काठमाडौँको व्यस्तता कहिलेकाहीँ निकै थकानपूर्ण हुन्छ। तर त्यो दिनको साँझ अलि भिन्न थियो। झन्डै साँझको ६ बज्न लागेको थियो। आकाशमा बादलका टुक्राहरू सुन्तला रङसँग मिसावट भएर एउटा कलात्मक क्यानभास जस्तो देखिन्थ्यो। सडकमा गाडीहरूको चाप निकै कम थियो, मानौँ सहरले बिस्तारै आफ्नो गति मारिरहेको छ। म आफ्नो घनिष्ठ मित्रलाई कोटेश्वरसम्म छोड्न अनामनगरबाट निस्किएको थिएँ।
हामी गफिँदै बिजुलीबजारको भव्य ‘आर्क ब्रिज’ पुलमाथि पुग्यौँ। त्यति बेला त्यहाँ चिसो हावा चलिरहेको थियो। जसले मनलाई अलिकति चञ्चल बनाइरहेको थियो। हामी आफ्नै तालमा हिँडिरहेका थियौँ, भविष्यका कुरा र वर्तमानका गफहरू गर्दै। ठिक त्यही बेला पुलभन्दा केही पर दुई जना किशोरीहरू बसको प्रतीक्षामा उभिरहेका थिए।
मेरो नजर तीमध्ये एकजनामा पर्ने बित्तिकै मैले चिनिहालेँ। उनीसँग मेरो चिनजान पुरानो थियो। उनीसँग कयौँ पटक चियागफ भएका थिए। उनी र मबिच एउटा सम्मानित र पवित्र दिदी–भाइको सम्बन्ध थियो।
त्यो दिन मेरो साथमा भएको साथीलाई अलि हतारो थियो, त्यसैले मैले सोचेँ— ‘अहिले बोल्न थाल्यो भने समय जान्छ, त्यसैले नहेरीकन सुटुक्क निस्कन्छु।’ तर नियतिले मेरो पाइला रोक्न एउटा सानो इशारा नै काफी बनाइदिएको थियो। दिदीको छेउमा उभिएकी ती अर्की किशोरी, जो मेरा लागि पूर्णतः अपरिचित थिइन्, उनले मतिर औँला सोझ्याउँदै दिदीलाई बिस्तारै भनिन्— ‘उ! उहाँ होइन र?’
उनले इशारा गरेपछि दिदीले मतिर हेर्नुभयो र ठुलो स्वरमा बोलाउनुभयो— ‘ओहो! राम भाइ, कता जाँदैछौ?’
अब नबोली सुखै थिएन। हामी रोकियौँ।
झन्डै पाँच मिनेट जति हाम्रो कुराकानी भयो। दिदीले हालचाल सोध्नुभयो, काम कस्तो चल्दैछ भन्नुभयो। तर मेरो भित्री मन भने ती अर्की किशोरीमा अड्किएको थियो। उनी केही बोलिरहेकी थिइनन्, मात्र आफ्ना ती लामा औँलाहरूले मतिर इशारा गरेपछि उनी मौन भइन्। उनको हेराइमा एउटा यस्तो चमक थियो, मानौँ उनले मलाई वर्षौँदेखि चिन्थिन्, मेरा सबै समाचारहरू सुन्थिन्। तर म भने उनका लागि पूर्णतः अनजान थिएँ। केहीबेरको कुराकानीपछि म आफ्नो बाटो लागेँ, तर त्यो मौनता र त्यो इशारा मेरो मानसपटलमा गढेर बस्यो।
साँझ म आफ्नो कोठामा फर्किएँ। कोठाको शान्त वातावरणमा फेरि त्यही पुलको दृश्य आँखै अगाडि नाचिरह्यो। आखिर को थिइन् उनी? जसले मलाई औँला उठाएर चिनाइन्? मेरो जिज्ञासाले सीमा नाघेपछि मैले चिनेकी दिदीलाई फेसबुकमा म्यासेज गरेँ— ‘दिदी, आज तपाईँसँग उभिएकी ती किशोरी को हुन् नि? मलाई चिन्नुहुँदो रहेछ कि क्या हो?’
दिदीको जवाफ आउँदा म छक्क परेँ। दिदीले भन्नुभयो— ‘उनी त तिम्रो फेसबुकमै साथी छिन् त राम! तिम्रो न्युजको फ्यान रे।’
मैले हतार–हतार आफ्नो फ्रेन्ड लिस्ट चेक गरेँ। हजारौँ साथीहरूको भिडमा उनको प्रोफाइल भेटियो। नाम सुन्दर थियो। मैले ढिला नगरी म्यासेन्जरमा एउटा प्रश्न सोधेँ— ‘नमस्ते, तपाईँले मलाई चिन्नुहुन्छ र? अघि पुलमा मतिर औँला देखाउँदै हुनुहुन्थ्यो।’
केही समयपछि उनको रिप्लाई आयो— ‘चिन्छु नि! म तपाईँले न्युज पढेको, रिपोर्टिङ गरेको सधैँ हेर्छु। तपाईँको काम गर्ने शैली मलाई निकै मन पर्छ।’
त्यसपछि हाम्रो संवादको शृङ्खला सुरु भयो। उनी निकै कम बोल्थिन् तर जति बोल्थिन्, शब्दहरू तौलिएर बोल्थिन्। हाम्रो कुराकानीमा कुनै कृत्रिमता थिएन। कहिलेकाहीँ लाग्थ्यो, उनी मेरा हरेक पाइलाहरूलाई कतै टाढाबाट नियालिरहेकी छिन्।
दिनहरू बित्दै गए। हाम्रो कुराकानी सामान्यबाट अलि आत्मीयतातर्फ मोडिँदै थियो। एकदिन अचानक उताबाट म्यासेज आयो— ‘राम, मैले तिम्रा लागि केही विदेशी चकलेटहरू पठाइदिएकी छु। तिमीलाई एउटा फोन आउँछ, फोन उठाउनु है!’
मलाई अलिकति अचम्म लाग्यो र अलिकति खुसी पनि। विदेशी चकलेट! मलाई चकलेट निकै मन पर्थ्यो। मैले सोधेँ— ‘चकलेट दिन को आउँछ र? तपाईँ आफै आउनुहुन्छ?’
उनले जवाफ दिइन्— ‘म त आउँदिन, मेरो एकजना साथी आउँछ। उसले तिमीलाई भेट्नेछ।’
मेरो अफिस दिउँसो २ बजेबाट सुरु हुन्थ्यो। उनलाई मेरो अफिसको लोकेसन, मेरो समय र मेरो बस्ने ठाउँको बारेमा कसरी यति धेरै थाहा भयो, त्यो नै मेरा लागि एउटा रहस्य थियो। उनले लोकेसन पनि ठ्याक्कै मैले काम गर्ने न्युज अफिसकै हालेकी रहिछन्।
दिउँसोको २ बजिसकेको थियो। म अफिस पुगेर भर्खरै डेस्कमा बसेको थिएँ। समाचारको एउटा फिचर लेख्न सुरु गर्नै लाग्दा मेरो मोबाइलमा घण्टी बज्यो। एउटा अपरिचित नम्बर थियो।
‘नमस्ते, म तपाईँको सामान लिएर आएको छु। कहाँ हुनुहुन्छ तपाईँ?’ उताबाट एउटा युवकको आवाज आयो।
म हतार–हतार अफिसको गेटबाहिर निस्किएँ। एउटा युवकले मलाई सानो रातो रङको झोला थमाए। झोलाको बाहिर कालो मार्करले अक्षरमा लेखिएको थियो— ‘मैले गिफ्ट दिएको।’ युवकले सामान दिएर ‘हुन्छ त है’ भन्दै आफ्नो बाटो लागे।
म त्यो रातो झोला लिएर आफ्नो टेबुलमा आएँ। मेरो मनमा चकलेटको स्वाद गुन्जिरहेको थियो। तर जब मैले त्यो झोला खोलेँ, मेरो शरीरमा एक प्रकारको काँडा उम्रियो। त्यहाँ कुनै चकलेट थिएन। त्यहाँ त एउटा निकै सुन्दर, ’लेदर’ को आकर्षक पर्स थियो। र सबैभन्दा भावुक बनाउने कुरा त के थियो भने, त्यो पर्सको बाहिरी भागमा मेरो नाम ‘राम’ निकै कलात्मक ढङ्गले लेखिएको थियो।
उनले विदेशी चकलेटको बहाना मात्र गरेकी रहिछन्। वास्तवमा उनले मलाई यस्तो चिज दिन चाहन्थिन्, जुन म सधैँ मेरो साथमा राखौँ। जुन मेरो परिचयसँग जोडिएको होस्। कसैले मलाई यति धेरै महत्त्व दिएर मेरो नामै कुँदाएर उपहार पठाउनु, मेरो लागि जीवनकै पहिलो र अनौठो अनुभव थियो। हाम्रो सम्बन्ध त्यति घनिष्ठ पनि थिएन, न त प्रेमको कुनै औपचारिक कुरा भएको थियो। तैपनि त्यो पर्सले एउटा अदृश्य मायाको डोरीले मलाई बाँधिसकेको थियो।
मैले तत्कालै उनलाई म्यासेज गरेँ— ‘तपाईँले त ढाँट्नुभएको रहेछ! चकलेट त छैन तर यो पर्स मेरो लागि संसारकै महँगो उपहार भयो। धेरै–धेरै धन्यवाद।’
उनले मुस्कुराएको इमोजी पठाउँदै लेखिन्— ‘चकलेट त खाइन्छ, सकिन्छ। तर म चाहन्थेँ तिमीले मेरो याद सधैँ साथमा राखौँ। यो पर्समा तिम्रो नाम छ, यसले तिम्रो मिहिनेतको कमाइलाई जतन गरोस्।’
त्यसको एक–दुई दिनसम्म हाम्रा कुराहरू निकै गहिराइमा पुगे। तर अचानक, के भयो कुन्नि! उनका म्यासेजहरू आउन कम भए। मैले सोधेका प्रश्नहरूको जवाफ निकै ढिलो आउन थाल्यो। र एक हप्ता पनि नबित्दै, मैले उनको प्रोफाइल हेर्न खोज्दा उनी गायब भइन्। उनले आफ्नो फेसबुक आइडी नै डिलिट गरिन् वा मलाई ब्लक गरिन्, मलाई थाहा भएन। मैले उनको साथीको नम्बर वा अरू कुनै सम्पर्क सूत्र खोज्ने कोसिस गरेँ तर केही कतै पनि भेटिएन।
जसरी उनी बिजुलीबजारको पुलमा अचानक एउटा रहस्यमय मुस्कानका साथ देखा परेकी थिइन्, त्यसरी नै उनी मेरो जीवनबाट पूर्ण रूपमा ओझेल भइन्।
आज महिनौँ बितिसक्यो। उनी अहिले मेरा लागि फेरि एउटा अपरिचित व्यक्ति जस्तै भएकी छिन्। तर उनले दिएको त्यो पर्स भने मभन्दा टाढा जान सकेको छैन। त्यो पर्सलाई मैले मेरो कार्यकक्षको टेबलमा, ल्यापटपको ठिक छेउमा सजाएर राखेको छु।
म जब–जब न्युज लेख्न ल्यापटप खोल्छु, मेरो नजर त्यो पर्समा पुग्छ। त्यसमा लेखिएको मेरो नाम देख्दा मलाई त्यही छ बजेको साँझ, बिजुलीबजारको त्यो ’आर्क ब्रिज’ र ती किशोरीको त्यो रहस्यमय इशाराको याद आउँछ। मलाई लाग्छ, उनी कतैबाट मलाई अझै पनि हेरिरहेकी छिन्। सायद उनले मलाई एउटा सुन्दर याद सुम्पिएर सधैँका लागि बिदा भइन्।
कतिपय मान्छेहरू हाम्रो जीवनमा ठुलो भूमिका खेल्न आउँदैनन्। उनीहरू त केवल एउटा यस्तो याद छोड्न आउँछन्, जुन कहिल्यै मेटिँदैन। उनले विदेशी चकलेटको मिठो बहाना गरेर मलाई आफ्नो मायाको एउटा सानो अंश ’पर्स’ को रूपमा सुम्पिएर गइन्। आज न उनको आइडी भेटिन्छ, न नम्बर। उनी मेरो जीवनको एउटा यस्तो समाचार बनिन्, जो कहिल्यै ’ब्रोडकास्ट’ भएन तर मेरो मनको ’हेडलाइन’ सधैँ बनिरह्यो।
बिजुलीबजारको त्यो पुल अहिले पनि त्यहीँ छ, धोबीखोला अहिले पनि बगिरहेको छ। तर त्यो पुलमा मलाई औँला देखाएर चिनाउने उनी कता हराइन? यो प्रश्नको उत्तर मसँग छैन। मसँग छ त केवल त्यो रातो झोलाबाट निस्किएको पर्स, जसमा मेरो नाम लेखिएको छ र त्यो पर्सभित्र उनको एउटा कहिल्यै नमेटिने याद छ।
उपहार पठाउने उनी! सायद कतै छिन् र आज पनि मेरो समाचारको प्रतीक्षामा छिन्।