लोकगायक अर्जुन सापकोटाले पार्श्वगायनमा डेब्यु गरेका छन्। कमेडी दरबार टिमको फिल्म 'ककाकिकी'को शीर्ष गीतमा स्वर दिँदै अर्जुनले पार्श्वगायन यात्रा सुरू गरेका हुन्।
पछिल्लो समय 'झलिको' गीतबाट थप चर्चा कमाएका अर्जन 'द भ्वाइस किड्स ५'का कोचसमेत हुन्।
उनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन र मेलिना राईले स्वर दिएका छन्। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। यसको भिडिओको छायांकनसमेत भइसकेको फिल्मका निर्देशक बिक्की अग्रवालले बताए। जर्सिङ पौवामा छायांकन गरिएको भिडिओ फिल्मको कथाअनुसार गाउँमा भइरहेको उत्सव (सेलिब्रेशन)को दृश्यमा समावेश हुनेछ।
भिडिओमा फिल्मका कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत फिचर्ड छन्।
भिडिओमा गायक अर्जुनले पनि नृत्य गरेका छन्। उनीसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काको समेत नृत्य रहेको निर्माण टिमले जनाएको छ। भिडिओको कोरियोग्राफी मिग्मा डी लेप्चाले गरेका हुन्।
पार्श्वगायनमा डेब्यु गर्दा आफू उत्साहित रहेको अर्जुनले बताए।
उनले लोकदोहोरी र फिल्मका गीतबीच मूलतः भाव र दर्शकको सम्बन्ध एउटै हुने उल्लेख गर्दै ठूलो टिमसँग काम गर्नु नयाँ र रमाइलो अनुभव भएको सुनाए।
'फिल्मको गीत भन्नेबित्तिकै सबै कुरा अर्कै हुन्छ भन्ने रहेनछ। दर्शक पनि उही हुन्, मेहनत पनि उस्तै गर्नुपर्छ। 'ककाकिकी'को शीर्ष गीत रमाइलो र डान्सिङ शैलीको छ, जुन मेरो लोक शैलीसँग पनि मिल्छ,' उनले भने 'ठूलो टिमसँग काम गर्दाको अनुभव चाहिँ विशेष रह्यो। गीतमा आफैं पनि देखिएको छु। त्यसमाथि अग्रज कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा झनै रमाइलो लाग्यो।'
दर्शकले गीत मन पराउने विश्वास रहेको उनले बताए।
निर्देशक विक्की अग्रवालका अनुसार फिल्मको यतिबेला पोस्ट-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। शीर्ष गीत केही दिनभित्रै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
'ककाकिकी'मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरूङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारहरूको समेत अभिनय छ।
फिल्मको डीओपी सुदिप बराल हुन्। पटकथा निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको 'ककाकिकी' भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ।
