकुरको बच्चालाई कृष्ण (पल शाह)ले बचाउँछन्। बाँधिएको कुकुरले आफ्नो बच्चा बचाउन भुकिरहँदा कृष्णले उद्धार गरेको उक्त दृश्यलाई दर्शकले विशेष रूपमा रूचाएको देखिन्छ।
ट्रेलरमा पललाई संघर्षशील युवकका रूपमा प्रस्तुत गरिएको छ। आर्थिक अभावका कारण निराश बनेका उनले भगवानसँग एक लाख रूपैयाँ मागेको दृश्य पनि समेटिएको छ। यसले पात्रको आर्थिक अवस्था र संघर्षलाई संकेत गर्छ।
मलिका महतलाई राधाको भूमिकामा देखाइएको छ। ट्रेलरमा उनको र पलको जोडीलाई विशेष स्थान दिइएको छ। विपना थापा र प्रदीप रावत आमाबुवाको भूमिकामा छन्।
साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, रिश्ता गुरूङ, निकिता आचार्य, सबिन श्रेष्ठ, गजित विष्टलगायतका कलाकारको समेत फिल्ममा अभिनय छ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २' लाई आरआर फिल्म्सले देशभर वितरण गर्दै छ।
युट्युबमा ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो उच्च रहेको देखिन्छ। तर, यो चासो हलसम्म कत्तिको पुग्ला? त्यसको जवाफ पाउन भने अब धेरै दिन कुर्नुपर्ने छैन।