पैयूँ राज्यका अन्तिम राजा थिए खड्गसिंह सेन। उनको वर्षे शासन पैयूँकोटमा रहेको दरबारबाट सञ्चालन हुन्थ्यो त हिउँदे शासन तल सेतीखोलाको किनारनेर रहेको फूलबारी दरबारबाट। हरेक वर्ष चैतदेखि कात्तिकसम्म राजकाज पैयूँ दरबारबाट हुन्थ्यो त बाँकी महिना फूलबारी दरबारबाट। त्यो फूलबारी दरबारको नजिकै थियो राज्यको बारुदखाना, जसको सम्पूर्ण प्रबन्ध गर्ने जिम्मा खड्गसिंह सेनका भाइ नायब साहेब भनिने अकबरसिंह सेनलाई थियो।
विसं १८३७ को कात्तिकको महिना। दरबार बेसी झर्ने महिना भए पनि ज्योतिषीले त्यो वर्षको साइत अझै निकालिसकेका थिएनन्। शुक्रको प्रभाव कमजोर भएको बेला भनेर ज्योतिषी कुलानन्द रिज्यालले मंसिरको तेस्रो हप्ता मात्रै दरबार बेसी झर्ने साइत निकालेका थिए।
त्यो दिन दरबारमा कचहरि बस्ने पालो थियो। चिन्निखर्कका मुखिया लालध्वज चितौरेले राजाको आदेशबिना कुत छुट दिएको भनेर दरबारमा कसैले उजुरी गरेको थियो। त्यही उजुरीको कचहरिका लागि राजाले सबै चारपाला मुखिया र भारदारहरूलाई बोलाएका थिए।
राजा खड्गसिंह सेन कालिका भगवतीको पूजा गरेर फर्कँदै थिए। पुजारीले कालीको पूजा गर्नुभन्दा पहिले आफूले नित्य पूजा गर्थे। नायब साहेब बारुदखानाको निरीक्षणका लागि बेसी झर्ने तरखर मिलाउँदै थिए। दरबारको पटाङ्गिनीमा घाम मस्तसँग खेलिरहेको थियो। कालीको मन्दिरमा पुजारी नित्यानन्द रिज्यालले पूजा चलाइरहेका थिए। रानी गुर्धुमपोखरीको छेउको चउरमा परेवालाई चारो दिँदै थिइन्।
त्यही बेला कुवापानीबाट तामाको गाग्रीमा पानी बोकेर आएकी बाहुनी नैनकलाले रानीलाई सुनाइन्– ‘रानी साहेब! कुवापानी छेउको पोखरीमा एउटा बाघ घाइते भएर पल्टिएको छ। पोखरीको पानीमा अलिअलि रगत पनि छ।’ यति भनेर उनी कोखिल्लाको गाग्री च्यापेरै दरबारभित्र छिरिन्। रानीको मुहार एक्कासि मुहारियो।
कालीको पूजा गरेर फर्केका राजाले रानीलाई टीका लगाइदिए। रानीले शिर नुहाएर राजाका गोडामा ढोग गरिन्। अलि बिस्तारै उठेर भनिन्– ‘सपना साँच्चै रहेछ। कुवापानीको पोखरीमा एउटा बाघ घाइते भएर पल्टिएको छ रे।’
राजाले बिहान ब्युँझिनासाथ रानीले सुनाएको सपना सम्झिए। अनि आफूले पानी खाने पँधेराछेउमै बाघ घाइते भएको भन्ने समाचारले मुहार उदास बनाए। कुनै अनिष्टको संकेत पो हो कि भन्ने मनमनै लख काटे। अनि फेरि रानीलाई जिज्ञासा राखे– कतै दसैँको अष्टमीको राति आकाशबाट झरेको आगोको लप्काले हानेकै बाघ त होइन त्यो?
रानीलाई पो के थाहा र, अनजान आँखाले पूर्वतिरको आकाशतिर हेरिरहिन्।
राजा रानी दुवै जना दरबारभित्र पसे। बेसी झर्ने तरखरमा लागेका भाइ अकबरसिंह सेनलाई राजाले टीका लगाइदिए, शिरमा फूल राखिदिए। अनि भने– ‘तल कुवापानी नेर घाइते बाघ छ रे, गएर त्यसको उपचारको प्रबन्ध मिलाउनू। अनि मात्र बारुदखाना झर्नु।’
अकबरसिंह सेन सेनापति गजाधर रानालाई लिएर कुवापानीतिर लागे।
केही बेरपछि घाइते बाघको त्यो हल्ला तल पूर्णगाउँका गोठालासम्म पनि पुग्यो।
पूर्णगाउँमा राजाको सैनिक ब्यारेकको एउटा सानो टुकडी थियो। अनिअलि तलतिर खरबारी तिरको छेउमा साना बारीमा बनेका पन्ध्र–बिस वटा गोठ थिए। गोठमा गाईगोरु थिए। अनि गाई गोरु हेर्न बसेका बेउलीबासका गोठालाहरू थिए।
तिनै गोठालाहरूमध्ये बेउलीबासका सिर्कोटे काफ्ले बूढा पनि थिए। यो भेगकै बलिया बूढा थिए। बडेमानको टाउको, डरलाग्दा ठुला आँखा, आँखामाथि एक एक मुठीका आँखीभौँ, तमाखुले डढेर नीलै परेका ओठ, चउरजस्तै फराकिलो छाती र चिलाउनेको बुटोजस्तै बलिया अँठिला खुट्टा भएको भीमकाय ज्यान परेको थियो उनको। ज्यान मात्रै डरलाग्दो होइन, उनको तन्त्रविद्याले पनि सारा राज्य डराउँथ्यो।
अघिल्लो रात, सिर्कोटे काफ्ले बुढा, चिन्निखर्के नन्दे, लाँकुरीडाँडे खुमे बुढा भएर गोठको अगेनामा उत्तिस र चिलाउनेका मुढा बालेर आधा रातसम्म लालध्वज मुखियाको कुरा गरिरहे। पोहोर साल सिउदीखोलाले खेतै बगाउँदा पनि आफूहरूले बाली तिर्नुपरेको नमिठो कुरा सम्झे। अनि पालथाने कान्छाबाट थोरै बाली उठाएर उसलाई कर छुट दिएको पनि सम्झे। भोली राजाको कचहरिमा आफ्नै मुखिया विरुद्धको उजुरीमा छलफल हुने भन्ने कुराले उनीहरूलाई खुसी बनाएको थियो। आधा रातसम्म यताउताका गफ गरेपछि अगेनामा मुढा त्यत्तिकै छोडे र आ–आफ्ना गोठका आँटीमा सुत्न गए।
बिहानीपख काफ्ले बुढाको गोठमा गाई बेस्सरी कराए। टाट्ना हान्न लागे। पल्लापट्टि बाँधेका गोरु पनि बेस्सरी कराए। गोठको आँटीमा आफू सुतेका थिए, तल भकारोमा ठुलै घटना भएजस्तै आभास पाए उनले। जर्याकजुरुक उठे, भाङ्ग्रो लगाए अनि लिस्नोबाट तल झरे।
जुनेली रात भए पनि जून बिस्तारै भार्सेको डाँडोतिर पुग्न लागेको थियो। उज्यालो मधुरो मात्रै बाँकी थियो। त्यही मधुरो उज्यालोमा देखे– बाघले खैरी गाईको घाँटीमा समाएर पल्टाएको छ।
बुढा बलिया थिए, आँटिला पनि उस्तै थिए। डर भन्ने शब्द उनले कहिले सुनेकै थिएनन्। जंगलका चिलाउनेका बुटा त उनले कति पटक हातैले ढालेका थिए। ठुला-ठुला ढुङ्गा एक्लै उचाल्थे। त्यत्तिकै बल भएको मान्छे बाघसँग डराएनन्।
भकारोमा छिरे। सरासर टाट्नातिर गए। टाट्नाका एउटा किलो देब्रे हातले जुरुक्क उठाए, उखेले। त्यसबाट अर्को गाई बाँधेको दाम्लो फुत्काए। अनि त्यही किलोले बाघको टाउकोमा देब्रे हातैले हिर्काए। बाघ मुर्छा पर्यो। गाईको घाँटीबाट आफ्ना पन्जा फुत्काएर ढलमल ढलमल गर्दै गोठको पल्लो छेउबाट बाघ तल्लो बारीमा फुङ्रगाल्यो।
राजाले पानी खाने पँधेरानेर घाइते बाघ भेटिएको भन्ने सुनेपछि उनलाई निश्चय भयो– त्यो बाघ राति उनकै गोठबाट उम्केर गएको बाघ हो। अनि बल्ल जिन्दगीमा पहिलो चोटि डराए। अब राजाबाट आफूलाई के सजाय हुने हो? मनमा यही प्रश्न मात्रै आइरह्यो।
जे त पर्ला भन्ने सोचेर दरबारमा निस्किए। राजालाई रातिको घटनाको बारेमा सन्देश पठाए। अनि नमिठो सजाय कुरेर मूल ढोकाको छेउपट्टि पेटीमा बसिरहे।
त्यो बिहान उनले डराउँदै कुरेको सजायको आदेशको सट्टा बहादुर गोठालो रहेछ भन्ने राजाको शब्द सेनामार्फत सुनेर फर्किए। राजालाई त्यो खबर सुनाउनेले काफ्ले बुढाको दानाको कोल भाँचेको किस्सा पनि सुनाएको थियो। नेपाने गाउँको तारे भीरबाट पैयूँको राते भीरमा मित भेट्न आएका झाँक्रीलाई तन्त्र विद्याले रोकेको कहानी त राजाले पहिले नै थाहा पाइसकेका थिए। बेउलीबास माथिको बोक्रेको खोल्सामा दुई वटा चिलाउनेको बुटा नुघाएर गाँठो पारेर राजाको सिपाहीको बाटो कैयौँ पटक बन्द गरिदिएका उनका कहानी राजालाई नौलो थिएनन्।
काफ्ले बुढा तिनै थिए, जसले थाकखोलाबाट नुन लिएर फर्कँदा दानामा तोरी पेल्ने कोललाई देब्रे हातले घुमाएर एकै चोटमा कोल भत्काएका थिए। तोरी पेल्दै गरेका आइमाईहरूले उसको ज्यान देखेर नजिस्क्याएको भए बुढालाई आफ्नो बल देखाउन मन लाग्थेन होला। तर अजङको मान्छेले पनि कति थोरै नुन बोकेको भनेर उसको तागतमाथि खिसी गरेका आइमाईको बोली सुनेपछि ऊ सरासर हिँडिरहन सकेनन्। एउटा बोकाको बाजी लगाए ती आइमाईसँग। कोल देब्रे हातले घुमाएर भाँच्न नसके आफूले पाठो किनेर उनीहरूलाई दिने तर भाँचियो भने उनीहरूको पाठो आफूले पाउनुपर्ने सर्त राखेर। त्यो बाँजी जिते। बाजी जितेको बोको आफ्नो डोकोमा हालेर बेउलिबास आएर सबैलाई भोज खुवाएका थिए।
अर्को वर्षको भदौको महिना।
कास्कीकोट, सतहुँ, भीरकोट र पैयूँका राजाहरूले पुतलीखेतको बगरमा मल्ल युद्ध गर्ने निधो गरे। सबैले अ–आफ्नो राज्यको सबैभन्दा पहलमानलाई जुधाउनका लागि साथमै लिगेर गए। पैयूँबाट त्यो मल्ल युद्धमा सहभागी हुन राजा खड्गसिंह सेनसँगै गएका थिए– उनै बेउलीबासे सिर्कोटे काफ्ले बुढा।
पुतलीखेतलाई बिचबाट चिरेर आँधिखोला श्रवणकुमारको बेलादेखि निरन्तर बगिरहेको थियो। भदौको महिना। आँधिखोला धमिलो नै बग्दै थियो। त्यही धमिलो आँधिखोलाको पारीपट्टिको बगरमा चारै राज्यका राजाहरू आ–आफ्ना पहलमानसहित जम्मा भए। राज भेटघाटका औपचारिकता सकिएपश्चात् मल्ल युद्धको पालो आयो।
पहिलो पालो परेको थियो कास्कीकोट र पैयूँ राज्यको। कास्कीकोटका पहलमान कछाडलाई गतिलरी बाँधेर आफ्ना लामा जुँगा मुसार्दै बलौटे बगरमा उभिए। ठुला राता आँखा, लामो कपाल, बटारिएका मोटा जुँगा, देख्दै डरलाग्दो ज्यान, हातखुट्टामा नीला नशा डरलाग्दो गरी फूलेका। यस्तो देखिन्थे, मानौँ महाभारतका भीम हुन उनी। तर पैयूँबाट गएका काफ्ले बुढा बगरमा गएनन्, आफ्नो बलशाली ज्यानलाई अरू राजाहरूका अगाडी देखाएनन्। बरु, बगरको एउटा ढुङ्गामा दुइटै खुट्टा फट्टाएर उभिइरहे मात्र।
यो देखेर खड्गसिंह सेनलाई अफ्ठेरो लाग्यो। उनले सोचे– आफ्नो पहलमानले सुरुमै हार स्वीकार गर्यो। उनले अनुहार बिगारेर काफ्ले बुढालाई हेरिरहे।
त्यही बेला कास्कीकोटे पहलमान अगाडि बढ्यो, काफ्ले बुढालाई जुरुक्क उचालेर पछार्छु भन्ने इरादा लिएर नजिकै पुग्यो। अनि आफ्नो टाउको काफ्ले बुढाको जाँघमुनि लगेर घाँटीमा बुढालाई अड्याउन लाग्यो।
त्यही बेला काफ्ले बुढाले दुई खुट्टाले उसको टाउको चरप्प पारेर अँठ्याए, उसको टाउको फुट्यो।
त्यो मल्ल युद्धमा पैयूँले जित्यो।
त्यही वर्षको बडादसैँको फूलपाती राख्ने दिन पैयूँकोटको चउरमा राजाले घोषणा गरे– अब उप्रान्त हरेक दसैँको नवमीमा काली भगवतीलाई बली दिने पहिलो पाठो बेउलीबासका काफ्लेहरूका लागि हुनेछ। मौलोमा बली दिएको पाठोमा काफ्लेहरूले मात्रै अधिकार जमाउन पाउनेछन्। मौलोबाट फालेपछि यो चार किल्ला नाघेर बाहिर पुग्दासम्म काफ्लेहरूमध्ये जसले पाठोको धेरै भाग हात पार्छन्, त्यसको एक वर्षसम्मका लागि ऊ नै सबैभन्दा बलियो काफ्ले मानिनेछ। त्यो सालको दसैँबाटै पैयूँ राज्यको पैयूँकोटमा काफ्ले पाठो लडाउने चलन सुरु भयो।
(नोटः हालको पर्वतको महाशिला गाउँपालिकामा रहेको पैयूँकोटमा काफ्ले पाठो लडाउने चलन केही वर्ष रोकिए पनि फेरि सुरु भएको छ। बडादसैँको नवमीमा हुने यो चलनमा बेउलीबासका काफ्लेहरू मात्रै सहभागी हुन पाउँछन्। सहभागी भएकाहरूले पाठोको एउटा रौँ मात्रै भए पनि प्राप्त गर्न प्रतिस्पर्धा चल्ने गर्छ।)
(लेखक महाशिला गाउँपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत हुन्।)