बलिउड अभिनेता रणवीर कपूरले अभिनेत्री आलिया भट्टलाई विवाहको प्रस्ताव राख्दाको रोचक प्रसंग साझा गरेका छन्। केन्या भ्रमणका क्रममा जंगलमा तीन सिंह नजिकै रहेका बेला आफूले आलियासमक्ष विवाहको प्रस्ताव राखेको उनले बताएका हुन्।
हालै टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति १८' मा अमिताभ बच्चनसँग कुराकानी गर्दै रणवीरले आलियालाई प्रेम प्रस्ताव राख्दाको अनुभव सुनाएका हुन्।
आफ्नो आगामी फिल्म 'रामायण'को प्रचारका क्रममा रणवीर उक्त कार्यक्रममा पुगेका थिए।
रणवीरका अनुसार उनले आलियालाई प्रस्ताव राख्नुअघि नै योजना बनाएका थिए।
उनले यात्राका क्रममा आफ्ना गाइड र ड्राइभरलाई बीच जंगलमा उपयुक्त ठाउँमा रोक्न भनेका थिए। त्यसबेला उनीसँग विवाहको औंठी पनि थियो।
आलियासमक्ष घुँडा टेकेर प्रस्ताव राख्दा त्यस क्षणको तस्बिर खिच्न उनले गाइड र ड्राइभरलाई पनि आग्रह गरेका थिए। विशेषगरी आलियालाई तस्बिर खिच्न र सामाजिक सञ्जालमा पोस्ट गर्न मन पर्ने भएकाले त्यस क्षणलाई सम्झनलायक बनाउन चाहेको रणवीरले बताए। तर उनले सोचेको रोमान्टिक क्षणमा जंगलको वातावरणले अर्को परिस्थिति सिर्जना गर्यो।
रणवीरका अनुसार उनीहरूबाट करिब सय फिटको दूरीमा तीन सिंह थिए। एकातिर सिंहहरू रहेका बेला आलियासमक्ष घुँडा टेकेर प्रस्ताव राख्नुपर्दाको अनुभव उनले रमाइलो शैलीमा सुनाए।
कार्यक्रममा रणवीरले भनेका छन्, 'एकातिर तीन सिंह थिए, मेरा अगाडि मेरी सिंहनी थिइन्। मचाहिँ मुसाजस्तै बनेर घुँडा टेकी उनलाई मसँग विवाह गर्छौ भनेर सोधिरहेको थिएँ।'
उनले उक्त क्षण आफ्नो जीवनकै अविस्मरणीय अनुभवमध्ये एक भएको पनि बताएका छन्।
रणवीर र आलियाले सन् २०२२ को अप्रिलमा विवाह गरेका थिए। उनीहरूकी एक छोरी छिन्।
रणवीर र आलिया बलिउडका सबभन्दा बढी चर्चामा रहने सेलिब्रेटी जोडीहरूमध्ये एक हुन्।