सिन्धुपाल्चोकको ग्रामीण भेगमा जन्मे–हुर्केकी गंगा सोनामलाई गायन क्षेत्रको ठूलो रियालिटी शोमा भाग लिन्छु भन्ने कहिल्यै लागेको थिएन।
तर उनले भाग लिइन् र विजेता पनि भइन्।
नेपाल आइडलको छैठौं शृंखलाकी विजेता गंगाको सफलताले प्रमाणित गर्छ, संगीतको न भाषा हुन्छ न सिमाना। आफ्नै मौलिकता र देउडाप्रतिको अगाध रूचिले नै उनलाई यो मुकामसम्म पुर्याएको हो।
गंगाले नेपाल आइडलको अडिसन राउन्डमा सुदूरपश्चिमको लोकप्रिय देउडा गीत गाउँदा सबै छक्क परेका थिए।
'गीत त हो, मैले आफ्नै तरिकाले गाएकी थिएँ। तर सबैले मन पराइदिनुभयो,' सेतोपाटीसँगको भिडिओ कुराकानीमा हल्का हाँस्दै गंगाले भनिन्, 'म सानैदेखि गुनगुनाउँथेँ। घरमा सधैं बज्ने रेडियो सुनेर मैले गीत गाउने सिकेकी थिएँ। देउडासँगको सम्बन्ध चाहिँ इन्टरनेटबाट गाँसियो। पहिलोपटक सुनेदेखि नै म मोहित भएँ।'
उनले अगाडि भनिन्, 'म गाउने मात्र होइन, नाच्ने पनि गर्छु। चञ्चले स्वभावको भएकीले म नभए घरमा कसैलाई रमाइलो हुँदैन।'
अरूले गाएको सुनेर आफै गुनगुनाउन थालेकी गंगा कक्षा ६ मा पुगेपछि मात्र आफू राम्रो गाउँदो रहेछु भन्ने थाहा पाएको बताउँछिन्।
त्यसैबीच शान्तिश्री परियारको एउटा चर्चित गीत गाउँदा साथी र शिक्षकहरूबाट पाएको प्रशंसाले उनलाई थप हौसला दियो।
'ध्रुवकी छोरीले पनि गाउँदो रहेछ त,' बुबाको नाम जोडेर आएको त्यो टिप्पणीले गंगामा गायिका बन्ने सपनाको बीजारोपण गर्यो।
मेलापात जाँदा होस् वा घाँस–दाउरा काट्दा, उनी अरू कसैको वास्ता नगरी चिच्याई चिच्याई गाउँथिन्।
'मान्छेहरूले म त्यहाँ छु भन्ने कुरा मेरो गीत सुनेर टाढैबाट थाहा पाउँथे,' उनले हाँस्दै भनिन्, 'खासमा त्यति बेला नै मैले गायिका बन्ने सपना देखेकी थिएँ। तर रियालिटी शोमा आएर गाउँछु र यति धेरै माया पाउँछु भन्ने चाहिँ कहिल्यै सोचेकी थिइनँ।'
उनी यसको एउटा श्रेय आफ्नो दाइलाई दिन चाहन्छिन्, जसले उनको गायन क्षमता पहिलोपटक चिनेका थिए। र, सधैं गाउन हौसला दिन्थे।
जब उनै दाइको माध्यमबाट गायक रामकुमार नेपालीले गंगाको स्वर सुने, तब गंगाको जीवनले नयाँ मोड लियो।
उनले गंगाको स्वर मन पराए। संगीतको औपचारिक ज्ञान नभए पनि गंगाले मौका पाइन् भने तरक्की गर्न सक्छिन् भन्ने उनलाई लाग्यो।
नेपाल आइडल सुरू हुँदा उनले गंगालाई अडिसन दिन प्रोत्साहन गरे। सुरूमा हिचकिचाएकी गंगाले हौसला पाएपछि आइडलमा जाने निर्णय गरिन्।
नेपाल आइडलको 'अडिसन' मा देउडा गाएकी उनले 'फिनाले' मा पनि देउडा नै गाइन्।
गंगा आफ्नो नेपाल आइडलको यात्रा निकै अविस्मरणीय रहेको बताउँछिन्।
'हामी हरेक दिन बिहान चाँडै उठ्थ्यौं। गायन अभ्यास गर्थ्यौं। मलाई कोही पनि प्रतिस्पर्धीजस्तो लागेन, आफ्नै दिदीभाइ जस्तो लाग्यो,' उनले भनिन्, 'एउटा परिवार छाडेर अर्को परिवार पाएजस्तो भयो। आइडल त मेरो लागि दोस्रो परिवारजस्तै थियो।'
उनले अगाडि भनिन्, 'मैले नेपाल आइडलको मञ्चमा संगीतका धेरै पक्ष सिकेँ। ब्यान्डका सदस्यहरूले निकै सहयोग गरे। गीत बिर्सँदा पनि तुरून्तै सम्झाइदिन्थे। निर्णायकहरूले पनि खुब माया गर्नुहुन्थ्यो। तिमीलाई त शब्द नै नभएको गीत दिन्छु भनेर जिस्क्याउनु हुन्थ्यो।'
आइडल विजेता बनेपछि गंगाले आफूमा ठूलो परिवर्तन पाएकी छन्।
'पहिले मलाई संगीतबारे थाहा थिएन। बिहान उठेर अभ्यास गर्नुपर्छ, यो स्केलमा गाउनुपर्छ भन्ने थाहा थिएन,' उनले भनिन्, 'ती कुराहरू यहीँ आएर सिकेँ।'
'म पहिले स्टेजमा गाउन पनि डराउँथेँ। अहिले दर्शकहरूबाट पाएको अगाध मायाले आत्मविश्वास बढेको छ,' गंगाले अगाडि भनिन्, 'यति धेरै मान्छेले चिन्नुहुन्छ, यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पनै गरेको थिइनँ।'
'अहिले मलाई भेट्दा मान्छेहरू कुरा गर्न, फोटो खिच्न खोज्नुहुन्छ, त्यो मैले पाएको ठूलो सफलता हो।'

गंगा सोनामलाई उपाधि जितेपछि अलि अलि दबाब पनि महसुस हुन्छ। दर्शकहरूको अपेक्षा पूरा गर्न नसकिएला कि भन्ने चिन्ता पनि छ।
यसका लागि उनी जतिसक्दो राम्रो गीत गाउन चाहन्छिन्। नेपाल आइडल जितेर पाएको २५ लाख रूपैयाँको पुरस्कार पनि संगीतमै लगानी गर्ने योजना बनाएकी छन्।
विजेता बनेसँगै उनलाई पछिल्लो समय थुप्रै गीतबाट अफर आइरहेको पनि छ। दिनकै दुई–तीनवटा गीत रेकर्ड गराइरहेको उनी बताउँछिन्।
'अबको एक–दुई महिना स्टुडिओमै बढी व्यस्त हुन्छु,' उनले भनिन्, 'लोक, आधुनिकदेखि फिल्मी गीतहरूको समेत अफर आइरहेको छ।'
उनी नेपाल आइडलको वर्ल्ड टूरमा पनि सहभागी हुँदै छिन्। यसबीच छुटेको पढाइ अघि बढाउने उनको योजना पनि छ।
'हाम्रो गाउँमा प्लस–टूसम्म मात्र थियो। त्यसले मेरो पढाइ छुटेको थियो। अब पढाइलाई पनि निरन्तरता दिन्छु,' उनले भनिन्।
कुराकानी क्रममा आफूलाई भोट गरेर जिताउने सम्पूर्ण श्रोता, दर्शक र प्रशंसकहरूलाई उनले धन्यवाद पनि दिइन्।
'उहाँहरूलाई कुन शब्दले धन्यवाद दिऊँ, उहाँहरूका लागि धन्यवाद मात्रै कमै हुन्छ होला,' २० वर्षीया गंगाले भनिन्, 'मलाई यहाँसम्म ल्याउनमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको ठूलो हात छ। तपाईंहरूलाई धेरै–धेरै धन्यवाद।'
***
