मेरो कथा सिन्धुलीको फिक्कल गाउँपालिकाको एउटा सानो गाउँबाट सुरु हुन्छ। जहाँ पहाडका खोँचहरूबाट बिहानको सूर्य उदाउँछ र चराचुरुङ्गीको आवाजले गाउँ ब्युँझिन्छ। म त्यही माटोमा हुर्किएँ, जहाँ प्रविधिभन्दा बढी प्रकृतिसँग मानिसको नाता थियो। घरकी जेठी छोरी हुनुको अर्थ नेपाली समाजमा धेरै गहिरो हुन्छ— जिम्मेवारी, अनुशासन र एउटा आदर्श पात्र बन्नुपर्ने दबाब।
मेरो माध्यमिक तहसम्मको पढाइ गाउँकै स्कुलमा भयो। पढाइमा म औसत थिएँ। तर मेरो मनभित्र एउटा यस्तो तृष्णा पलाउन थालेको थियो, जसको बारेमा मेरा बाबुआमा निकै कठोर हुनुहुन्थ्यो। त्यो थियो— स्मार्टफोन।
मेरा केही साथीहरू जसका दाजुभाइ विदेशमा थिए वा जो अलि सम्पन्न थिए, उनीहरूको हातमा मोबाइल देख्दा मलाई लाग्थ्यो, ‘म त कति पुरानो जमानाको भएँ।’ साथीहरूले टिकटकमा भिडियो बनाउँदा, म्यासेन्जरमा भिडियो कल गर्दै हाँस्दा मलाई लाग्थ्यो, त्यो सानो यन्त्रभित्र एउटा बेग्लै संसार छ, जहाँ म पुग्नै पर्छ। तर आमाको एउटै जवाफ हुन्थ्यो— ‘यो मोबाइल भनेको रोग हो नानी, यसले मान्छेको चरित्र र पढाइ दुवै सिद्ध्याउँछ।’
त्यो बेला मलाई आमा संसारकै सबैभन्दा क्रूर व्यक्ति लाग्थ्यो।
एसइईको परीक्षा सकिएपछि मेरो जिद्दीले सीमा नाघ्यो। ‘म अब गाउँमा बस्दिनँ, म काठमाडौँ गएर पढ्छु’ भन्ने मेरो अडानपछि आमाले मलाई काठमाडौँ पठाउने निर्णय गर्नुभयो। काठमाडौँ आउनु मेरो लागि केवल पढाइको अवसर मात्र थिएन, यो त एउटा ‘स्मार्टफोन’ पाउने सुनौलो लाइसेन्स जस्तै थियो।
काठमाडौँ आएको एक हप्तापछि जब आमाले मलाई एउटा नयाँ चमकदार फोन किनिदिनु भयो। मलाई लाग्यो— मैले आकाशका तारा नै हातमा पाएँ। त्यो रात म सुतिनँ। मलाई निद्रा नै लागेन। त्यो मोबाइलको स्क्रिनको उज्यालोमा मैले पहिलो पटक फेसबुक एकाउन्ट खोलेँ, टिकटकमा आइडी बनाएँ। गाउँका पुराना साथीहरूलाई खोज्दै ‘फलो’ गर्न थालेँ। रातको ४ बज्दा पनि मलाई थकान महसुस भएन। मेरो दिमागमा केवल एउटै कुरा घुमिरहन्थ्यो— ‘भोलि के पोस्ट गर्ने? कसको फोटोमा कस्तो कमेन्ट गर्ने?’
कक्षा ११ मा भर्ना भएपछि मेरो दैनिकी पूरै बदलियो। बिहान ५ बजे उठेर कलेज जानुपर्ने म, रातभरि मोबाइलमा झुन्डिन थालेँ। फेसबुकमा कसले के पोस्ट गर्यो, कसको फोटोमा कति लाइक आयो— मेरो दुनियाँ यहीँ सीमित भयो। कतिपय दिनमा त यस्तो भयो कि मोबाइल चलाउनकै लागि म कलेज जाँदैनथेँ। कोठामा एक्लै बसेर घण्टौँसम्म नचिनेका मान्छेका भिडियोहरू हेरेर बस्नु मेरो लत बन्यो।
बिस्तारै म मानसिक रूपमा एक्लो हुन थालेँ। मेरो मोबाइलमा हजारौँ साथीहरू थिए तर मसँग मेरो मनको कुरा सुन्ने एउटा पनि वास्तविक साथी थिएन। म अरूको ‘फिल्टर’ गरिएको र सुखी देखिएको जिन्दगी हेरेर आफ्नै जिन्दगीसँग तुलना गर्थेँ र दुःखी हुन्थेँ। मलाई लाग्थ्यो— सबैजना कति खुसी छन् तर मेरो जिन्दगी मात्र किन यस्तो छ? यो नै सामाजिक सञ्जालको सबैभन्दा ठुलो भ्रम हो। हामी अरूको ‘हाइलाइट’ र आफ्नो ‘बिहाइन्ड द सिन्स’ तुलना गर्छौँ।
अहिले म रत्न राज्य (आरआर) क्याम्पसमा स्नातक दोस्रो वर्षमा पढ्दै गर्दा मैले एउटा डरलाग्दो सत्य महसुस गरेकी छु। क्याम्पसको चौरमा बस्दा म देख्छु— सयौँ विद्यार्थीहरू छन् तर कसैको कसैसँग वास्तविक संवाद छैन। सबैका टाउकाहरू मोबाइलतिर झुकेका छन्। हामी सँगै छौँ तर हामी सँगै छैनौँ।
मैले देखेँ— यही सामाजिक सञ्जालले कतिपयको परिवार उज्यालो बनाएको छ भने कतिको जीवन खरानी बनाएको छ। फेसबुकमा सुरु भएको सानो चिनजानले कतिपय दिदीबहिनीहरू बेचिएका छन्, कतिले साइबर बुलिङ सहन नसकेर आत्महत्या गरेका छन्। सामाजिक सञ्जालले एउटै ओछ्यानमा सुत्ने श्रीमान्–श्रीमतीलाई समेत टाढा बनाएको छ। मानिसहरू बाटोमा हिँड्दा पनि मोबाइलमै व्यस्त हुन्छन्, जसका कारण दिनहुँ कतिले अकालमा ज्यान गुमाइरहेका छन्। हामी एउटा यस्तो दुनियाँमा छौँ जहाँ ‘लाइक’ र ‘कमेन्ट’ ले हाम्रो खुसीको मापन गर्छ।
जेठी छोरी भएकाले अहिले ममाथि घरको जिम्मेवारी पनि थपिएको छ। काठमाडौँको महँगो जीवनमा आफ्नो खर्च जुटाउन मैले एउटा सानो काम गर्न थालेँ। जब म काममा निस्किएँ र वास्तविक मानिसहरूसँग अन्तर्क्रिया गर्न थालेँ, तब मैले थाहा पाएँ कि समय कति मूल्यवान् रहेछ। मोबाइलको स्क्रिनमा बिताइएका ती हजारौँ घण्टाहरूले मलाई के दियो? केही पनि छैन। केवल मानसिक तनाव, आँखाको समस्या र एकाग्रताको कमी।
अहिले पनि मलाई दिनमा ६–७ घण्टा मोबाइल नचलाउँदा केही बिर्से जस्तो लाग्छ। यो एउटा ‘डिजिटल भाइरस’ जस्तै हो जसले हाम्रो दिमागलाई कब्जा गरिसकेको छ। तर म अहिले यसलाई जित्ने प्रयास गर्दैछु। जब मैले मोबाइललाई थोरै समयको लागि ‘साइड’ मा राखेँ, तब मात्र मैले संसार कति सुन्दर छ भन्ने थाहा पाएँ। मैले आमाको आवाजमा भएको त्यो ममतालाई बल्ल बुझेँ, जुन कुनै पनि मेसेन्जरको भ्वाइस मेसेजमा हुँदैन।
अहिलेको पुस्ता खाना खान छोड्न सक्छ तर मोबाइल छोड्न सक्दैन। हामीलाई हाम्रो भविष्यको भन्दा बढी चिन्ता ‘नोटिफिकेसन’ को हुन्छ। तर याद राख्नुहोस्, मोबाइल एउटा यन्त्र मात्र हो, यो हाम्रो जीवन होइन। हामीले प्रविधिलाई प्रयोग गर्नुपर्छ, प्रविधिले हामीलाई दास बनाउनु हुँदैन।
जब मैले फोन छोडेर बाँच्न सिकेँ, तब मात्र मैले आफ्ना छिमेकीको अनुहार चिनेँ, साथीहरूको मन बुझेँ र आफैँलाई चिन्न सफल भएँ। सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोस्— यसलाई नयाँ कुरा सिक्न र सकारात्मक सन्देश फैलाउन प्रयोग गर्नुहोस्। तर यसलाई आफ्नो जीवनको मालिक बन्न नदिनुहोस्।
सिन्धुलीको त्यो फिक्कलको उज्यालो र काठमाडौँको यो आधुनिकता बिचमा मैले एउटै कुरा सिकेँ— वास्तविक जिन्दगी मोबाइलको स्क्रिनमा होइन, वास्तविक सम्बन्धहरूमा हुने रहेछ। फेसबुकको ‘वाल’ मा होइन, आफ्नै कर्मको मैदानमा इतिहास लेख्नुहोस्। जब तपाईं फोनलाई गोजीमा राखेर वरिपरिको संसारलाई अँगाल्न थाल्नुहुन्छ, बल्ल तपाईंले साँचो अर्थमा बाँच्न सिक्नुहुनेछ।