भारतीय फिल्म 'हनुमान अंश'ले प्रदर्शनको लामो समयसम्म पनि बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ।
विशाल चतुर्वेदी निर्देशित फिल्मको विश्वव्यापी कमाइ ३ सय करोड भारू नजिक पुगेको छ। फिल्मले प्रदर्शनको ४० दिनमा विश्वव्यापी रूपमा २९१ करोड ४० लाख भारू कमाइ गरेको हो।
फिल्मले ३ सय करोडको आँकडा पार गर्न अब करिब ९ करोड भारूको व्यापार आवश्यक छ।
बक्स अफिस व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले ४० औं दिन भारतमा ८ करोड २५ लाख भारूको नेट कलेक्सन गरेको छ। यससँगै भारतमा फिल्मको कुल नेट कमाइ २ सय २२ करोड ८८ लाख र ग्रस कमाइ २ सय ७२ करोड ९० लाख भारू पुगेको छ। विदेशबाट भने फिल्मले हालसम्म १८ करोड ५० लाख भारू कमाएको छ।
'हनुमान अंश'को सुरूआती व्यापार भने निकै कमजोर थियो। पहिलो साता फिल्मले १ करोड ८ लाख र दोस्रो सातामा ४० लाख भारू मात्रै कमाएको थियो। अर्थात् दुई सातामा फिल्मको कुल कमाइ १ करोड ४८ लाख भारू थियो।
तर तेस्रो सातादेखि फिल्मको व्यापारमा उल्लेख्य सुधार देखियो। तेस्रो सातामा १० करोड ४० लाख भारू कमाएको फिल्मले चौथो सातामा अझ राम्रो व्यापार गर्यो। प्रदर्शनको २४ औं दिन मात्रै फिल्मले १२ करोड ७५ लाख भारू कमाएको थियो, जुन पहिलो दुई साताको कुल कमाइभन्दा धेरै हो।
फिल्मको व्यापारमा आएको यो सुधारलाई 'वर्ड अफ माउथ' अर्थात् दर्शकको सकारात्मक प्रतिक्रियालाई मुख्य कारण मानिएको छ।
नीम करोली बाबाको जीवनमा आधारित भएकाले फिल्मले भारत तथा विदेशमा रहेका उनका अनुयायीबीच पनि चासो सिर्जना गरेको बताइएको छ।
फिल्ममा शोभिनव सत्य र चन्दन आनन्द मुख्य भूमिकामा छन्। 'हनुमान अंश' नेपालमा समेत प्रदर्शनरत छ।