तिमीलाई सम्झेर हेर दिन बित्यो
तिम्रै यादहरूमा मेरो रात कट्यो...
कोमल र स्निग्ध छन् यी शब्दहरू।
केहर सिंह लिम्बूले यी शब्दहरू अझ मधुर स्वरमा गाउँछन्, आम युवाको मन सुम्सुम्याउने गरी। तन्नेरीहरूले यी शब्दलाई आफ्नै ढुकढुकीको धुन ठान्छन्। सांगीतिक लय मान्छन्। र, त आफ्नो प्रेयसीका सम्झनामा तरंगित बन्छन्। हृदयमा प्रेमको नूतन धारा प्रवाहित हुन्छ।
युवा पुस्ताको मुटु छोएर उठ्ने यी गीति हरफ केहरले कक्षा ९ मा पढ्दाताका लेखेका थिए। ती दिनहरूमा उनी कभर गीत गाउँथे।
आफूले लेखेको 'तिमीलाई सम्झेर' पनि पछि अनायास गाएर टिकटकमा पोस्ट गरे।
अचम्म! यसलाई युवापुस्ताले मनपराए। आफ्ने हृदयको आवाज ठाने। उनका शब्दहरू मनले सुम्सुम्याए। विद्युतीय वेगझैं फैलिएर त्यो सबैको हातहात पुग्यो। ढुकढुकी चुम्यो। ओठहरूबाट निस्किने प्रेमधुन बन्यो।
सोही गीत उनले तीन वर्षअघि रेकर्ड गराए। त्यसअघि एकाध गीत गाए पनि जब 'तिमीलाई सम्झेर' निकै रूचाइयो, सांगीतिक क्षेत्रमा यी पूर्वेली ठिटोप्रतिको चर्चा र चासो बढ्यो।
क्रमशः 'तिमीलाई सम्झेर २,' 'बैगुनी,' 'सरर' हुँदै 'डोको बुन्ने' सम्म आउँदा केहर युवा पुस्तामाझ चर्चित गायक बनेका छन्। उनका एकपछि अर्को गीत युट्युबमा करोड पटक हेरिएका छन्।
कन्सर्टमा उनलाई सुन्न र हेर्न दर्शक/श्रोताको ठूलो भिड लाग्न थालेको छ। कन्सर्टहरूमा उठ्ने हातहरूले उनलाई छुन मात्रै खोजेका हुँदैनन्, उनको सांगीतिक यात्रामा पनि उत्तिकै भरथेग गरेका छन्।
दर्शकदीर्घाबाट छुट्ने 'वन्स–मोर' को प्रिय आवाजले उनलाई अघि बढ्न र नयाँ नयाँ सिर्जना गर्न प्रेरित गरिरहन्छ।
भर्खर १९ वर्षका भए केहर। संगीत क्षेत्रमा औपचारिक यात्रा थालेको पनि धेरै भएको छैन। यद्यपि, सानो उमेर र कम समयमै उनी युवा पुस्ताको भावना, प्रेम र स्मृतिलाई संगीतमा उतार्ने गायकका रूपमा स्थापित हुँदैछन्।
आज उनको गायन फिल्मसम्म आइपुगेको छ। त्यो पनि एउटा, दुइटा नभएर फिल्मको सबै गीत उनले गाएका छन्। प्रदर्शन तयारीमा रहेको फिल्म 'कुमारी' का सबै गीतमा केहरको स्वर सुन्न सकिन्छ।
यो फिल्ममा केहर कभर गीतकै कारण जोडिएका थिए।
एक दिन निर्देशक दिनेश राउतले देखे — आफ्नो फिल्म 'नोभेम्बर रेन' को गीत 'तिमीलाई के भनूँ' केहरले गाएको।
त्यसपछि दिनेशले केहरलाई भेट्न बोलाए।
केहर त्यति बेला आश्चर्यमा परे, जति बेला दिनेशले फिल्मका सबै गीतको जिम्मेवारी सुम्पिने बताए।
'फिल्मबाट अफर पहिले पनि आएको थियो। तर एउटा मात्र गीत हुने भएकाले गरेको थिइनँ। कुमारीमा सबै गीत तिमीहरूको हुने भनेपछि उत्साहित भयौं,' केहरले भने।
अहिले सो फिल्मका 'कता छौ मेरो फूल,' 'डोको बुन्ने' सहित अन्य गीत पनि चर्चामा छन्।
गीत हिट, थिएन आफ्नै युट्युब च्यानल
'तिमीलाई सम्झेर' सुपरहिट भएपछि केहरले केही गीतमा काम गरे। त्यसपछि उनी केन्द्र मोसन पिक्चर्ससँग आबद्ध भए।
केन्द्र मोसनबाट गीत सार्वजनिक भयो, 'तिमीलाई सम्झेर २'। यो गीत पनि राम्रो चल्यो। त्यति बेलासम्म केहरको आफ्नै युट्युब च्यानल भने थिएन।
'बैगुनी' गीत उनले जम्मा ४ सय सब्सक्राइबर्स भएको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए। नयाँ च्यानलमा आउँदा पनि गीतले लाखौं भ्युज पायो। सबस्क्राइबर बढेर ३०/३५ हजार पुगे।
उसो त केहर कभर गीतहरूमार्फत सानो उमेरमै चर्चामा आएका थिए। उनले खासगरी आफूलाई मनपरेका, कतिपय कम चर्चित गीत गाएर सामाजिक सञ्जालमा राख्थे। उनले यसरी राखेपछि ती गित थप चर्चामा समेत आउँथे।
लोभलाग्दो फ्यान फ्लोइङ भएका गायक जोन चाम्लिङ राईले एक कन्सर्टका क्रममा केहरलाई धन्यवाद दिँदै भनेका थिए– भाइले हाम्रो त्यो गीतमा टिकटक नबनाइदिएको भए, नगाइदिएको भए सायद तपाईंहरूसम्म आइपुग्न गाह्रो हुन्थ्यो होला।'
जोन चाम्लिङ राई, पूर्ण राईहरूलाई देखेरै आफूलाई ब्यान्डको साथमा कन्सर्ट गर्न मन लागेको केहर बताउँछन्।
केहरले भने, 'उहाँहरू ब्यान्डमा कन्सर्ट गरिरहनुभएको देख्थेँ। मलाई पनि ब्यान्डमा कन्सर्ट गर्न मन लाग्यो।'
ब्यान्ड बनाउने निधो भयो। टिम जुट्यो। नाम राखियो — केहर एन्ड जोय।
पहिलो कन्सर्ट मोरङको बेलबारीमा भयो।
'मभन्दा धेरै अग्रज दाइहरूको साथमा ब्यान्ड सुरू गर्यौं। कन्सर्ट पनि राम्रो हुन थाल्यो,' केहर सम्झिन्छन्।
कन्सर्टका लागि निमन्त्रणा आउने क्रम बढ्दै गयो। तर, केहरसँग आफ्नै गीतको संख्या कम थियो।

हरेक गीतको आफ्नै समय र भाग्य हुँदो रहेछ
केहरले केही समयअघि नै लेखेका थिए 'सरर सरर'। गीतको अडिओ तयारी सकिएपछि उनी कन्सर्टहरूमा उत्साहित हुँदै सुनाउँथे — अब चाँडै हाम्रो 'सरर' गीत रिलिज हुँदैछ है!
एक साता, दुई साता बित्यो, गीत आएन। महिना दिन बित्दा पनि रिलिज भएन। अन्ततः भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरियो।
यो गीत अहिले चर्चामा छ तर यसपछाडिको कथा रोचक छ।
'मेरो आफ्नै युट्युब च्यानलमा गीत राख्यौं। तर केही प्राविधिक कारणले हटाउनुपर्यो। फेरि अपलोड गर्यौं, त्यो पनि हटाउनुपर्यो। त्यसपछि राखेको गीतले सोचेजति भ्युज पाएन। अडिओ प्लेटफर्ममा पनि पुग्न सकेन। एक महिना पुग्न लाग्दा पनि भ्युज लाख पुगेन।'
पछि केन्द्र मोसनसँग अपलोड र कमाइ बाँड्ने सहमति भयो।
'मेरो च्यानलमा नचलेको गीत केन्द्र मोसनमा अपलोड भएपछि यस्तो रफ्तारमा चल्न थाल्यो कि, छोटो समयमै करोड भ्युज पार गर्यो,' केहरले बताए।
गीत नचल्दा निराशा स्वाभाविक थियो।
जब चल्यो, केहरले महसुस गरे — हरेक गीतको आफ्नै समय र भाग्य हुँदो रहेछ।
'सरर' केहर एन्ड जोयको पहिलो गीत थियो। तर यो ब्यान्ड लामो समय टिक्न सकेन।
कारणबारे केहर संक्षिप्तमा भन्छन्, 'भाइब्स नमिलेर छुट्यौं भनौं न!'
पहिलो ब्यान्डसँग छुट्टिएपछि केहरले नयाँ ब्यान्डको तयारी थाले। टिम जुट्यो, एकपछि अर्को कन्सर्ट पनि गरे।
यति बेलासम्म ब्यान्डको नाम पुरानै थियो। पछि नयाँ पहिचान दिइयो — केहर एन्ड द लुंगा।
'लुंगा हाम्रोतिर आफूभन्दा अलि कान्छो तर नजिकको व्यक्तिलाई सम्बोधन गर्न प्रयोग हुने शब्द हो। आजभोलि नयाँ मान्छे भेट्दा पनि साथीसरह के छ लुंगा भन्ने चलन बढ्दै गएको छ। नयाँ साथी भेटिएपछि यो लुंगा चाहिँ कहाँको नि भनेर सोधिन्छ। त्यही अपनत्व र सहजताको भाव बोकेर ब्यान्डको नाम राखिएको हो,' केहरले भने।
यो ब्यान्डको घोषणा 'कुमारी' फिल्मको घोषणासँगै काठमाडौं टुँडिखेलबाट गरिएको थियो।
'फुर्के थिएँ, कोहीसँग हिच्किचाउँदिनँ थिएँ'
तेह्रथुममा जन्मिएका केहर चञ्चल, नलजाउने र फुर्के स्वभावका थिए। आफूसँग जे छ, त्यही देखाउन र गर्न कहिल्यै हिच्किचाएनन्।
'एकदमै फुर्के थिएँ,' केहर हाँस्दै भन्छन्, 'लजाउने त स्वभाव नै थिएन।'
तर यही चञ्चलताभित्र गीत–संगीतप्रति रूचि लुकेको थियो। बाल्यकालदेखि नै उनी गुनगुनाइरहन्थे। घरमा आमाले गाउने पालम गीत सुन्दै हुर्किएका केहर त्यसैको नक्कल गर्न खोज्थे।
'बच्चैदेखि गाउँथेँ,' उनी सम्झिन्छन्, 'ममी पालम गाउनुहुन्थ्यो, म पनि त्यस्तै गर्न खोज्थेँ। सुनेका गीत कण्ठ पार्थेँ। तर म गायक बन्छु भन्ने सोच भने थिएन।'
स्कुलका कार्यक्रमदेखि सामान्य जमघटसम्म उनी गाउन पुग्थे। शिक्षकहरूले समेत उनको स्वर चिनेका थिए।
'सर–म्यामहरूले तँ पछि ठूलो सिंगर हुन्छस् है भन्नुहुन्थ्यो,' केहरले सुनाए।
एकदिन 'तात्तातो खबर' युट्युबका भाग्य न्यौपाने केहरको स्कुल पुगे। र, केहरसँग अन्तर्वार्ता लिए। त्यो अन्तर्वार्ता भाइरल भयो। गाउँभरि चर्चा चल्यो।
'अन्तर्वार्ता के हो, के भन्ने केही थाहा थिएन। जब युट्युबमा आयो, झिरखिम्तीभरि हल्ला चल्यो — सबैले केटो तँ त भाइरल भइस् त भन्न थाल्नुभयो,' केहरले सम्झिए।
यसपछि उनका बुबा पनि सायद सोच्न बाध्य भए — छोराको रूचि गीतसंगीतमा छ। यसलाई अब काठमाडौं राखेर पढाउनुपर्यो।
१३ वर्षको उमेरमा कक्षा ८ पढ्न केहर काठमाडौं आए। होस्टल बसेर चाबहिलस्थित काकाको स्कुलमा भर्ना भए।
उनी आफ्नो ठाउँ र आमाबुबाको साथबाट टाढा भए। स्कुल बदलियो। साथीसंगी फेरिए। तर गीतसँगको सम्बन्ध टुटेन।
पहिले पूर्वेली गीत मात्रै सुन्ने केहर होस्टलमा साथीहरूको संगतपछि रक र पपतर्फ पनि आकर्षित भए। सुरूसुरूमा उनलाई रक, पप गुनगुनाउँदा स्वर नमिलेको जस्तो लाग्थ्यो।
'मेरो पूर्वेली टोन है,' उनले भने, 'साथीहरूले पनि तँलाई रक, पप सुहाउँदैन भन्थे।'
तर उनले गुनगुनाउन छाडेनन्। अभ्याससँगै बिस्तारै उनको स्वर फराकिलो हुँदै गयो।
'बिस्तारै बिस्तारै थाहै नपाई मेरो टोन रकतर्फ समेत गयो,' केहर भन्छन्, 'अभ्यास गर्दागर्दै त्यो परिवर्तन आफै आयो।'
आज पनि केहर आफूलाई एउटै विधामा बाँध्न चाहँदैनन्।
'मानिसहरू यो तेरो जनरा हो, यसमै लाग् भन्छन्, तर मलाई प्रयास गरिरह्यो भने हुन्छ जस्तो लाग्छ,' केहरले भने।
केहर एन्ड द लुंगा ब्यान्ड व्यवस्थापक सुमन तामाङ केहरलाई 'भर्सटायल' र सिकाइप्रति सधैं उत्सुक व्यक्ति मान्छन्।
गीतकार तथा संगीतकार समेत रहेका सुमन र केहरबीच थुप्रै गीतमा सहकार्य भइसकेको छ।
सुमनका अनुसार केहर सुरूआती दिनदेखि नै गायनप्रति निकै सक्रिय र जिज्ञासु थिए।

'सुरूका दिनदेखि नै ऊ एकदमै सक्रिय थियो। नयाँ ठाउँ पुगेपछि पनि केही न केही सिकिहाल्न खोज्थ्यो,' सुमनले सम्झिए, 'जे कुरा पनि सरल तरिकाले लिने, सिकाउँदा ध्यान दिएर सुन्ने र मज्जाले सिक्ने गर्थ्यो।'
केहर पहिल्यैदेखि सामाजिक सञ्जालमा चर्चित भए पनि गायकका रूपमा छोटो समयमै यति रूचाइन्छन् भन्ने अपेक्षा सुमनलाई थिएन।
'ब्यान्डसँग काम गर्ने विषयमा मैले साथ दिएको हुँ। केहर आफैमा भर्सटायल छ। उसले पूर्वेली राम्रोसँग गाउँछ, ब्यालेड फ्युजन गरेर प्रस्तुत गर्छ। नेपथ्यको संगीत मन पराउँछ। फोक (लोक) स्वाद पनि आउँछ,' सुमनले भने।
यी सबै शैली संयोजन गर्दा केहरको संगीतमा एकखाले 'युनिकनेस' पाइन्छ। त्यसैले पनि श्रोता–दर्शकले रूचाएको हुन सक्ने सुमन बताउँछन्।
केहर आफै पनि आफ्नो यहाँसम्मको यात्रालाई नसोचेको अनुभवका रूपमा लिन्छन्।
'घरीघरी सोच्छु, म कहाँ थिएँ,' उनले भने, 'यो सबै श्रोता–दर्शकको मायाले सम्भव भएको हो। एकदमै खुसी लाग्छ।'
यही माया र समर्थनले उनलाई ऊर्जा मिल्छ।
अब केहर एन्ड द लुंगा ब्यान्डको नयाँ गीत छिट्टै आउँदैछ — खेरै जाने।
यसलाई पनि श्रोता–दर्शकले 'खेर जान' नदिने विश्वास उनको छ।
आजको पुस्ता छिटो बदलिन्छ, छिटो ट्रेन्ड बनाउँछ, छिटो नयाँ स्वर खोज्छ। केहर सिंह लिम्बू भने ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै पहिचान निर्माणतर्फ केन्द्रित छन्।
नेपाली संगीत आकाशमा अझ माथि सरर उडिरहन लागिपरेका केहरले सेतोपाटीसँगको भिडिओ कुराकानी पनि गरेका छन्।
सो क्रममा उनले आफूलाई सुरूदेखि साथ दिने व्यक्तिहरूलाई सम्झिएका छन्। केही आफ्ना रमाइला किस्साहरू सुनाएका छन्। साथै, संगीत यात्राका उतार–चढावका अनुभवहरू साझा गरेका छन्। संगीतबाहेक अरू के के कुरामा रूचि छ, त्यो पनि बताएका छन्।
हेर्नुहोस् केहरसँगको कुराकानीको भिडिओ: