नेकपा एमालेबाट उम्मेदवार बनेका धर्मनाथप्रसाद साह माघ ५ गतेसम्म पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मै थिए।
नेकपाबाट सिराहा-४ को उम्मेदवार दाबी गरे पनि साहले टिकट पाएनन्। नेकपाले अजय शंकर नायकलाई उम्मेदवार बनायो। त्यसपछि उनी एमालेमा फर्किए। एमालेले उनलाई सिराहा-४ को उम्मेदवार बनायो।
२०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनेका साह जसपा उम्मेदवार वीरेन्द्र महतोसँग पराजित भएका थिए। महतोले एमाले-जसपा गठबन्धनबाट निर्वाचन जितेका थिए।
महतोले २४ हजार १०२ मत ल्याउँदा जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए। तेस्रोमा रहेका साहले १४ हजार ६५६ मत मात्र पाएका थिए। रास्वपाका विमलकुमार तिवारीले १६ सय ८३ मत ल्याएका थिए।
साहले २०५६ मा सोही क्षेत्रबाट एमाले उम्मेदवार बनेर नेपाली कांग्रेसका प्रदीप गिरीलाई हराएका थिए। २०६३ मा सामान्य प्रशासन राज्यमन्त्री समेत बनेका साहको उम्मेदवारी परेसँगै सिराहा ४ मा ५ पूर्वमन्त्री उम्मेदवार बनेका छन्।
नेकपाबाट उम्मेदवार बनेका अजय शंकर नायक पनि २०७३ सालमा कानून मन्त्री बनेका थिए। उनी २०७० को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) बाट समानुपतिक सांसद बनेका हुन्।
२०७९ मा निर्वाचन जितेका वीरेन्द्र महतो यसपटक सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका छन्। महतो २०८० सालमा वनमन्त्री बनेका थिए।
जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट राजकिशोर यादवले उम्मेदवारी दिएका छन्। यादव २०७९ को निर्वाचनमा सिराहा २ बाट विजयी थिए।
२०७४ मा भने उनी सिराहा ४ बाटै विजयी भएका हुन्। २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचन जितेका यादवले २०७० मा भने हारेका थिए।
२०६९ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका यादव २०७८ सालमा केही समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
यो क्षेत्रमा उम्मेदवार बनेका अर्का पूर्वमन्त्री विश्वेन्द्र पासवान हुन्। २०६४ र २०७० को निर्वाचनमा समानुपातिक सांसद बनेका पासवान २०७३ सालमा विज्ञान प्रविधि मन्त्री बनेका थिए। पासवान यसपटक बहुजन शक्ति पार्टीबाट उम्मेदवार बनेका छन्।
यो क्षेत्रमा कांग्रेसले चन्द्रकला कुमारी यादवलाई उम्मेदवार बनाएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट तपेश्वर यादव उम्मेदवार बनेका छन्।
२०७९ को निर्वाचनमा यो क्षेत्रबाट समानुपातिक तर्फ सबैभन्दा धेरै मत जनमत पार्टीले पाएको थियो। जनमतले १६ हजार १६० मत ल्याउँदा जसपाले १० हजार ८५१ मत ल्याएको थियो।
एमालेले ९ हजार १०७ ल्याउँदा चौथोमा रहेको माओवादीले ६ हजार ६६५ मत ल्याएको थियो।
नेपाली कांग्रेसको समानुपातिक मत ६ हजार २१९ थियो भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३ हजार ७७९ मत लयाएको थियो।
तत्कालीन नेकपा एकिकृत समाजवादी (हालको नेकपा) ले ३ हजार ८६ मत ल्याएको थियो भने रास्वपाले १८ सय ल्याएको थियो।
२०७९ सालको स्थानीय निर्वाचनमा भने यो क्षेत्रमा एमालेले धेरै वडा जितेको थियो। यो क्षेत्रमा मिर्चैया नगरिपालिका, कर्जन्हा नगरपालिका,कल्यापुर नगरपालिका, विष्णुपुर गाउँपालिकाको ३ र नरहा गाँउपालिकाको ३ वटा गरी ४१ वटा वडा पर्छन्।
जसमध्ये एमालेले १५ वटा वडा जितेको थियो। जसपाले ९ अनि माओवादी केन्द्रले ६ वटा जितेको थियो। नेपाली कांग्रेसले ५, जनमत पार्टी र नेकपा एकिकृत समाजवादीले २\२ ओटा वडा जितेको थियो।
स्वतन्त्र उम्मेदवारले २ वटा वडा जितेका थिए।