सन् १९९४ को हिट बलिउड फिल्म 'मोहरा' पुन: सिनेमाघरमा प्रदर्शन हुने भएको छ।
अक्षय कुमार, रवीना टन्डन र सुनील शेट्टी अभिनीत फिल्म ३२ वर्षपछि पुन: हलमा फर्किन लागेको हो।
फिल्मलाई परिष्कृत दृश्य गुणस्तरसहितको फोरके संस्करणमा आगामी नोभेम्बर ६ (कात्तिक २०) देखि हलमा ल्याउन लागिएको हो। फिल्म निर्माण कम्पनी त्रिमूर्ति फिल्म्सले पुनः प्रदर्शनबारे जानकारी दिँदै यसको नयाँ संस्करणको झलकसमेत सार्वजनिक गरेको छ। सन् १९९४ मा प्रदर्शनमा आएको 'मोहरा' त्यस समयको चर्चित एक्सन थ्रिलर फिल्ममध्ये एक हो।
राजीव राय निर्देशित फिल्ममा नसीरूद्दिन शाह, परेश रावल र गुल्शन ग्रोवरलगायत कलाकारको समेत अभिनय छ।
'मोहरा' आफ्नो एक्सन र कथावस्तुसँगै लोकप्रिय गीतका कारण पनि दर्शकमाझ चर्चित छ। फिल्मका 'तू चीज बडी है मस्त मस्त' र 'टिप टिप बरसा पानी' जस्ता गीत आज पनि बलिउडका लोकप्रिय गीतमध्ये गनिन्छन्।
निर्देशक राजीव रायका अनुसार फिल्मलाई भारतका विभिन्न सहर तथा साना बजारका हलमा चरणबद्ध रूपमा प्रदर्शन गर्ने योजना छ।
पुनः प्रदर्शनको उद्देश्य नयाँ फिल्मसँग प्रतिस्पर्धा गर्नु नभई पुराना फिल्म मन पराउने दर्शकमाझ तिनलाई फेरि पुर्याउनु रहेको रायले बताएका छन्।