गायक अमृत गुरूङले बालबालिकालाई आफ्नो भूगोल र प्रकृतिबारे जानकारी गराउन शिक्षकहरूलाई आग्रह गरेका छन्।
स्याङ्जाको हुनीकोट डाँडाबाट देखिने हिमालको प्रसंग सुनाउँदै उनले बालबालिकालाई आफू जन्मेहुर्केको ठाउँका हिमालसमेत चिनाउनुपर्ने बताएका हुन्।
शनिबार हुनीकोट डाँडा उक्लिएका अमृतले त्यहाँबाट पश्चिमको धौलागिरिदेखि पूर्वको मनास्लुसम्मका हिमशृंखला देखेका थिए। त्यस क्रममा बाटोमा भेटिएका बालबालिकालाई उनले हिमालहरूको नाम सोधेका थिए। तर, माछापुच्छ्रेबाहेक अन्य हिमालको नाम उनीहरूले बताउन सकेनन्।
आइतबार साँझ आयोजित नेपथ्यको कन्सर्टमा यही प्रसंग सुनाउँदै अमृतले भने, 'जुन हिमालको काखमा जन्मेर हुर्कंदै छन्, तिनलाई पनि चिनेनन् भने हाम्रा भावी सन्ततिले पाएको शिक्षा अधुरो हुन्छ।'
उनले उपस्थित शिक्षकहरूलाई बालबालिकालाई आफ्नो प्रकृति र भूगोलबारे जानकारी दिन नछुटाउन आग्रह गरे। उनको आग्रहलाई दर्शकले लामो ताली बजाएर समर्थन गरेका थिए।
देश, पहिचान, भाषा र संस्कृतिको महत्त्वबारे सन्देश दिँदै नेपथ्यले स्याङ्जाको पुतलीबजारमा पहिलोपटक कन्सर्ट गरेको हो। यसपटकको नेपाल यात्रामा ग्रामीण तथा मझौला सहरलाई प्राथमिकता दिएको ब्यान्डको यो प्रस्तुति दर्शकको उल्लेख्य उपस्थितिबीच सम्पन्न भएको थियो।
कन्सर्टमा सहभागी स्थानीयले पनि कार्यक्रमले पुतलीबजारको पहिचान स्थापित गर्न सहयोग पुगेको बताएका छन्। स्थानीय होटल सञ्चालक निश्चल लम्सालले नेपथ्यको कन्सर्ट हेर्न ठूलो संख्यामा दर्शक पुतलीबजार आउनु यस ठाउँका लागि खुसीको विषय भएको बताए।
'नेपथ्य कन्सर्टकै निम्ति यति धेरै दर्शक पुतलीबजार आइपुग्दा हाम्रो ठाउँको पहिचान पनि स्थापित हुन पुगेको छ,' उनले भने, 'यो पहिचानसँगै अब हामीले यस ठाउँलाई विभिन्न आयोजनाको थलो बनाउने अठोट लिएका छौं।'
स्थानीय चिकित्सक वसन्त पंगेनी पनि परिवारसहित कन्सर्टमा सहभागी थिए। उनले स्थानीयस्तरमा यति भव्य र व्यवस्थित लाइभ कन्सर्ट आयोजना भएकामा खुसी व्यक्त गरे। 'संगीतले मन जोडेको छ, सम्झनाले जीवन सुन्दर बनाउनेछ,' उनले भने।
त्यस्तै, कन्सर्ट हेर्न छ जना साथीसहित पुगेकी बीबीएस चौथो वर्षकी छात्रा नानु श्रेष्ठले दर्शकको ठूलो उपस्थिति र व्यवस्थापनको प्रशंसा गरिन्। विशेषगरी महिला दर्शकका लागि छुट्टै बक्सको व्यवस्था र सुरक्षामा गरिएको ध्यानले आफूलाई प्रभावित बनाएको उनले बताइन्।
भारतीय सेनामा कार्यरत विजय गुरूङ पनि बिदामा घर आएका बेला नेपथ्यको कन्सर्ट हेर्न पाउँदा खुसी थिए। उनले लामो समयदेखि नेपथ्यको प्रस्तुति हेर्ने चाहना यसपटक पूरा भएको बताए।
हुनीकोटमा पहिलोपटक होमस्टे सञ्चालन गर्ने जमन गुरूङको परिवारले पनि कन्सर्टबाट यस क्षेत्रको पर्यटन र पहिचानमा सहयोग पुग्ने अपेक्षा गरेको छ। परिवारको तेस्रो पुस्ताले अहिले होमस्टे सञ्चालन गरिरहेको छ। कन्सर्टका कारण धेरैले हुनीकोटबारे जानकारी पाएको र अमृतले स्वदेश घुम्न दिएको सन्देशले आफूहरूजस्ता पर्यटन व्यवसायीलाई उत्साहित बनाएको जमनले बताए।
कन्सर्ट आयोजना गरेको स्थानीय संस्था स्याङ्जा युथ क्लबले पनि कार्यक्रम सफल भएकामा खुसी व्यक्त गरेको छ। क्लबका अध्यक्ष बाबु थापाले कन्सर्टले पुतलीबजारलाई गौरव गर्ने अवसर दिएको र आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्न प्रेरणा मिलेको बताए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
नेपथ्यको यसपटकको नेपाल यात्राअन्तर्गत अब म्याग्दीको बेनीबजारमा कन्सर्ट हुनेछ। त्यहाँको खुलामञ्चमा प्रस्तुति दिएपछि ब्यान्ड तनहुँको बेलचौतारा पुग्नेछ। बेलचौताराको कन्सर्ट यसपटकको नेपाल यात्राको अन्तिम प्रस्तुति हुनेछ।
नेपाल यात्रा सकिएलगत्तै ब्यान्ड अस्ट्रेलिया भ्रमणमा निस्कनेछ। डिसेम्बरको पहिलो सातादेखि सुरू हुने भ्रमणअन्तर्गत एडिलेड, सिड्नी, पर्थ र मेलबर्नमा कन्सर्ट गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ।
ती कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ।


