एउटै अनुहार सातामा १२ वटा फरक फरक सिरियलमा देखिन्छ। हरेक सिरियलमा भूमिका फरक हुन्छ, तर व्यक्ति एउटै।
नेपाली सिरियलका नियमित दर्शकले यो अनुहार पक्कै चिन्छन्!
उनी हुन् कलाकार विनोद श्रेष्ठ।
विनोद सातामा १२ वटा सिरियलमा देखिन्छन् भन्दा धेरैलाई आश्चर्य पनि लाग्न सक्छ। कुनै समय म्युजिक भिडिओ मोडलका रूपमा स्थापित विनोद अहिले सिरियलका सबभन्दा व्यस्त कलाकारमध्ये एक हुन्।
दिनमै लाखौं भ्युज पाउने सिरियल 'भुन्टी' मा विनोद नियमित देखिन्छन्। र, दर्शकहरूले अत्यधिक रूचाएका पनि छन्।
यसबाहेक 'जुठे', 'सकस', 'टुहुरी', 'पुस्ता' लगायत सिरियलमा उनको नियमित अभिनय छ। त्यस्तै, 'तुलसा', 'जीवनरेखा', 'सौता', 'दाइजो', 'कमला', 'गाह्रो छ जिन्दगी', 'साइनो' लगायतमा दर्शकले विनोदलाई देख्दै आएका छन्।
यति मात्र होइन, म्युजिक भिडिओमा पनि विनोद सक्रिय नै छन्।
एउटा कलाकार यति धेरै व्यस्त हुनु सामान्य होइन। अवसर पाउनु ठूलो कुरा छँदैछ, त्योभन्दा धेरै चुनौती समय व्यवस्थापनको हुन्छ।
विनोदले कसरी मिलाइरहेका छन् त?
'सिरियलको तीन–चार भागको स्क्रिप्ट पहिल्यै तयार हुन्छ। सहज बनाउन एकसाथ तीन–चार भाग छायांकन गरिन्छ,' विनोदले भने, 'त्यसमा मेरो पात्रको सिन कति छ, सह–कलाकारसँगको कति छ, मिलाएर छिटो सक्ने गरी व्यवस्थापन गरिन्छ। यसरी एकै दिनमा तीन भागसम्मको पनि काम हुन्छ।'
सिरियल अनुसार विनोदले निर्वाह गर्ने पात्रको नामसँगै स्वभाव र प्रस्तुति पनि बदलिन्छ। अघिल्लो दिन निर्वाह गरेको भूमिकाबाट भोलिपल्ट फरक भूमिकामा ढल्किनुपर्छ। कहिलेकाहीँ त दिनमै एउटा, रातमा अर्को सिरियलमा अभिनय गर्नुपर्छ।
यस्तो चुनौतीमा विनोद कसरी तयारी गर्छन्?

'म के गर्छु भने, भोलि जुन सिरियलको छायांकनमा जानु छ त्यसको पछिल्लो भाग युट्युबमा हेर्छु। कथावस्तु कहाँसम्म पुगेको छ, मेरो पात्र कसरी अगाडि बढिरहेको छ भन्ने हेरेर अर्को दिन बिहान त्यही अनुसार तयार हुन्छु,' उनले भने।
विनोद अहिले मात्र व्यस्त भएका होइनन्, २०६१ सालपछि म्युजिक भिडिओमा पनि यसरी नै काम गरिरहेका थिए। कतिसम्म भने, एकै दिन तीन वटासम्म म्युजिक भिडिओमा मोडलिङ गरे।
'छुट्ने कुरा नगर है सानु', 'आत्मासँग कसरी छुटूँ म', 'रून्छ नि मन किन रूँदैन' जस्ता खासगरी प्रेम–विरहका गीतमा उनी औधि रूचाइएका कलाकार थिए।
विनोदका अनुसार उनले ६ सय वटाभन्दा बढी म्युजिक भिडिओमा मोडलिङ गरे।
२०६५ सालतिरबाट भने उनले मोडलिङमा सक्रियता घटाए।
'त्यस बेला यो क्षेत्रको माहोल बदलियो। पुराना पुरूष मोडल र नयाँ महिला मोडल राख्ने, लगानीकर्ताले आफै कलाकार ल्याउने चलन बढ्यो। जहाँ जोडी नै मिल्दैन, त्यस्तो अवस्थामा काम गर्दा छवि नै बिग्रिन्छ भन्ने लाग्यो। राम्रो पैसा हेरेर मात्र भएन। त्यसैले मोडलिङमा सक्रियता कम गरेँ,' उनले भने।
यसरी दुरी बढाएपछि बिस्तारै उनलाई प्रस्ताव पनि कम आउन थाल्यो। लगानीकर्ताहरूले भने अनुसार काम गरेको भए अवस्था फरक हुन्थ्यो कि भन्ने पनि उनलाई लाग्छ।
'त्यसरी काम नगर्दा कति लगानीकर्ताहरूलाई मन परेन होला। विनोद स्टार भयो भन्ने पनि सोचे होलान्। त्यसैले कतिपयले कामको प्रस्ताव नै कम गरे,' उनले भने।
उसो त विनोद म्युजिक भिडिओबाट चर्चामा आउनुअघि नै नाटक, टेलिसिरियल र केही फिल्ममा देखिइसकेका थिए।
बाल्यकालदेखि नै अभिनयमा रूचि राख्ने विनोद काभ्रेको धुलिखेलमा जन्मिएका हुन्। उनका बुबा व्यापारी थिए। व्यापारको सिलसिलामा बुबा सर्लाही पुगेपछि विनोदको पाँच वर्षपछिको हुर्काइ उतै भयो।त्यहीँबाट एसएलसी (एसइई सरह) दिए।
उनी स्कुलका कार्यक्रममा नाच्थे, नाटकमा अभिनय गर्थे।
अभिनयमा उनको रूचि देखेर आमा भने चिन्तित हुन्थिन्। कला क्षेत्रमा चिनेजानेको कोही नभएकाले कसरी अवसर पाउँछन् भन्ने आमाको चासो थियो।
'तर मभित्र कलाकार बन्ने, टेलिभिजनमा देखिने र नाम कमाउने चाहना बलियो थियो,' विनोदले भने।
छिमेकी दाइहरूको प्रोत्साहनपछि उनी कलाकारिताको सपना पछ्याउँदै २०५४ सालमा काठमाडौं आए।
आमाले भनेजस्तै काठमाडौं र कला क्षेत्र दुवैमा चिनजानको कोही थिएन, आफन्त पनि थिएनन्। आफै खोजखाज गरे र नृत्य सिक्न थाले। सांस्कृतिक संस्थानमा अभिनय सिके। त्यतैबाट उनले कामको अवसर पाए।
बिस्तारै नाटक, म्युजिक भिडिओ, टेलिसिरियलमा काम गरे।
अभिनयमा उनको 'टर्निङ प्वाइन्ट' भने २०६० सालतिर नेपाल टेलिभिजनमा प्रसारण भएको सिरियल 'थोरै भए पुगिसरी' टेलिशृंखला भयो। ३१ भागसम्म प्रसारण भएको यो सिरियलमा उनको भूमिका दर्शकले निकै रूचाए।
उनी म्युजिक भिडिओमा सक्रिय भए। पछि 'जीवन–चक्र' सिरियलको ५२ भागसम्म अभिनय गरे। 'तितो सत्य' र 'यातना' जस्ता सिरियलमा 'गेस्ट रोल' मा पनि देखिए।
विनोदले 'लडाइँको लाहुरे', 'बेरोजगार', 'तहल्का डटकम', 'लुकीलुकी', 'कीर्तिपुर', 'रमिता', 'जन्मभूमि' लगायत फिल्ममा पनि अभिनय गरेका छन्।
पछिल्लो समय भने उनी सिरियलमा व्यस्त भएका हुन्।
यो व्यस्तता २०७७ सालतिरबाट सुरू भएको हो।

'टुहुरी' मार्फत सिरियलमा पुनः देखिँदा उनलाई दर्शकले सकारात्मक रूपमा स्वीकार गरे। यसै क्रममा उनले 'कान्छी' सिरियलको केही भागमा अभिनय गरे। त्यसपछि सिरियलका प्रस्ताव थपिँदै गए। उनी क्रमशः 'सौता', 'जुठे', 'भुन्टी' आदिमा देखिए।
कुनै समय गीतसँगै सम्झिइने विनोदलाई दर्शकले सिरियलको पात्रमार्फत फेरि चिन्न थाले।
'दर्शकले मलाई कतै भेट्दा मेरो वास्तविक नामले भन्दा पनि निर्वाह गरेको पात्रका रूपमा चिन्छन्,' विनोदले भने, 'कसैले भुन्टी सिरियलको भूपेन्द्र भन्छन् त कसैले सकस सिरियलको शिव। कलाकार हो, राम्रो अभिनय गर्नुहुन्छ भनेको पनि सुन्छु। यस्तोमा खुसी र गर्व दुवै लाग्छ।'
सिरियल सकसका निर्देशक राजु पौडेल विनोदलाई कलाकारिता बुझेको सरल र शालीन व्यक्तिका रूपमा चिन्छन्।
समयमै सेटमा पुग्ने, स्क्रिप्ट बुझेर अभिनय गर्ने र सबैसँग मिल्ने क्षमताका कारण विनोद सिरियल निर्माताको रोजाइमा परेको राजुको बुझाइ छ। कलाकारिता र सहज व्यक्तित्वले पनि सिरियलमा प्रभाव पार्ने उनी बताउँछन्।
आफ्नो सिरियलमा विनोदलाई लिनुको कारणबारे राजुले भने, 'उहाँ सबैलाई सम्मान गर्ने, कलाकारिता बुझेको व्यक्ति हुनुहुन्छ। समयको एकदमै ख्याल गर्नुहुन्छ। समयमा काम गर्ने मान्छे हुँदा सहज हुन्छ।'
अभिनयलाई कतिपयले सहज र रमाइलो कुरा माने पनि यो धेरै गाह्रो काम भएको विनोद बताउँछन्। त्यसैले अभिनयमा रहरले मात्र होइन, आवश्यक तालिम, तयारी गरेर आउन उनी सुझाव दिन्छन्।
आगामी दिनमा सिरियलसँगै म्युजिक भिडिओको कामलाई पनि निरन्तरता दिने उनको योजना छ।
'म्युजिक भिडिओमा देखिँदा होस् वा सिरियलमा, दर्शकले मलाई जसरी मूल्यांकन गरे पनि गर्व लाग्छ। समय र माध्यम फेरिए पनि दर्शकले रूचाइरहनु कलाकारका लागि सबभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ,' विनोदले भने।

सबै तस्बिर सौजन्यः विनोद श्रेष्ठ