धुलोधुवासँगै मोटर गाडीले खचाखच काठमाडौँका सडक, घम्सा-घम्सी गर्दै दौडिरहेका मानिसले भरिभराउ सडकपेटी, बच्चा र युवाले भरिभराउ फनपार्क, सिनेमा हल, सपिङ मल, होटल रेष्टुरेण्ट सबैतिर एक प्रकारको सन्नाटा छाएको छ।
सबै ठाउँ शुन्य, शान्त र स्वच्छ वातावरण साथमा वरिपरिका पहाडमा दन्ते लहरझैँ मिलेर रहेका हरिया जंगल, वसन्तको खुसियालीसँगै कुहुकुहु कोइलीको आवाज, चिरविर-चिरविर चराहरुको सुमधुर स्वरले बिहानीको स्वागत गर्छन्। खुला स्वच्छ आकासमा स्वच्छ हावाको स्वास लिदै स्वतन्त्रपूर्वक रमण गरिरहेका चराचुरुङ्गी, अहो! कति सुन्दर र मनमोहक छ प्रकृति।
स्वच्छ चिसो हावा, नील गगनको लोभलाग्दो दृष्य, हिजोको कहालीलाग्दो कोलाहलपूर्ण, उकुसमुकुस सहरले एकाएक यति चाडै रुप फेर्छ भन्ने सायद कसैले कल्पनासम्म गरेका थिएनन्। बाहिर प्रकृति जति सुन्दर, सफा र खुलेको छ, कंकड सिमेन्टको बन्ध कोठरीमा थुनिएका हामी डर, त्रास, शंका उपशंकाले उथलपुथल, उकुसमुकुस जीवन बिताउन बाध्य छौँ।
हामीले चाहेजस्तो स्वच्छ वातावरण, प्रकृतिको अनुपम सुन्दरतामा रम्ने समय आएको छ। तर बाध्यता हामी थुनिएका छौँ। खुलेर बाँच्न अनि हृदय खोलेर हास्न सकेका छैनौँ, लाग्छ हिजो जानी-जानी या अन्जानमा हामीले आफैँ गरेको गल्तीको सजाय भोगिरहेका छौँ।
आवश्यकता छ विज्ञान, प्रविधि र विकासको, अपरिहार्य छ आजको समयमा आधुनिकता र विश्वव्यापिकरणको सँगसँगै अति आवश्यक छ प्रकृतिमाथिको दोहन नियन्त्रणको पनि। साथै जरुरी देखिएको छ, आधुनिकताको नाममा कृतिम बन्दै गएको मानव जीवनशैलीको परिवर्तन।
प्रकृतिमाथिको अतिक्रमण, कृतिम भोजन, देखावटी, अनियमित, असन्तुलित, अव्यवस्थित खानपान, व्यवहार, कर्मको कारण हामी दिन-प्रतिदिन शारीरिक तथा मानसिक रोगको शिकार भईरहेका छौँ। यसैबीच समय-समयमा प्रकृतिले दिएका दण्डको शिकार भएका छौँ। मानव विकासको क्रममा विभिन्न प्रकारका प्राकृतिक र कृतिम महामारीको सामना मानव जगतले झेल्दै आएको छ, भोलि पनि नआउला भन्न सकिन्न।
तसर्थ आजैदेखि जीवन पद्धतिलाई सुधार्नु या परिवर्तन गर्नु अत्यावश्यक छ। कुनै पनि विपदले मान्छेलाई दु.ख पीडा मात्र दिदैन। केही न केही नयाँ ज्ञान दिएको हुन्छ, त्यसलाई चिन्न र जीवनमा उतार्न सक्नु पर्दछ। जुन विपदबाट उठेपछि जिवनले नयाँ गति लिन्छ, खुशी र आनन्दको महशुस हुन्छ।
लकडाउनको समयमा हामी धेरै जना समय बिताउने बहानामा मोबाइल इन्टरनेटको अत्याधिक प्रयोग गर्छौँ, छिट्टो र सजिलोको बहानामा हामीले आफ्नो शरीरलाई बन्धक बनाएका छौँ। लकडाउनको समय हामीलाई धेरैलाई फुर्सद छ, यस्तो समयमा धेरै परिकार बनाएर खान्छौँ तर आफ्नो पाचन प्रणालीको क्षमताभन्दा धेरै भोजन ग–यौँ भने त्यो विष समान बन्न जान्छ।
आज अधिकांश मानिसहरु खान नपाएरभन्दा पनि बढी खाएर रोगि भएका छन्। सही समयमा उचित मात्रा र सुपाच्य भोजन गर्न नजान्नु ठूलो समस्या हो। भोजन जिब्रोको स्वाद मेटाउन, मनको तृप्ती र भोक मेटाउन होइन, शरीरको आवश्यकताअनुसार शरीरलाई फाइदाको लागि गर्नुपर्छ।
हामीले गर्ने भोजनमा सृष्टिको रहष्य लुकेको छ। जब हामी कुनै पनि किसिमको भोजन गर्छौँ, त्यो रुपान्तरण हुँदै रस, रगत, मासु, बोसो, हड्डी, मज्जा, रज/विर्यसम्म बन्न पुग्छ। जसको सार तत्व सुक्ष्म रुपमा ओज तेज हुँदै विचार भाव/स्वभावमा परिणत हुन्छ। अब जस्तो सोच त्यस्तै कर्म व्यवहार हुन्छ र जस्तो कर्म गर्छौँ, त्यस्तै हाम्रो चरित्र निर्माण हुन्छ।
यसर्थ भोजनमा सृष्टिको रहस्य लुकेको छ जसको ज्ञान नहुँदा हामी केवल मनको दास भएर मनले जे माग्यो, त्यही पेटमा पठाउँछौँ। तर त्यसको असर कहाँसम्म छ थाहा छैन। त्यसैले हामी शरीर र मन दुवैको रोगी भएका छौँ। गलत भोजन, गलत सोच, विचार। फलस्वरुप समाजमा दिन प्रतिदिन अनेकौँ कुकर्महरु भएका छन्। कल्पना गर्न नसकिले घटना घटेका छन्।
भोजनबाट प्राप्त सात्विक, राजसिक र तामसिक गुण अनुरुप मान्छेको प्रवृत्ति निमार्ण हुन्छ। सात्विक भोजनले व्यक्तिमा सरल शान्त र ज्ञानमूलक प्रवृतिको निर्माण गर्छ, राजसिक भोजनले अज्ञानी तथा विवेकहीन प्रवृतिको सिर्जना गर्छ, तामसिक भोजनले मान्छेलाई विवेकहीन गराउँछ, हिंस्रक प्रवृतिको सिर्जना हुन्छ। जसको कारण शरीरको आन्तरीक उर्जा शक्ति ह्रास हुन्छ।
तब मान्छे शरीरिक र मानसिक दुवै रोगको शिकार बन्न पुग्छ। यसर्थ अहिलेको अवस्थामा हामीले हाम्रो जीवन उर्जा अर्थात प्राण शक्तिलाई एक्टिभ राख्नु अत्यावश्यक छ। जसले रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। ताजा, स्वस्थ, सफा खाना घरमा आफूले बनाएर खानु उपयुक्त हुन्छ।
खाने समयले पनि भोजनमा ठूलो फरक पार्दछ। हामीले बिहानको भोजन बजेसम्ममा गरिसक्नु पर्छ। दिनमा फलफूलको साथ नास्ता गर्ने र बेलुका सुर्यास्त अघि हल्का भोजन गर्नु शरीरका लागि उपयुक्त हुन्छ। राती अबेर गरिने भोजन सुपाच्य हुँदैन, बेलुका चाडै सुत्नु र बिहान सबेरै उठ्नु, बिहान योग ध्यान, पुजा, जप-तपमा समय लगाउनु स्वस्थ शरीरको लागि अत्यावश्यक हुन्छ।
तर हाम्रो अहिलेको जीवनशैली ठिक विपरित छ। लकडाउन अनि सहरिया जनजीवन स्वास्थको हिसावले अझ संवेदनशील छ। जो दीर्घरोगी व्यक्तिहरुको लागि त झनै गाह्रो भएको हुनसक्छ। यस्तो अवस्थामा सबैले योग-ध्यान द्वारा आफ्नो आन्तरिक शक्तिको उजागर गरी रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु अति आवश्यक छ।
विपदको समयमा हामी मानसिक रुपमा कमजोर भएका हुन्छौँ। साथै असन्तुलित खानपान र शारीरिक श्रम नहुनाको कारण धेरै समस्याले घेर्न सक्छ। हामी नेपाली जति भौतिकवादी भने पनि कही न कही अध्यात्म वा इश्वर प्रति आस्थावान् छौँ। त्यसैले, सकिन्छ सधैँ या त यस विषम् अवस्थामा इश्वरीय चिन्तनका साथ योग ध्यानको सहायता लिनु अत्यावश्यक छ।
यसले शरीर फुर्तिलो हुन्छ, मन शान्त र प्रशन्न हुन्छ। हिजो के भएको थियो? भोलि के हुन्छ? भन्ने सोच आउँदैन। लामो र गहिरो श्वासका साथमा बिहानको शान्त र स्वस्थ वातावरणमा केही समय ॐ उच्चाहरणको साथ बस्न मात्र सक्यो भने पनि असिम आनन्द आउँछ। आन्तरिक उर्जा शक्ति जागृत हुन्छ, रगतमा सन्तुलित रुपमा रगतको प्रवाह हुन्छ।
जब योग प्राणायामद्वारा प्राण उर्जा एक्टिभ हुन्छ, रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। जसका कारण हामीले कतिपय रोगलाई आफैँ हिल गर्न सक्छौँ। त्यो क्षमता हामी भित्रै छ। आफू भित्रबाट आउने आत्मिक आनन्द जुन भौतिक सुख सुविधाभन्दा कयौँ गुणा बढी हुन्छ।
तसर्थ अहिले कोरोना संक्रमणबाट बच्न पनि हरेक व्यक्तिले इम्युनिटी पावर बढाउनु जरुरी छ। जसका लागि स्वस्थ, सात्विक भोजनका साथै शारीरिक व्यायाम र ध्यानले ठूलो सहयोग गर्छ।
आज कोरोनाको प्रभावलाई विश्वव्यापी रुपमा दृष्टिगत गर्दा युरोप अमेरिका जस्ता विकसित देशहरुमा पर्याप्त स्वस्थ्य सेवा सुविधा हुँदाहुँदै पनि मृत्युदर तीव्र देखिएको छ, जसको पछाडि अत्याधिक रासायनिक पदार्थको प्रयोग, राजसिक र तामसिक भोजनको अधिकता, कृतिम जीवनशैली, एलोपेथिक औषधीको प्रयोग आदिको कारण इम्युनिटी पावर ह्रास भएर हुन सक्ने स्वास्थ्यविद्हरुले सुझाएका छन्।
हामी नेपाली जडिबुटीको खानीमा हुर्किएका छौँ, हाम्रा संस्कार र संस्कृतिले प्रकृतिको सम्मान गर्न, प्राकृतिक भोजन र जीवनशैली अपनाउन सिकाएका छन्। सायद कोरोना जस्ता विपत्तिले पनि हामीलाई प्रकृतिको सम्मान गर्दै प्राकृतिक जीवनशैलीमा पुनः फर्कन सन्देश दिएको छ। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले आफूलाई सधैँ शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नु पर्छ।
अरुको सहयोग सहज परिस्थितिसम्म मात्र हुन्छ। साच्चै अप्ठ्यारो परिस्थितिमा मान्छे सबैभन्दा पहिला आफू बाँच्न चाहन्छ। त्यसपछि मात्र हो परिवार, आफन्त, नातागोता आदि। तसर्थ यस्तो विपद पहिले पनि थिए र पछि पनि नआउला भन्न सकिन्न। संयम धैर्यताका साथ खुशी भएर बाँच्न सिक्नु पर्छ।
'विपद् अभिसाप मात्र होइन बरदान पनि हो।' किनकि यहाँबाट हामीले सिक्ने धेरै कुरा छन्, जसका कारण भोलि आउन सक्ने विपदसँग जुध्न हामी आफैँ सक्षम बन्नु जरुरी छ। हामी आफैँसँग भएका स्रोत, साधन, श्रम र सीपको प्रयोग द्वारा आत्मनिर्भर र आत्मविश्वाशी बन्नु पर्ने पाठ हरेक विपदले नसिकाएको होइन। पुनः एक पटक कोरोनाले ब्युझाएको छ।