गुड फ्राइडे सिनेमा
गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका फिल्म मन पराउनुहुन्छ?
त्यसो हो भने दक्षिण भारतीय फिल्म 'इन्टेलिजेन्ट खिलाडी' तपाईंका लागि राम्रो विकल्प हुन सक्छ।
यो सन् २०१८ मा प्रदर्शन भएको तेलुगू फिल्म 'गुडाचारी' को हिन्दी डब संस्करण हो।
फिल्मको कथा गोपी नामका युवकको वरिपरि घुम्छ। उनका बुवा रघुवीर भारतीय गुप्तचर संस्था रअका एजेन्ट हुन्छन्। एउटा गोप्य मिसन क्रममा उनको मृत्यु हुन्छ।
त्यसपछि गोपीका मामा सत्याले आफ्नो र गोपीको मृत्यु भएको नाटक गर्छन्। गोपीलाई अर्जुन कुमार नाम दिएर हुर्काउँछन्।
अर्जुनको सपना पनि बुबाजस्तै गुप्तचर बन्ने हुन्छ। उनी भारतीय गुप्तचर संस्था रअमा प्रवेश गर्न पटक पटक आवेदन दिन्छन्। तर उनको आवेदनले कुनै प्रतिक्रिया पाउँदैन।
अन्ततः १७५ औं पटक आवेदन दिँदा बुबाको नाम उल्लेख गरेपछि उनको छनोट हुन्छ।
उनी रअको गोप्य शाखा 'त्रिनेत्र' मा भर्ती हुन्छन्। तालिम पूरा गरेपछि उनलाई एजेन्ट ११६ को परिचय दिइन्छ। त्यसपछि उनको जिम्मेवारी एउटा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल मुजाहिद्दीनको गतिविधि पत्ता लगाउनु हुन्छ।
उक्त संगठनको नेतृत्व रहस्यमय व्यक्ति रानाले गरिरहेको हुन्छ।
यही क्रममा अर्जुनको भेट समिरा रावसँग हुन्छ। हार्वर्ड विश्वविद्यालयबाट मनोविज्ञान अध्ययन गरेकी समिरा र अर्जुनबीच प्रेम सम्बन्ध सुरू हुन्छ। दुवैले बाल्यकालमै आमाबुवा गुमाएको अनुभव साट्छन्।
अर्जुनले समिरालाई आफ्नो वास्तविक परिचय गोपी भएको बताउँछन्।
तर अर्जुनले काम गरिरहेको गोप्य संस्थाभित्रै आतंकवादी संगठनको घुसपैठ भइसकेको हुन्छ। एउटा मिसन क्रममा प्राप्त गोप्य संकेतको अर्थ बुझ्न नसक्दा उनी ठूलो संकटमा पर्छन्।
त्रिनेत्रका संस्थापक आचार्य र प्रमुख अधिकारी दामोदरको हत्या हुन्छ। हत्याको आरोप अर्जुनमाथि लाग्छ। प्रधानमन्त्री कार्यालयबाट उनलाई पक्राउ गर्न आदेश जारी हुन्छ। आफ्नै संस्थाका अधिकारीहरूको हत्याको आरोप लागेपछि अर्जुन भाग्न बाध्य हुन्छन्।
त्यसपछि उनी आफूलाई फसाउने व्यक्ति पत्ता लगाउन अनुसन्धानमा जुट्छन्। यस क्रममा संस्थाभित्रै कसैले आतंकवादी संगठनलाई सहयोग गरिरहेको हुन सक्ने आशंका बलियो हुँदै जान्छ।
अनुसन्धानकै क्रममा अर्जुनले समिराको वास्तविक परिचय थाहा पाउँछन्।
उनले गोप्य तालिमका भिडिओहरू पनि फेला पार्छन्। आफ्नो बुबाको वास्तविकता, आफूलाई फसाउने व्यक्ति र संस्थाभित्र लुकेको षड्यन्त्र पत्ता लगाउने क्रममा अनेक चुनौती सामना गर्नुपर्छ।
फिल्मको बाँकी कथा यही रहस्य र अर्जुनको संघर्ष वरिपरि अघि बढ्छ।
फिल्मको विशेषता यसको रहस्यपूर्ण कथावाचन हो। सुरूदेखि नै दर्शकलाई एउटा घटनाले अर्को घटनासँग जोडेर राख्छ। गुप्तचर संस्थाको काम, गोप्य मिसन, अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल र पात्रहरूको दोहोरो परिचयले कथा रोचक बनाउँछ।
फिल्ममा एक्सनसँगै पारिवारिक सम्बन्ध, प्रेम, विश्वासघात र देशप्रतिको जिम्मेवारीलाई पनि जोडिएको छ। त्यसैले यो सामान्य गुप्तचर फिल्मभन्दा केही फरक छ।
राम्रो कमाइ गर्न सफल यो फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।
हेर्नुस् युट्युबमा-