वस्तु, विषय र विचारलाई विश्वव्यापी बनाउने एउटा अदृश्य प्रवृत्ति वा प्रक्रिया मानिन्छ विश्वव्यापीकरणलाई। यसबाट लाभ लिन सक्नेहरु सकरात्मक पक्षपोषण गर्दछन् र नसक्नेहरु यसप्रति नकरात्मक धारणा बनाँउछन।
तर सन् २०२० को सुरुआतसँगै वैश्विक महामारीको रुपमा द्रुतरुपमा कोभिड-१९ को अनपेक्षित फैलावटसँगै विश्वव्यापीकरण सम्बन्धमा अनेकन बहसहरु चल्न थालेका छन। के विश्वव्यापीकरण कोमा (प्रगाढ बेहोशी/अचेतन अवस्था) मा नै गएको हो त?
महामारी र यसका असरहरु साम्य भईसकेपश्चात महामारी पूर्व जस्तै सम्पुर्ण गतिविधिहरु पुर्नजार्गित हुनेछन त? विभिन्न राष्ट्र र कम्पनीहरुले लिने वैदेशिक लगानी, पुँजी परिचालन लगायतका नीतिहरु पहिलेको जस्तै होलान त? मानिसहरुको आवतजावत पहिलेजस्तै होला त?
यी प्रश्नहरुको जवाफ समयसँगै आउनेछन्। यही अवस्था हुन्छ भनी अहिलेनै अवक्षेपण गरिहाल्नु त्यति सान्दर्भिक नहोला। विश्वव्यापीकरणको सिद्धान्त जस्तै यो कोरोना भाइरस पनि न कुनै राज्य वा सरकारको वशमा रह्यो, न कसैको चाहनामा निर्भर, न त कुनै जात, वर्ण, धर्म, पेशा वा थरमा सिमित, न आर्थिक हैसियतमा परिमित। उत्पत्तिको केही दिनमै विश्व स्वास्थ्य संगठनबाट वैश्विक महामारीको रुपमा घोषित भयो र विश्वको जुनसुकै कुनाका मानव जातिको लागि खतराको रुपमा चित्रित भयो।
विश्वव्यापीकरणको चरित्र उल्लेख गर्दा यो कुनै राज्यले चाहन्छ वा चाहँदैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यसलाई सकरात्मक रुपमा लिएर परिचालन र व्यवस्थित रुपमा अवलम्बन गर्न सकेमा फाइदा नत्र क्षति।
यो बहुआयामिक प्रक्रियाको तुलनात्मक रुपमा सबल पक्ष भनेको आर्थिक पक्ष हो। आर्थिक क्षेत्रमा गरिएको व्यापक परिवर्तनको प्रभाव अवश्य पनि राजनीतिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा पर्न जान्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् १९३० को आर्थिक मन्दीपछिकै सबैभन्दा खराब मोडमा पुगेको साथै विभिन्न देशहरुले मानव र वस्तुहरुको स्वतन्त्र आवागमनमा खेलेको भूमिकाले विश्वव्यापीकरणबाट दशकौंको लाभलाई उल्टाउने खतरा देखाएको चेतावनी समेत दियो।
साच्चैनै, विश्वव्यापीकरणको रफ्तार विज्ञान र प्रविधिको विकाससँगै चामत्कारिक रुपमा अगाडि बढदै थियो र नतिजास्वरुप यात्रामा भएको सहजिकरणले कोभिड-१९ लाई पनि छिटो फैलिन मद्दत गर्यो। यो अदृश्य भाइरस इन्टरनेटको गतिभन्दा पनि छिटो घातिय (एक्सपोनेन्सियल) गतिमा फैलियो।
फलस्वरुप सडकमा तीव्र गतिमा गुडिरहेको कारको चक्कामा अचानक गोली लाग्यो भने जुन स्थिति सिर्जना हुन्छ, त्यस्तै भएको छ विश्वव्यापीकरणको अवस्था। कोरोना भाइरसको यस अनपेक्षित आक्रमणले यस सम्बन्धमा नकरात्मक धारणा राख्नेहरु भन्दैछन्, यो प्रकोपले विश्वव्यापीकरणमा पूर्णविराम लगाँउदैछ।
विश्वव्यापी परिस्थिति हेर्दा विगतका महामारी र अहिलेको परिस्थितिमा ठूलो अन्तर छ। शक्तिशाली देशहरु र तिनका सक्षम प्रयोगशालाहरु आफूलाई अब्बल साबित गर्न रातदिन काम गरिरहेका छन्। केही राष्ट्रहरु आर्थिक रुपमा क्षति हुने भय र अस्तित्वमा धक्का पर्ने आशंकामा बन्द गरेर समाधान गर्नुभन्दा लडेरै सावित गर्न खोज्दैछन्।
तेश्रो विश्वका विकासोन्मुख मुलुकहरु यस्तो महामारी भित्रियो भने लड्ने सामर्थ्य विकास नभईसकेको आँकलन गर्दै लकडाउन गरेर बसेका छन्। कहिँकतै अदृश्य भाइरसको आक्रमणले हुने मृत्युभन्दा अगावै लकडाउनले निम्त्याउने आर्थिक समस्या जटिल हुने महशुस गरी लकडाउनको विरोध भएको छ। जैविक हतियार भनी आरोप प्रत्यारोप र त्यसका राजनीतिक आयामहरु पनि देखिँदैछन।
विश्व परिवेशमा केही महिनायता घटेका दृष्टान्तहरुले समेत के दर्शाउन खोज्दैछ भने संकटको समयमा विश्वव्यापी सहयोग र एकताको आदर्श पनि मर्दैछ। विश्वव्यिपकरणका सिद्धान्त, सहयोग र स्वतन्त्र आवागमनका लागि मौलाएका क्षेत्रिय एकताहरु महामारीको समयमा विपरित प्रतिक्रिया देखाएका छन्।
महाशक्ति अमेरिकाको कुरा गर्दा मेक्सिको र क्यानाडाको बोर्डर युद्धको समयमा समेत खुल्ला थिए तर अहिले बन्द गरिए। युरोपबाट हुने हवाई यात्रामा प्रतिबन्ध लाँउदा ट्रम्प प्रशासनले युरोपियन सहयोगीहरूसँग परामर्श गर्नु आवश्यक ठानेन।
ट्रम्प प्रशासनलाई जर्मनीको खोप अनुसन्धानमा परामर्श बिना नै विशेष अधिकार प्राप्त गर्न खोजेको आरोप लाग्यो। आन्तरिक बजार भित्र मानिस, सामान, सेवा र पुँजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने उद्धेश्यले स्थापना भएको युरोपियन युनियनको सहयोग र एकतालाई कोभिड-१९ ले अझ बढी तनावपूर्ण बनायो।
इटालीमा महामारी फैँलदो हुँदा फ्रान्स र जर्मनीले इटालीमा सुरक्षात्मक मेडिकल सामाग्रीहरुको निर्यातमा प्रतिबन्ध लगायो। हंगेरी र पोल्याण्डले एकतर्फी आफ्नो सिमा बन्द गर्यो। स्विट्जरल्याण्डले आयात गरेको मेडिकल सामाग्रीहरु जर्मनीले जफत गर्यो। विश्वभरिका देशहरूले अहिले मानिसहरुको आवागमन प्रतिबन्ध गरेका छन।
यस्ता उदाहरणहरु हेर्दा त अब विश्वव्यापीकरण र त्यसबाट हुने फाइदाहरुबाट लाभ लिनेभन्दा पनि विदेशीहरुलाई खतरा हो भन्ने र मानिसहरुको स्वतन्त्र आवतजावतसँग सम्बन्धित जोखिमहरुको बारेमा नयाँ जागरूकता उठाएको छ नै साथसाथै अर्को कुरा संकटमा परेका देशहरु जहिले पनि आ-आफ्ना छिमेकीहरु सहयोगका लागि सहयोगीको रुपमा भरोसा गर्न सक्दैनन् भन्ने कुरा बढाएको छ।
विश्वव्यापीकरण अवसानको बाटोतिर लागेको होकी भन्ने अनुमान लगाउन सकिन्छ। विश्वव्यापीकरणको विश्वव्यापी भावना महामारीको अगाडि पनि लुप्त भइरहेको थियो र अहिले भेट्टाउन गाह्रो परिरहेको छ।
पक्कै पनि एकपटक महामारीको लहर स्थिर भईसकेपश्चात यी प्रतिबन्धहरू हटाइनेछ र विगतका यी अशुभ र त्रासदीपूर्ण महिनाहरूले विश्वलाई विश्वव्यापीकरणको जोखिम सम्बन्धमा नयाँ पाठ दिनेछ। विश्वव्यापीकरणको त्यो रफ्तारलाई पुनः सोही गति र लयमा कुदाउन पक्कै केही समय लाग्नेछ।
आजसम्म जसरी वस्तुहरू, सेवाहरू, पुँजी, व्यक्ति, डाटा, र विचारहरूको विश्वव्यापी आपसमा सम्बन्धले निर्विवाद लाभहरू उत्पादन गरेको थियो, तर यस महामारी पश्चात महत्वपूर्ण निर्णय लिनु अगाडि निश्चित रूपमा वैश्विक सम्बन्धका जोखिमहरुलाई एक पटक केलाइनेछ।
वास्तवमा प्रकोप हुनु अघि नै विश्वव्यापीकरणको पतन सुरु भइसकेको थियो। विगत केही समयदेखिनै शक्तिशाली मुलुकहरूमा राष्ट्रिय सिमा सुदृढीकरण गर्ने प्रवृत्ति राजनीतिक प्रचारको रुपमा प्रकट हुँदै गएको थियो। बढ्दो असमानता र विश्वव्यापीकरणको प्रगतिबाट जनसंख्याको केही वर्गमा बढ्दो बोझको कारण ब्रेक्सिट, बहुपक्षीय युरोपेली देशहरूमा विदेशी विरोधी भावनाको साथ जनवादको उदय, र ट्रम्प प्रशासनको अमेरिका पहिलो नीतिहरु प्रोत्साहित हुँदै गएका थिए।
अहिले यो प्रकोप नाभवादी, राष्ट्रवादी र संरक्षणवादीहरुको लागि उपहार नै भएको छ। कोरोना कहरको उदाहरण दिँदै फेरि एकपटक भन्ने छन्- सिमामा पर्खाल लगाउनै पर्दछ। जसले गर्दा मानिस र सामानको स्वतन्त्र आवागमनमा दीर्घकालिन असर पार्ने देखिन्छ। लाग्दैछ, विश्वव्यापीकरण र यसको प्रवृत्ती कोरोना भाइरस महामारी पछि धेरै फरक देखिनेछ।
वैश्विक मन्दी अब निश्चित छ र दिन बित्दै जाँदा कोरोना भाइरसको आर्थिक गाम्भीर्यता स्पष्ट हुँदै जानेछ। चीन केन्द्रित भएर उत्पादनमा लागेका कम्पनीहरु एकपटक सोच्नेछन्। दीर्घकालिन परिणामहरु बारेमा सोच्दा व्याक्ति, कम्पनीहरु र सम्भवत सरकारहरु पनि जटिल आकस्मिक सम्झौताको माध्यमबाट आफूलाई बचाउने प्रयास साथै भविष्यको परिदृश्यमा कसरी लैजानै भनि बहस चल्नेछ।
अहिले नै विश्वव्यपिकरण अवसानको बाटो लागेको अवक्षेपण गरिहाल्नु त उचित नहोला तर कोमामा रहेको छ र यसलाई जगाउन एउटा छुट्टै किसिमको बहस आवश्यक पर्ने देखिन्छ।
महामारीले विश्वलाई नै आक्रान्त पारिरहेको परिप्रेक्ष्यमा हाम्रोजस्तो अल्पविकसित मुलुकहरुले पनि विभिन्न क्षेत्रमा मुल्य चुकाउनु पर्नेछ। विशेषत: पर्यटन र रेमिट्यान्सबाट प्राप्त हुने आयमा ठूलै धक्का लाग्ने देखिन्छ। नेपालको रेमिट्यान्स क्षेत्रले हाच्छ्यु गर्दा अर्थतन्त्रमा चिसो लागेको मान्नुपर्ने बाध्यता छ।
साथै भिजिट नेपाल २०२० मा धेरैभन्दा धेरै पर्यटकहरु भित्र्याएर विदेश मुद्रा आर्जन गर्ने नेपालको सरकारको नीति र तयारी चौपट भएको छ। विश्वका विभिन्न कल कारखानाहरु बन्द भईरहेका छन्। उत्पादनमा कटौति हुँदै गएको छ। यसले गर्दा आपूर्ति श्रृङ्खलाहरुमा अवरोध भईरहेको छ।
विश्वव्यापीकरणको घाम लाग्दै गर्दा वैदेशिक रोजगारीको नाममा ठूलो संख्यामा नेपालीहरु विविध कारणले विदेशिन बाध्य हुनुपर्यो। अहिले विश्वव्यापीकरण अस्ताउला कि जस्तो परिदृश्यमा रहेको छ र योसँगै विदेशमा भएका नेपालीहरुले रोजगारी गुमाउने छन् र पुनः स्वदेश फर्कन बाध्य हुनेछन्।
तत्पश्चात हामीले हाम्रो सीपयुक्त मानव पुँजी व्यवस्थापन गरी सफल अवतरण गर्नुपर्ने हुन्छ। विश्वव्यापीकरणबाट सिर्जित अवसरस्वरुप विदेशमा सिकेका सीप उपलब्धिलाई स्थानीयकरण गर्ने उपयुक्त समय मानी कम चुनौती ज्यादा अवसरको रुपमा लिएर वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुरुपका नीतिहरु तर्जुमा गरी राज्य अगाडि बढ्न सकेमा अवश्य पनि एक स्वाधिन अर्थतन्त्र निर्माणको बाटोतर्फ लाग्नेछौँ, जुन सामयिक आवश्यकता पनि हो।