'धुरन्धर' को ठूलो सफलतापछि रणवीर सिंहका फ्यानहरू उनका आगामी फिल्मबारे जान्न आतुर छन्। उनका आगामी फिल्मबारे विभिन्न चर्चा र अडकलबाजीहरू समेत भइरहेका छन्।
यसैबीच उनी एक ठूलो पौराणिक-काल्पनिक फिल्ममा देखिने खबर सार्वजनिक भएको छ। पिंकभिल्लाको रिपोर्ट अनुसार रणवीर लेखक अमीश त्रिपाठीको चर्चित उपन्यास 'द इमोर्टल्स अफ मेलुहा' मा आधारित फिल्ममा भगवान शिवको भूमिकामा प्रस्तुत हुने तयारीमा रहेका हुन्। यो फिल्म बिर्ला स्टुडियोसँगको सहकार्यमा निर्माण गरिने बताइएको छ।
रिपोर्टअनुसार यो फिल्म एक भागमा मात्र सीमित नरही तीन भागमा निर्माण हुने त्रयीका रूपमा तयार गरिनेछ। हाल यसको प्रारम्भिक चरणको काम अघि बढिरहेको छ। कथाको लेखन र अन्य प्राविधिक तयारी जारी रहेको जनाइएको छ। फिल्मको निर्देशक भने पछि मात्र टुंगो लगाइने बताइएको छ। 'पटकथाको काम निश्चित चरणमा पुगेपछि मात्र निर्देशकलाई लक गरिनेछ,'स्रोतको भनाइ छ।
फिल्ममा रणवीर केवल मुख्य कलाकारका रूपमा मात्र नभई निर्माण पक्षमा पनि संलग्न रहने बताइएको छ।
यो उपन्यास अमीश त्रिपाठीको शिव त्रयीको पहिलो भाग हो, जसमा भगवान शिवलाई एक मानव योद्धाको रूपमा प्रस्तुत गर्दै उनको देवत्व प्राप्तिको यात्रा चित्रण गरिएको छ।
फिल्मको छायांकन सन् २०२८ तिर सुरू गर्ने योजना रहेको उल्लेख गरिएको छ। त्यसअघि रणवीरले आफ्ना अन्य फिल्मको काम पूरा गर्नेछन्। रणवीरले मार्च २०२७ बाट आदित्य धरको अर्को फिल्मको छायांकन गर्ने अपेक्षा गरिएको छ।
त्यसअघि जय मेहताको निर्देशनमा बन्ने 'प्रलय' मा रणवीरले काम गर्दैछन्।
रणवीरको 'धुरन्धर' का दुवै भागले नेपालमा पनि ठूलो व्यापार गरेका थिए।