(गत असारमा शिक्षकको कुटाइबाट घाइते भएपछि मृत्यु भएका विद्यार्थी माधव कलौनीको सम्झनामा लेखिएको)
प्रिय शिक्षक,
यो चिठी म आक्रोशमा आएर लेखिरहेको छुइनँ, न कुनै भावनामा डुबेर लेखिरहेको छु। म त अनिश्चितताको भुलभुलैयामा बसेर लेखिरहेको छु।
म अहिले जुन अनिश्चिततामा छु, त्यहाँ यी प्रेम, घृणा, आक्रोश, प्रशंसा, आवेग, संवेग, रोदन, हाँसो जस्ता कुनै भावनात्मक कुरा छैनन्। तर पनि सकेसम्म पूर्ण प्रेम र श्रद्धाले यो चिठी लेखिरहेको छु। असीम सम्मान र आस्थासहित। यो चिठीमा हजुरप्रति कुनै प्रतिरोध र द्वेष भावना रोखेको छैन।
मलाई चिन्नु त भयो नि, म त्यही कन्चनपुर भीमदत्त नगरपालिका– १७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा पढिरहेको छात्र, माधव कलौनी।
तपाईं यो विद्यालयमा पढाउनुहुन्थ्यो, मेरा शिक्षक हुनुहुन्थ्यो।
अझै सम्झिनुभएन, म त्यही माधव जसलाई तपाईंले गत असार १३ गते स्कुलमै कुटेर घाइते बनाउनुभएको थियो।
तपाईंले दिएका चोट यति गहिरा थिए, मलाई उपचारका निम्ति भारतको भोजिपुरा अस्पताल लगियो।
तर तपाईंको कुटाइ त ज्यानमारा नै रहेछ शिक्षक, अस्पतालले मेरो भौतिक शरीर बचाउन सकेन। तपाईंले घाइते बनाएको मेरो कलिलो शरीर फेरि उभिन सकेन। सास फेर्न सकेन।
मेरो भौतिक शरीरले अकालमा जल्नुपर्यो। तपाईंले मलाई मारिदिनुभयो। तपाईंको रिसले मलाई मारिदियो।
मेरो प्रिय सर,
तपाईंका मुक्का, धक्का र चड्कनहरूले थिचेको शरीर मरेपछि नै म यो अनिश्चितताको लोक पुगेको हुँ। यहाँको ठेगाना छैन। यहाँ पुग्नसक्ने बाटोको नक्सा गुगल म्यापमा पनि छैन। कहीँकतै छैन।
यो चिठी पढ्न तपाईंलाई डर लाग्नसक्छ। डर लागिरहेको पनि होला। अहिले त संसारको आँखामा हत्यारा पनि भइसक्नुभयो होला। मानिसहरूका घृणाको पात्र बनिसक्नुभयो होला। मेरा बा र मेरी आमाले तपाईंलाई लाखौं गाली गर्नुभयो होला। मलाई माया गर्ने साथीहरू र मेरा शुभेच्छुकहरूले श्राप पनि दिए होलान्।
‘मेरो छोरा फर्काइदे,’ मेरी आमाले कयौं नदीको आँसु बगाएर बिन्ती गर्नुभयो होला। अहिले पनि गरिरहनुभएको होला।
तर मेरो शिक्षक,
तपाईं ढुक्क हुनुहोस्, तपाईंप्रति मसँग अब कुनै गुनासा छैनन्।
अब मैले यहाँ अनिश्चिततामा बसेर तपाईंप्रति रिस, घृणा गर्नुको कुनै तुक छैन। कुनै अर्थ छैन।
मलाई अस्पतालले विसेक बनाइदिएको भए म सबैलाई भन्ने थिएँ, ‘मेरो प्रिय सरलाई कसैले पनि गाली नगर्नुस्। हत्यारा र तानाशाही शिक्षक नभन्नुस्। मेरो सरले मलाई आजसम्म पढाएर यत्तिको बनाइदिनुभयो। मेरा प्रिय र आदरणीय गुरूलाई कसैले नीच र राक्षस नभनिदिनुस्।’
सर, यो असमर्थताका निम्ति म क्षमाप्रार्थी छु।
यहाँ म एक्लो छैन। हजुरजस्तै सरमिसका कुटाइले घाइते भएर अन्ततः पृथ्वीलोक छाडेका केयौं अवोध केटाकेटी छन्। तिनीहरू सबैको अनुहार मसँग मिल्छ। तिनीहरू सबैको मृत्युको कारण मसँग मिल्छन्। हामी सबैको उमेर लगभग एकै छ।
हामी सबैलाई हाम्रा शिक्षकशिक्षिकाले गृहकार्य नगरेको, घोकेर नआएको, पुस्तक र कापी नल्याएको, कक्षा कोठामा बसेर साथीसँग गफ गरेको, चकचक गरेको, नेपाली बोलेको, कक्षा कोठामा पढाइरहेका बेला ब्यागबाट टिफिन निकालेर खाएको, कपाल नकाटेको, नङ नकाटेको, फोहोर स्कुल ड्रेस लगाएर आएको, फिस नतिरेको, परीक्षामा राम्रो अंक नल्याएको, अनुशासित नभएको आदि कारणले बेस्सरी कुटेका थिए।
यस्तै कारण देखाएर दण्ड दिएका थिए। हातखुट्टा भाँचिदिएका थिए। आँखा सुन्नाइदिएका थिए। टन्टलापुर घाममा दिनभरि कान समातेर बीच स्कुलमा उभ्याइदिएका थिए। विद्यालय प्रांगणमा हजारौंपटक उठबस गराएका थिए। कुखुरा बनाइदिएका थिए। रगत नै निस्किनेगरी चिमोटेका थिए। सिसाकलमले हातका औंला बटारिदिएका थिए। लठ्ठीले अन्धाधुन्ध पिटेका थिए। गालामा झापडको वर्षा गराइदिएर थला पारिदिएका थिए।
केही दिनअघि रुपन्देही सम्मरीमाई गाउँपालिका– ६ मार्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ पढिरहेको मजस्तै बालक मोहम्मद देवानलाई तपाईंजस्तै सरले कापी नल्याएको निहुँमा लठ्ठीले हानेर आँखा नै सुन्नाइदिए।
पाँच कक्षा पढ्ने मोहम्मद अबोध छ, जसलाई संसारका नियम र सिद्धान्त थाहा छैन। ऊ एक स्वतन्त्र पंक्षी हो, हामीजस्तै। उसलाई पिट्ने ती सरका पनि त मोहम्मदजस्तै छोराछोरी होलान्। उनीहरू पनि चकचक गर्दा हुन्, छिनमै भुल्दा हुन्।
मेरा प्रिय गुरु,
तपाईंका पनि मजस्तै छोराछोरी होलान्, के तपाईं उनीहरूलाई पनि मलाई जस्तै कुट्न सक्नुहुन्छ? घाइते बनाएर अस्पताल जानपर्ने बनाउन सक्नुहुन्छ। मलाई तड्पाइतड्पाइ मारेजस्तै आफ्नै हातले मार्न सक्नुहुन्छ?
हेर्नु न, अब मेरो साथी मोहम्मद देवानलाई स्कुल जान डर लाग्छ। उसलाई सर र मिस नामदेखि नै डर लाग्न थालिसकेको छ। उसलाई स्कुल जेलसरह लाग्छ। र, स्कुलमा सरमिस तानाशाही शासक र पीडकझैं। अब ऊ स्कुल गएर पढ्न चाहँदैन। उसलाई शिक्षा, विद्यालय, शिक्षकशिक्षिका सबैसबैसँग बहुत डर लाग्छ।
ज्यानै जान लिन सक्ने तपाईंहरू भएको स्कुल पढ्न हामी कसरी आउनू? तपाईंहरू हामीलाई भविष्यको सपना देखाउँदै डोर्याउनुपर्ने मान्छे, भविष्यै नदेखाई सकाइदिने कसरी हुनुभयो?
सर, तपाईंलाई मेरो सम्झनासँग डर लाग्छ कि लाग्दैन? मेरो आत्मासँग डर लाग्छ कि लाग्दैन? आफ्ना विद्यार्थीसँग बहुत डर लाग्छ कि लाग्दैन?
तर सर चिन्ता नलिनुहोस्, हामीसँग डराउनुपर्दैन। हामीले तपाईंको क्रुरता र निरंकुशता कयौंपटक देखे र भोगे पनि हामी केटाकेटी त्यस्ता छैनौं। कदापी हुने पनि छैनौं।
फेरि मैले यो चिठीको सुरूमै भनिसकेको छु, यो अनिश्चितताको लोकमा केही भावना छैनन्। स्कुल भने छन्, तर जेलजस्ता होइनन्। पृथ्वीका हाम्रा प्रिय घरहरूजस्तै छन्।
हामी संसारका सरमिसले पिटेर घाइते बनाइदिएर मृत भएका सबै बालबालिका यही घरजस्तै स्कुलमा पढ्छौं। यहाँ नाफाघाटा, सानोठूलो, धनीगरिब, जान्ने–नजान्ने, राम्रो–नराम्रो केही छैन। सरमिस क्रुर शासक र राक्षसजस्ता छैनन्। यहाँका सरमिस हाम्रै आमाबाजस्तै हुनुहुन्छ।
उहाँहरू माया, स्नेह र अपनत्वका साथ सबैलाई ममताको सागरमा डुबाउँदै प्रेम, सकारात्मकता र पारस्परिकताका अद्भूत र पावन पाठ पढाउनुहुन्छ।
शिक्षकशिक्षिकाको हातमा लठ्ठी वा कुट्ने शस्त्र हुँदैन। कुट्ने लठ्ठीजस्ता कुराको अस्तित्वै छैन। उहाँहरू मायाका फूल बोकेर स्कुलमा हामीमाझ आउनुहुन्छ। माया गरिरहनुहुन्छ।
यो लोकमा साना लालाबालालाई पिट्ने, कुट्ने, दण्ड दिन निषेध छ। विद्यार्थीले केही बिगार गरे उनीहरूलाई अझ धेरै माया दिएर प्रेमपूर्वक सम्झाइन्छ।
हामी यहाँ बहुत रमाएका छौं।
संसारका स्कुलमा केवल घृणा र क्रुरता थियो, यहाँ केवल माया र स्नेह छ। त्यहाँका विद्यालय झ्यालखाना हुन्, यहाँका मन्दिर हुन्।
मलाई यहाँसम्म ल्याउने मेरा प्रिय सर,
तपाईं पनि अबदेखि यहाँका बाजस्तै सर बनिदिनुहोला। अन्य सरमिस पनि यहाँका बाआमाजस्तै सरमिस बनिदिऊन्। पृथ्वीको मेरो स्कुल बच्चा मार्ने थलो नभएर यहाँको मन्दिरजस्तै स्कुल बनोस्। सम्पूर्ण महोम्मद देवानहरूलाई असीम मायाको अँगालोमा बेरियोस्।
मेरो देशका कुनै स्कुल जेलजस्तो नहोस्। कोही शिक्षक अत्याचारी र दमनकारी नहोओस्। विद्यार्थीलाई समान प्रेम गरून्। उनीहरूलाई कक्षा कोठामा स्वतन्त्र बोल्न दिइयोस्। चकचक गर्न दिइयोस्। कुनै किसिमको विभेद र व्यविचारको पर्खाल स्कुलमा नलागोस्। बालबालिकाले संसारमा खुसीसाथ बाँच्न पाऊन्।
मेरा प्रिय गुरु र सबै शिक्षकशिक्षिकालाई यति दुरबाट यही शुभकामना, तपाईंहरूको रिसमा अरू कसैले ज्यान गुमाउनु नपरोस्!
तपाईंको उही चकचके विद्यार्थी,
स्व. माधव कलौनी