एक महिनाअघि सार्वजनिक गीत 'फुल्यो फूल भिरैमा'ले युट्युबमा राम्रो दर्शक पाएको छ। समीक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर रहेको गीतले सार्वजनिक भएको एक महिनामै युट्युबमा २३ लाखभन्दा बढी भ्युज पाएको हो।
गीत टिकटक लगायतका प्लेटफर्ममा समेत लोकप्रिय बनेको छ। गीतमा ७० हजारभन्दा बढी टिकटक भिडिओ बनेका छन्।
भिडिओमा गायक अर्जुन सापकोटा स्वयं र मोडल जुना विश्वकर्मा फिचर्ड छन्।
'फुल्यो फूल भिरैमा' विन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलमा पछिल्ला वर्ष सार्वजनिक गीतमध्ये सर्वाधिक हेरिएको गीत बनेको छ। नारायण ज्ञवालीको शब्द रहेको गीतमा श्रीधर अधिकारीको संगीत छ। एचबीएन किस्मतले एरेन्ज तथा मिक्सिङ-मास्टरिङ गरेका छन्।
प्रेमिल भाव बोकेको गीतमा प्रेमिकाको सुन्दरतालाई जूनको उज्यालो र फूलसँग तुलना गर्दै मायाको अभिव्यक्ति गरिएको छ।
संगीतकार श्रीधर अधिकारी गीतको सफलतामा शब्द र संगीतसँगै भिडिओ तथा कलाकारको प्रस्तुतिको पनि भूमिका रहने बताउँछन्।
'गीत राम्रो भएर मात्रै हुँदैन, त्यसलाई भिडिओमा पनि राम्रोसँग प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ। गायनदेखि भिडिओ र कलाकारको प्रस्तुतिसम्म सबै पक्ष मिलेर नै गीत राम्रो बन्ने हो। यसपटक सबै कुरा राम्रोसँग मिल्यो जस्तो लाग्छ। श्रोता-दर्शकले पनि मन पराइदिनुभयो। संगीतकारका रूपमा खुसी छु,' अधिकारीले भने।
भिडिओ बुद्ध थापाले छायांकन गरेका हुन्। विशाल घिमिरेको निर्देशन रहेको भिडिओमा मुकेश नेपालीको कोरियोग्राफी छ। अमृत चापागाईंले सम्पादन तथा कलर गरेका हुन्।
भिडिओः