ठाकुर बेलबासे पछिल्लो करिब तीन दशकका सशक्त गद्यकवि हुन्। उमेरले ५० वर्ष हाराहारीका यी कवि सम्वत् ५० को दशकदेखि निरन्तर सिर्जनामा छन्।
उनको पहिलो कवितासंग्रह 'सागरको वरिपरि मनहरूको समारोह' २०५८ सालमा छापिएको थियो। चौथो संग्रह 'चोटहरूको उत्सव' यसै वर्ष पाठकमाझ पुगेको छ। यो सबैभन्दा पछिल्लो कृति हो।
'अचानक यो साँझ' २०६७ मा र 'त्रासमा ईश्वर' २०६९ सालमा छापिए। सात जना कविहरूको संयुक्त संग्रह 'यतैकतै' पनि छापियो जसमा ठाकुर बेलबासे एक जना थिए।
उनका फुटकर कविता पनि फाटफुट छापिन्छन्।
उनी भन्छन् — म स्वान्तसुखाय लेख्छु, तपाईंहरू कवि भनिदिनुहुन्छ।
यिनै कविसँग मैले उनका कविता र गद्य कविताका केही आयामबारे संवाद गरेको छु।
कवि ठाकुर बेलबासे राम्रा कवि हुन्, विम्ब प्रयोगमा उनका कविता उत्कृष्ट छन् तर त्यही विम्बले उनका कुनै कविता क्लिष्ट भएका छन् भन्ने सुनेको छु। तपाईंकै कुनै कृतिको भूमिकामा पनि यस्तै आशय पढेको थिएँ। यसबारे के भन्नुहुन्छ?
लेखनमा क्लिष्टता एउटा पक्ष हो तर त्यो मेरो गुण होइन भन्ने मलाई लाग्छ। मैले कवितामार्फत प्रकट गर्न चाहेको भाव पाठकहरूले सहज ढंगले ठम्याउन सकून् भन्ने सोचका साथ लेख्छु तर सरलताका नाममा नारा लेखेर कविता बन्दैन।
यो चेतनाका साथ लेख्दा कोही पाठकलाई कुनै कविता क्लिष्टजस्तो लाग्न पनि सक्छ। कहिलेकाहीँ कुनै खास कवितामा कोही पाठकले अलिक क्लिष्ट भयो भनेर मसँगै पनि भन्नुभएको छ। मेरा कविता सरल तर गहिरो भावका ठान्ने पाठकहरू पनि हुनुहुन्छ।
यी दुवै किसिमका पाठकहरूसँग संवाद भइरहन्छ।
कुनै समय म मोहन कोइराला, ईश्वर वल्लभ, बैरागी काइँला, तोया गुरुङ र त्यो पुस्ताका यस्तै अन्य कविका कविता दोहोर्याई तेहर्याई पढ्थेँ। कविताको शक्ति भनेकै लेखकको भाव जे भए पनि पाठकले आफ्नै ढंगले अर्थ पहिल्याउनु हो भन्ने मेरो धारणा त्यति बेलै बनेको हो।
पाठक अनुसारको अर्थ लाग्नु नै कविताको शक्ति हो। पाठक अनुसार एउटै कविताको पनि फरकफरक भावार्थ निस्किन सक्छ।
लेखक प्रत्येक पाठकसमक्ष पुगेर अर्थ लगाउन सम्भव हुँदैन। पाठकले क्लिष्ट ठान्ने यी अग्रज कविका जस्ता कविता लेख्न सके त मजा नै हुने थियो!
मोहन कोइरालाकै कुरा गरौं। एक पटक कुनै पाठकले सोधेछन्– फर्सीको जरा कविताको खास भाव के हो? कविले उत्तर दिएछन्– मैले लेखेँ, तिमीले जे बुझ्यौ, त्यही हो अर्थ। तपाईंको कुरा पनि त्यस्तै हो?
मोहन कोइरालाले ठिक जबाफ दिनुभएको हो। पाठकले नै हो कविताको भाव पहिल्याउने। सार्वजनिक मञ्चमा आफ्नै कविताबारे बोल्नुपर्यो भने व्याख्या गर्ने ल्याकत हुनैपर्छ। यसो भएन भने एकातिर आफ्नै कवितामाथि अन्याय हुन्छ, आफूमाथि अविश्वास गरेको ठहरिन्छ।
सार्वजनिक रूपमा पाठकहरूमाझ पुगेपछि कविताको भाव पहिल्याउने प्रत्येक पाठकले नै हो।
कवि सधैं रहँदैन तर कविता रहन्छ। त्यही कविता कालजयी हुन्छ जसमा पाठकले त्यसको खास भाव खोजिरहन्छन्। विद्यालयमा, विश्वविद्यालयमा र प्राज्ञिक तहमा भावार्थ खोजी भइरहन्छ।
मलाई गद्य कवितामा खासै रुचि थिएन तर मैले तपाईंको पहिलो कविताकृति 'सागरको वरिपरि मनहरूको समारोह' किनेरै पढेँ। हाम्रो चिनजान पनि त्यो कृतिपछि मात्रै भएको हो। त्यसमा संगृहीत अधिकांश कविता मेरा लागि दुर्बोध्य भए तर पढेर मजा आयो। किन मजा आयो, त्यो पनि थाहा भएन। एउटा पाठकका रूपमा मेरो यो स्थितिबारे तपाईं के भन्नुहुन्छ?
यसमा केही भन्न मोहन कोइराला, ईश्वर वल्लभ, बैरागी काइँला, तोया गुरूङ जस्ता कविहरूकै समयतिर फर्किनुपर्ने हुन्छ। उहाँहरूका अधिकांश कविता अमूर्त थिए। पाठक र समीक्षकहरू त्यही अमूर्तताभित्र भावार्थ खोज्थे। अनेक आयामबाट टिप्पणी गर्थे। त्यसकै चर्चा–परिचर्चा गर्थे।
मेरा कविता त्यो स्तरका अमूर्त होइनन्। मैले त्यसरी लेख्न सकेको छैन तर पनि 'सागरका वरिपरि मनहरूको समारोह' मा केही हदसम्म अमूर्त कविता थिए। त्यही अमूर्ततालाई क्लिष्टता भने पनि भयो।
तपाईंले भन्नुभयो नि मेरा लागि अधिकांश कविता दुर्बोध्य भए तर पढेर मजा आयो! एउटा कविका रूपमा मेरा लागि खुसीको कुरा हो।
कविताभित्रको अमूर्तताले नै तपाईंलाई पठनमा मजा आएको हो भन्ने म ठान्छु। तपाईंलाई मजा नआएको भए मेरो कवित्व कमजोर ठहरिने थियो।
'सागरको वरिपरि मनहरूको समारोह' देखि 'चोटहरूको उत्सव' सम्म आइपुग्दा तपाईंका चार वटा कविता संग्रह पाठकसमक्ष पुगे। यो करिब २५ वर्षको अवधितिर फर्केर हेर्दा आफ्नो लेखन कस्तो पाउनुहुन्छ?
'सागरको वरिपरि मनहरूको समारोह' कविता संग्रहले मलाई कविका रूपमा चिनायो। त्यो समयका अग्रज कविहरूले मरो कृतिमा सकारात्मक प्रतिक्रिया जनाइदिनुभयो। आम पाठकहरूबाट पनि राम्रो प्रतिक्रिया आयो। समीक्षाको क्षेत्रमा पनि कृतिले राम्रो स्थान पायो। कृतिको बिक्री पनि निकै राम्रो भयो।
त्यसपछि 'अचानक यो साँझ' र 'त्रासमा ईश्वर हुँदै 'चोटहरूको उत्सव' लेखनमा म अलिकति भत्किएछु कि जस्तो लाग्छ।
यहाँसम्म आइपुग्दा मेरा अमूर्त कविता मन पराउने पाठकहरूलाई छोडेर हिँडेछु कि, अलिक फराकिलो पाठकवृत्तमा पुग्न लोभिएछु कि जस्तो पनि लाग्छ।
यसको अर्थ म 'सागरको वरिपरि मनहरूको समारोह' को अमूर्तताबाट विचलित भएको भन्ने होइन। केही खुकुलो देखिएको हुन सक्छु। मेरा कविताको अनुहार थोरै बदलिएको हुन सक्छ।
म रचनाशैलीको अलिक अँध्यारो पहाडबाट अलिक उज्यालो पहाडतिर फर्किएँ होला। निकै टाढाबाट हेर्दा पनि पहाडका मसिना झारबुट्टा, फूल र अन्य दृश्यहरू देखिने बाटोतिर हिँडे होला जस्तो लाग्छ।
साहित्यकार पारिजातले 'शिरीषको फूल' पछि पनि धेरै कृति लेखिन् तर 'शिरीषको फूल' लेख्न सकिनन् भन्ने टिप्पणी पढेको छु। कवि ठाकुर बेलबासेका सन्दर्भमा पनि 'सागरको वरिपरि मनहरूको समारोह' पछि त्यस्तै लयको अर्को कविता संग्रह लेखिएको छैन भन्ने हो भने तपाईंको टिप्पणी के हुन्छ?
स्रष्टालाई कुनै एउटा कृतिले पाठकमाझ स्थापित गरेपछि त्यसको जरो निकै गहिरो र बलियो गरी फैलिँदो रहेछ। पाठकको अपेक्षा पनि त्यसै अनुसारको हुँदो रहेछ।
'शिरीषको फूल' त्यो समयको उत्कृष्ट कृति त थियो नै तर त्यसपछिका कृति बलिया भएनन् भन्ने होइन। फरक के हो भने साहित्यिक वृत्तमा 'शिरीषको फूल' जति हलचल अन्य कृतिले मच्चाएनन्।
ईश्वर वल्लभको 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्' पछि थुप्रै कृति प्रकाशित भए तर सबै छायामा छन्। 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्' ले मदन पुरस्कार पायो, अन्यले पाएनन्। पारिजातको 'शिरीषको फूल' ले पनि मदन पुस्कार पायो, अन्यले पाएनन्।
सम्भवतः त्यो प्रतिष्ठित पुस्कारका कारणले पनि चर्चा धेरै भयो र अन्य कृतिहरू पुरस्कृतसँगै तुलना गरिए।
मेरो पहिलो कविता संग्रह पनि त्यो समय निकै चर्चामा रह्यो, त्यसैले मेरो कवि–व्यक्तित्व बनायो, मलाई कविका रूपमा चिनायो। म आफू शैलीमा सरलीकरण गर्दै अझ परिस्कृत कविता लेख्ने ठाउँमा आइपुगेको छु भन्ने ठान्छु।
मेरो पहिलो कृतिसँग तुलना गरेर पढ्ने तपाईंजस्ता कतिपय पाठकलाई पछिल्ला कृति कमजोर भएको भन्ने लाग्न सक्छ तर खासमा त्यसो भएको होइन, शैलीमा थोरै परिमार्जन भएको हो।
मलाई वर्तमानमा सबैभन्दा बढी लेखिने तर सबैभन्दा कम पढिने साहित्यिक विधा कविता नै हो कि जस्तो लाग्छ। आजकाल त अन्य विधाको तुलनामा कविता कृति छापिन पनि कम भएको हो कि भन्ने ठान्छु। यस सन्दर्भमा सशक्त कविका रूपमा तपाईं के भन्नुहुन्छ?
साहित्यिक बजारमा सबैभन्दा बढी आउने नै कविता कृति हो। सामान्यतया अन्य विधाका तुलनामा कविता नै बढी छापिन्छ तर कविता सिर्जनाको व्यापकताका तुलनामा सशक्त पाठकबजार छैन।
कविता मन नपराउने मान्छे नै हुँदैनन् भने पनि हुन्छ तैपनि पाठक थोरै छन्। अन्य विधाको तुलनामा कविताका सर्जक पनि धेरै छन्। छिटो लेखिन्छ पनि, जो कोही कवि भइहालेको पनि देखिन्छ।
खासगरी गद्य कविता यस्तै हुनुपर्छ, कविता भयो वा भएन भन्न पनि कोही अघि सरिहाल्दैन। यसको ठोस मापदण्ड पनि छैन। यस्तो अवस्थामा कवि हुन सजिलो भयो तर त्यसले पाठकको रूचि घटायो।
सचेत पाठकले कविता हो कि होइन भन्ने छुट्ट्याएको हुन्छ। त्यसरी नै पढेको हुन्छ। यस्तो पाठकले मनमस्तिष्कमा झंकार दिने खालको कविता खोजेको हुन्छ। ऊ कविताको गहिराइमा डुब्न चाहेको हुन्छ।
यस खालको पाठक कविभन्दा ठूलो कवि हो। यस्ता पाठक थोरै हुन्छन्। यसै आधारमा कविताको किताब सामान्यतया सानो संख्यामा छापिन्छ।
पाठकलाई आख्यान वा गैरआख्यानमा पाना पल्टाउँदै अघि बढ्न जति सजिलो हुन्छ त्यति सजिलो कवितामा हुँदैन। गहिराइमा कविता बुझेर पढ्ने एक पाठक एक हजार औसत पाठक बराबर हो भन्ने मलाई लाग्छ।
आख्यानमा पाठकले त्यहाँको कुनै न कुनै पात्रमा आफूलाई पाउने वा सोझै आफ्नो परिवेश पाउने सम्भावना बढी हुन्छ। कवितामा यसरी आफूलाई पाउन त्यसको गहिराइमा डुबुल्की मार्न सक्नुपर्छ, सिंगो जीवन खोज्नुपर्छ। यस्तो सामर्थ्य थोरै पाठकमा मात्र हुन्छ।
कविता लेख्नु एउटा गहन साधना हो। कुनै कविता उत्कृष्ट हो कि होइन भनेर तोक्ने मापदण्ड छैन, पाठकमा भर पर्छ, पाठकले नै छुट्ट्याउँछन्।
अधिकांश प्रकाशकहरू व्यापारमा ध्यान दिन्छन्, व्यापारिक दृष्टिले पुस्तक छाप्छन्। कविताको व्यापारिक बजार साँघुरो छ। यस कारण कविताको पुस्तक कम संख्यामा छापिन्छ। साहित्यिक संघसंस्थाहरू पनि कृति प्रकाशनमा नगन्य सक्रिय छन्।
कतिपय ठाउँमा त कवितासाधक कवि प्रहसनको साधन बनाइएको छ। कविताको गहिराइमा पुग्ने पाठकले कविलाई हास्यपात्र बनाउँदैन।
एउटा पाठकका रूपमा म कहिलेकाहीँ सिंगो कविता संग्रह त के, कुनै एउटा कविता पनि पूरा पढिसक्न गाह्रो मान्छु। कहिलेकाहीँ त कविता बनेकै छैन जस्तो पनि लाग्छ। यो पनि कविता भयो र जस्तो लाग्छ। तपाईंको कुराको आधार मान्दा मैले त्यो कविता बुझ्न नसकेको हो कि साँच्चै कविता नबनेको हो, कुन चाहिँ सम्भावना बढी होला?
सबैभन्दा पहिला कविले आफ्नो कविता पाठकवृत्तमा पठाउनुअघि औसत कविता भयो कि भएन, पाठकले कविता मान्छ कि मान्दैन भन्ने विचार गर्नुपर्यो। कविता भयो भन्ने स्वीकार गर्नुपर्यो। कविमा यो चेत हुनुपर्यो।
हामीकहाँ यस्तो चेतना निकै कमजोर देखिएको छ। कुनै त नामको मात्र कविता हुन्छ, त्यस्तै संग्रह हुन्छ, एक हिसाबले भन्दा झुर!
कविताका नाममा त्यस्तैको अंग्रेजी संस्करण छापिएको, तिनैले मञ्चमा कविताको भाषण गरेको पनि देखेको छु। त्यसमा अर्को कविले म राम्रो हुँ भनेर दाबी वा प्रतिवाद गर्नु पनि आवश्यक हुँदैन। यस्तो चलिरहन्छ।
सचेत पाठकले यो सबै देखेको हुन्छ, कविता चिनेको हुन्छ।
मलाई के लाग्छ भने औसत कवितामा एउटा अवसर हुन्छ। त्यो अवसर पनि सापेक्षतामा हुन्छ। चुनौती पनि छ।
तपाईंले अति राम्रो लेखेछौ ठाकुर, मन छोयो भनेको कविता मेरै निकटको अर्को पाठकले ठिकठिकै मानेको पनि पाएको छु। कसैलाई झुर लाग्न पनि सक्ला।
यस कारण विम्ब र प्रतीकहरू ग्रहण गर्ने पाठकीय क्षमता, दार्शनिक पक्षमा पाठकको रूचि अनि कवितामा जीवन खोज्ने रूचिको सापेक्षतामा कविताले अवसर पाएको हुन्छ। अवसरमा चुनौती हुने नै भयो।
कविता भन्नु थोरै शब्दमा धेरै अभिव्यक्त गर्नु हो। कविताको मापदण्ड भन्नु कविताको दार्शनिकता र पाठकको चेतना स्तर हो।
कविले औसत मानेर पाठकवृत्तमा पठाएको कविता अवसर र चुनौती लिएर अघि बढ्छ वा त्यसै लोप भएर जान्छ।

कतैकतै म के सुन्छु भने कविहरूमध्ये पनि सञ्चार माध्यममा पहुँच भएकाहरू बढी चर्चामा आउँछन्। कहिलेकाहीँ त त्यस्तो पहुँचकै आधारमा सञ्चार माध्यमले नै कवित्वभन्दा बढीको कवि बनाइदिएका छन्। ठाकुर बेलबासे आफै सञ्चारकर्मी हुन्, सञ्चार माध्यममा उनको पहुँच नहुने कुरै भएन। यस कारण पनि कविका रूपमा उनको बढी चर्चा हुन्छ भन्ने खासखुस पनि सुनेको छु। यसमा तपाईं के भन्नुहुन्छ?
हेर्नुहोस्, म तीन दशकअघिदेखि कविता लेखनमा छु। सञ्चारकर्मी पनि हुँ। यस आधारमा सञ्चार माध्यममा मेरा कविताकृतिको चर्चा हुनु स्वाभाविक हो तर पहुँचका भरमा मात्रै कसैले जबर्जस्ती राम्रो भनिदिँदैन। एक पटक भनिदिएछ भने पनि दुई पटक, तीन पटक भनिदिँदैन।
सञ्चारकर्मीले भनिदिएर वा लेखिदिएर मात्रै कुनै कृति उत्कृष्ट ठहरिने होइन। कृतिको समीक्षा, विवेचना वा समालोचना हुने अनेक आयामहरू छन्। यस दृष्टिले लेख्ने सञ्चारकर्मीले कृतिकारको पहुँचकै भरमा कुनै कृतिलाई उत्कृष्ट भन्न सक्दैन।
पत्रपत्रिकामा आइदिए हुन्थ्यो, कसैले लेखिदिए हुन्थ्यो भन्ने थोरै लोभ मलाई पनि हुन्छ तर मैले कतै आग्रह गर्ने गरेको छैन।
मेरो पछिल्लो कृति 'चोटहरूको उत्सव' विमोचन हुनुअघि वा भएपछि मैले कसैलाई पनि समाचार वा समीक्षा लेखिदिन आग्रह गरिनँ। जति लेखियो, आफ्नै ढंगले लेखियो। मैले पनि छापिएपछि मात्रै थाहा पाएँ।
कुनै समय म, मणि लोहनी, आरएम डंगोल, गोबर्धन पूजा, छविरमण सिलवाल लगायतको एउटा टिम थियो। हामी सबै कवितायात्राको प्रारम्भिक चरणमा थियौं। समूह बनाएरै कविता वाचन गर्न हिँड्थ्यौं, सञ्चार माध्यममा स्थान पनि खुबै पाउँथ्यौं।
अहिले त्यो स्थिति छैन तर चिनजानका कारणले थोरै सहज अवश्य हुन्छ। सञ्चारकर्मी वा समीक्षकले जानीनजानी थोरै अग्रस्थानमा राखिदिए भने त्यसमै दोष देख्ने कुरा पनि भएन।
म उमेरले ५० तिर पुग्न थालेँ। सञ्चार माध्यममा छाउने लोभ बाँकी छैन। मेरा कविता फुटकर रूपमा पनि कमै छापिन्छन्। जुन बेला लोभ थियो त्यो बेला कसैलाई आग्रह गर्नै परेन, चर्चा भइरह्यो। अहिले लोभ छैन, कहिलेकाहीँ आफै चर्चा भइदिन्छ।
कतै कुनै लेखक, पत्रकारले बढाइँचढाइ कसैलाई उत्कृष्ट साबित गर्ने प्रयास गरेको छ, सिन्डिकेट चलाएको छ भने त्यो क्षणिक मात्र हुन्छ। अन्तिम समीक्षक र जाँचकी पाठक नै हो।
नेपाली गद्य कवितामा मानकझैं मानिने गोपालप्रसाद रिमालदेखि अहिलेका ठाकुर बेलबासेसम्म आइपुग्दा गद्य कविताको विकास र गुणस्तरका हिसाबले हाम्रो कविता विधा कहाँ छ जस्तो लाग्छ?
यस दृष्टिले विचार गर्दा समय निकै महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ। गोपालप्रसाद रिमाल लगभग सबै दृष्टिले मानक कवि भए। लक्ष्मीप्रसाद देवकोटा अद्वितीय क्षमताका मानिए, थिए पनि त्यस्तै; महाकवि कहलिए। आजका दिनमा भए रिमाल र देवकोटा पनि औसत कविहरूझैं संघर्षरत हुन्थे होला।
देवकोटा, रिमाल, सिद्धिचरण श्रेष्ठ लगायतको पुस्ताले आफ्नो काव्य क्षेत्रमा बेजोड काम गर्यो। ती कविले आ–आफ्नो शिखर बनाए, काव्यको सगरमाथा बनाए। त्यस अर्थमा हाम्रा ती अग्रजहरूको सिर्जनशीलता स्तुत्य छ।
रिमालले विम्बमा प्रजातन्त्र र स्वतन्त्रता देखाएर 'आमाको सपना' लेखे। भारी शब्दहरू प्रयोग नगरी सरल ढंगले गहन सन्देश दिए। सञ्चार माध्यमको पहुँच सीमित थियो तर पनि त्यो कविता जनजनमा पुग्यो।
सायद त्यो समयले 'आमाको सपना' को झैं सन्देश खोजिरहेको थियो। मूलतः त्यही कविताका कारणले आज पनि रिमालको चर्चा हुन्छ, भोलि पनि हुनेछ।
रिमालपछि विभिन्न धाराका कविता आए। 'फर्सीको जरा' जस्ता करिब दुर्बोध्य कविता पनि आए। अलिकपछि विष्णुविभु घिमिरे, विनय रावल, अमर गिरी लगायत कविहरूको उदय भयो; अलिकति आफैजस्तो र अलिकति रिमालजस्तो भएर।
त्यसपछि विप्लव ढकाल, श्रवण मुकारूङजस्ता सशक्त कविहरू आए। सम्वत् २०५० को दशकपछि म र मजस्ता कविहरू आयौं।
यी प्रत्येक चरणमा कविता लेखन र वाचनको शैलीमा केही भिन्नता देखिएका छन्। कविताको विकास र गुणस्तर अझ झरिलो, धारिलो बन्दै छ। यी सबै चरणका आ–आफ्ना शैली छन्।
मभन्दा पछिका कविहरू झन् फरक र आकर्षक शैली लिएर आएका छन्। कला र प्रस्तुति दुवैमा केही फरक आएको छ।
राजनीति, आर्थिक–सामाजिक व्यवस्था, शान्ति सुव्यवस्था, व्यवसाय, सदाचार, निजी जीवन, घरपरिवार लोक–परलोक, मायाप्रेम आदि सबै विषयमा केही हजार वर्ष अघिदेखि नै कविता लेखिँदै छ; भनिँदै छ।
काव्यविधामा पाँच हजार वर्ष अघिदेखि यस्तै क्रम चल्दै आएको छ। यो गति रोकिँदैन। भन्नुपर्ने कुरा धेरै बदलिएको छैन तर बान्की बदलिएको छ। लेखाइ, पढाइ र सुनाइमा रूचि बदलिएको छ।
तपाईंभन्दा पछिल्लो पुस्ता भएर पनि धेरै कविहरू आइसकेका छन्। तिनको लेखन र अभिव्यक्तिको शैलीमा तपाईंको के टिप्पणी छ?
मलाई दाइ भन्ने र अग्रज मान्ने कविहरू पनि धेरै भइसके। ती सबै कवि हुन् किनभने कविता लेख्छन्, कवितामार्फत् समयको आवाज बोल्छन्। तिनका कविताको परख गर्ने काम पाठकले गर्छन्। मैले केही टिप्पणी गर्ने पनि पाठककै हैसियतमा हो।
विषय, शब्द चयन र लेखनको बान्कीमा निकै राम्रा कविहरू देखेको छु। सोझो गाउँले, रीता खत्री, हेम प्रभास, रावत, बाबु त्रिपाठी लगायतका केही कवि सशक्त ढंगले आएका छन्। अरू पनि धेरै छन्।
कवितामा कविको उमेर पनि एउटा बलियो पक्ष हुँदो रहेछ भन्ने लाग्छ। हरेक कविले तीस वर्ष आसपासको युवा उमेरमा लेखेका कविता तुलनात्मक रूपमा बढी सशक्त रहेको पाएको छु।
ईश्वर वल्लभ, बैरागी काइँला लगायत धेरै कविलाई तीस वर्षको उमेरभित्र लेखेका कविताले शिखरमा पुर्याएको हो।
बैरागी काइँलाले 'मातेको मान्छेको भाषणः मध्यरातको सडकसित' लेख्नुभयो। यो कविता २०२० साल जेठमा छापिएको थियो। त्यस बेला उहाँ २४ वर्ष उमेरको हुनुहुन्थ्यो।
शैलीगत हिसाबले आख्यानमा फरक फरक प्रयोग भएको छ तर कवितामा त्यस्तो फरकपन सूक्ष्म हुन्छ। निकै गहिरिएर हेर्दा मात्र थाहा पाइन्छ। यसरी हेर्दा पछिल्लो दस वर्षमा पनि निकै सशक्त कविहरू आएको देख्छु।
एउटा पाठकका रूपमा मलाई पद्य अर्थात् छन्द कविता पढ्न सहज लाग्छ। त्यसको सन्देश वा दर्शनका हिसाबले ठिकठिकै लागे पनि लयबद्ध वाचनमा मजा आउँछ। अलिकति दिल छोयो भने कष्ठस्थ पनि भइहाल्छ तर गद्य कवितामा त्यस्तो हुँदैन। एउटा कवितामा आद्योपान्त मन अडिन त्यसले मलाई निकै मजाले तानेको हुनुपर्छ। तपाईंको विचारमा किन यस्तो भएको होला?
यसमा व्यक्ति हुर्केको समयले प्रभाव पारेको हुन्छ भन्ने लाग्छ। तपाईंको पुस्ता र तपाईंअघिका पुस्ता महाभारत, रामायण, कृष्णचरित्र र यस्तै अन्य ग्रन्थहरू पढेर हुर्किएका हुन्; लोरी र लोकभाका सुनेका हुन्। यी पुस्तालाई छन्दका लयको बानी पर्यो, मस्तिष्कमा गढेर बस्यो।
छन्दोबद्ध कविता गेय हुने भएकाले सजिलो भयो तर लेख्न र स्वतन्त्र ढंगले भावना अभिव्यक्ति गर्न गद्य कविता सहज भयो, छन्दमा जस्तो शब्द र अक्षरको सीमा भएन।
अहिलेको पुस्ता गद्य कविताको फराकिलो क्षितिजमा अभ्यस्त भयो, लेखक र पाठक दुवै। एउटा सचेत पाठकका रूपमा तपाईंलाई छन्दमा जस्तै गद्यमा पनि उत्तिकै रूचि छ भन्ने मलाई लाग्छ।
भावना र विचारले मात्रै छन्द कविता लेखिँदैन, छन्दको ज्ञान पनि चाहिन्छ। यसरी हेर्दा गद्य कविता लेख्न अलिक सहज पनि हुन्छ। पाठकलाई पढ्न पनि सहज हुन्छ।
छन्दमा पाठकको पनि सीमा हुन्छ, लय जानेको हुनुपर्छ। लय जानेको छैन भने त्यो पनि गद्यजस्तै भइदिन्छ, अझ निरस पनि हुन बेर लाग्दैन। गद्य कवितामा श्रोताको ध्यान तान्ने गरी भाका हाल्ने स्वतन्त्रता पनि हुन्छ।
कविताले पाठकलाई तान्न, सुरूदेखि अन्त्यसम्म अड्याउन सक्नुपर्छ भन्ने कुरामा मेरो फरक मत हुने कुरै भएन। यसरी अड्याउन सक्दा मात्र पाठकमा झंकार उत्पन्न हुन्छ। यस बेला छन्दमा भन्दा कम मजा गद्यमा हुन्छ भन्ने मलाई लाग्दैन।
म गद्य कवितामा पनि लय खोज्छु। छन्दको जस्तो यति, गति, मात्रा अनुप्रास जस्तो लय होइन; शब्द संयोजन, एक शब्दपछि अर्को शब्दमा र एक हरफपछि अर्को हरफमा जाने बलाघातको लय खोज्छु। मेरा लागि कविता भन्नु पढाइसँगै सुनाइ पनि हो। यस हिसाबले गद्य कवितामा मैले खोज्ने लयबारे तपाईंको टिप्पणी के हुन्छ?
म तपाईंसँग पूरै सहमत छु। म पनि गद्य कवितामा पाठकको मनले संगीत सिर्जना गर्न सकेको हुनुपर्छ भन्ने ठान्छु। पाठकले संगीत सिर्जना गर्न कविले ठाउँ दिएको हुनुपर्छ।
कवितामा विशिष्ट चेतना भएको पाठकले मात्र लय खोज्छ। तपाईं र तपाईंजस्ता पाठकहरू विशिष्ट चेतनायुक्त हुन् भन्ने लाग्छ। कविको भावनाको गहिराइ, विम्ब–प्रतीकको सौन्दर्य र शब्द चयनले नै गद्य कवितामा पठनको लय सिर्जना गर्छ भन्ने मेरो धारणा छ।
म तपाईंका कवितामा टुंग्याउनीतिर जाँदै गर्दा कहिलेकाहीँ भावका दृष्टिले अलिक अलमलमा पर्छु। कवि कसिलो हुँदै गएको हो कि मेरो ल्याकत नपुगेको हो भन्ने थाहा पाउँदिनँ। यसबारे तपाईं के भन्नुहुन्छ?
तपाईं किन त्यसरी अलमलमा पर्नुहुन्छ भन्ने ठ्याक्कै त भन्न सक्दिनँ तर मेरो पछिल्लो कृति 'चोटहरूको उत्सव' मा तपाईंको भनाइ मेल खान्छ। मैले पाठक अल्मल्याउन खोजेको होइन तर तपाईंले प्रश्नमा भनेको जस्तो प्रयोग गरेको छु।
'चोटहरूको उत्सव' का अधिकांश कविता शृंगारिक ढंगले अघि बढ्छन्। कविता मायाप्रेमको उत्सवबाट अघि बढ्छ। करिब बीचतिरबाट परिस्थिति बदलिन्छ र कतिपय ठाउँमा उल्टो भइदिन्छ। चोट उत्पन्न भइदिन्छ।
मायाप्रेमकै कारण कुनै बिन्दुमा चोट उत्पन्न भएको रहेछ भने पनि विगतको मायाप्रेमको अवमूल्यन हुनु हुँदैन भन्ने बुझाउन चोटहरूले पनि उत्सव मनाउँछन्।
पाठकलाई लाग्न सक्छ — चोटमा पनि केको उत्सव!
अर्को कुरा, कविता पढेपछि पाठकले नै त्यसको भावार्थ, दर्शन र सन्देश पहिचान गरेको हुन्छ। व्यक्ति अनुसार फरक पर्ला तर पहिचान गरेकै हुन्छ। त्यस्तो पहिचान दिन नसक्ने कविताले पाठक बनाउन सक्दैन।
तपाईंले भनेजस्तै कविताको खास मर्म अन्त्यतिरै हुन्छ। सामान्यतया आधाबाट अघि बढेपछि कविताको शक्ति पनि बढ्दै जानुपर्छ र समापनले झंकार उत्पन्न गराउनुपर्छ। यसो भएपछि मात्रै कुनै कविता साँच्चैको कविता बन्छ। म यस किसिमको अभ्यासमा छु। प्रयास गर्दै छु।
यहाँनेर तपाईंलाई थोरै अलमलजस्तो लाग्नु स्वाभाविक हुन्छ। मेरा कवितामा कहिलेकाहीँ तपाईंजस्ता पाठकलाई हुने अलमल मेरो शैलीको निजत्व पनि हुन सक्छ। बरू यो निजत्वले मेरो कविलाई घात नगरोस्।
कविताको भावार्थ, दार्शनिकता र शब्द चयन आदिका दृष्टिले कविभित्र कविता कसरी तयार हुँदो रहेछ, लेख्न बसेपछि कविता थालनी गर्न कठिन कि अन्त्य गर्न; तपाईंको अनुभवले के भन्छ?
कविभित्र कविताको गर्भाधान जुनसुकै बेला हुन सक्छ। गफैगफमा कसैले भनेको कुनै वाक्यले, कुनै दृश्यले, कुनै घटना विशेषले, इतिहासले वा आफ्नै मनमा उत्पन्न खास विचारले कविताको भ्रुण तयार गर्न सक्छ।
मेरो हकमा अब त्यसलाई पैदा गर्न मनमस्तिष्कमा खेलाइनुपर्छ। यो खेल कति समय चल्छ भन्ने निश्चित हुँदैन। कहिले तुरून्तै कविता बनिहाल्छ त कहिले दुई–चार दिन लाग्छ। कति त यसै हराएर जान्छ।
कहिलेकाहीँ रातमा निद्रा नपरेका बेला वा ब्युँझिएका बेला पनि कविताका एक–दुई हरफ आइदिन्छन्। बिहान उठ्दा बेपत्ता भइसकेका हुन्छन्।
मभित्र खुरूरू, हुरूरू कविता उत्पन्न हुँदैन। लेखेका मध्ये पनि थोरै मात्र मेरा लागि कविता बन्छन्। कति त कविता बनेर पनि मसँगै सीमित भइदिन्छन्। पाठकसम्म पुग्ने त साह्रै थोरै हुन्छन्।
मेरा लागि कविताको थालनी र अन्त्य दुवै चुनौतीपूर्ण हुन्छ। पाठकलाई थामेर लैजाने थालनीले हो, झंकार दिने अन्त्यले हो।
थाम्न नसक्ने र झंकार नदिने कविता के कविता! म त भन्छु — कविताले पाठकलाई एक पटक रन्थन्याउनुपर्छ।
म यस्तै दबाबमा हुन्छु र हरेक पटक थेग्ने प्रयास गर्छु। कवि भूपि शेरचनले आफैलाई भनेका छन् नि — कठैबरा! विचरा! भूपि शेरचन!
भूपिलाई त कवितामा त्यति कठिन हुन्थ्यो भने मेरो के कुरा!
आजको संवादको अन्तिम जिज्ञासा! प्रसिद्ध नाटकार बालकृष्ण समले आफ्नो 'म' नाटकको संक्षिप्त भूमिकामा लेखेका छन् — बल्न जानियोस्, अरूलाई सल्काएर मात्र निभ्न जानियोस्। समको यो भावनालाई आधार मान्दा एक सशक्त कविका रूपमा तपाईं आफूलाई के ठान्नुहुन्छ?
सम साँच्चै महान स्रष्टा हुनुहुन्थ्यो। दार्शनिक हुनुहुन्थ्यो। नाटक, कविता, कथा, निबन्ध, दर्शन लेख्नुभयो।
उहाँले आफ्नो स्तरबाट 'बल्न जानियोस्, अरूलाई सल्काएर मात्र निभ्न जानियोस्' भन्नु स्वाभाविक थियो। उहाँ त्यसो भन्न सक्ने, भन्न मिल्ने तहमा हुनुहुन्थ्यो।
म कविता लेख्छु, मेरा लागि स्वान्तसुखायभन्दा बढी केही पनि होइन। तपाईंहरू कवि भनिदिनुहुन्छ, कुरा यति नै हो। समले जस्तो मैले भन्नु मेरो अहंकारबाहेक केही हुँदैन।
मेरो जीवनकालमै वा त्यसपछिको पुस्ताले मेरा कवितामा समले भनेझैं कुनै आयामको लेश मात्रै देखेछ भने पनि मेरो जीवनभरिको कल्पनाबाहिरको कुरा हुनेछ।