बलिउड अभिनेत्री जान्हवी कपुरले प्रेमी शिखर पहारियासँगको सम्बन्धबारे खुलेर बोलेकी छन्। उनले आफूले अबको दुई-तीन वर्ष विवाह नगर्ने स्पष्ट पारेकी छन्।
'कफी विथ करण -९' मा कुराकानी गर्दै जान्हवीले आफ्नो नीजि जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्न चाहे पनि प्रेम सम्बन्ध लुकाइरहनु आवश्यक नभएको बताइन्।
कार्यक्रमका सञ्चालक करण जोहरले जान्हवी र शिखरको सम्बन्ध टिकिरहेको प्रसंग उठाएका थिए। त्यसको जबाफमा जान्हवीले आफूहरूबीच विगतमा अरूसँग सम्बन्ध टुट्दासमेत एकअर्काको साथ रहेको बताइन्। उनले आफ्नो सम्बन्धबारे सबै कुरा लुकाएर राख्नु आवश्यक नभएको धारणा राखिन्।
जान्हवीले भनिन्, 'मलाई आफ्नो नीजि जीवनमा कसैको नराम्रो नजर लागोस् भन्ने चाहना छैन। तर, सम्बन्धबारे सबै कुरा सधैं लुकाएर राख्नुपर्छ भन्ने पनि मलाई लाग्दैन।'
करणले जान्हवीकी आमा श्रीदेवीको निधनका बेला शिखरले देखाएको साथ पनि सम्झिए। त्यसबेला जान्हवी र शिखर प्रेम सम्बन्धमा थिएनन्। तर श्रीदेवीको निधनको खबर पाएपछि शिखर पढाइ छाडेर लन्डनबाट मुम्बई आएको जान्हवीले बताइन्।
शिखर मुम्बई आएपछि जुहुस्थित एक साथीको घरमा एक महिना बसेका थिए।
उनी जान्हवीलाई हरेक दिन भेट्न नगए पनि आवश्यक परेको बेला साथ दिन सकियोस् भनेर नजिकै बसेको 'कफी विथ करण ९' मा जान्हवीले बताएकी छिन्।
जान्हवी पछिल्लो समय फिल्म 'पेड्डी' मा देखिएकी थिइन् भने उनका प्रेमी शिखर भारतीय व्यवसायी तथा पोलो खेलाडी हुन्।