जीवन हरेक व्यक्तिले आ–आफ्नै तरिकाले बुझ्ने र भोग्ने यथार्थ हो।
एउटै समय, एउटै संसार, तर अनुभूति भने सबैका फरक–फरक।
जीवन वास्तवमै एउटा अनौठो यात्रा रहेछ—जहाँ उभिएर हामीले हरेक उतार–चढावसँगै संघर्षका खुड्किला चढ्नुपर्छ।
कहिले दुःखसँग सम्झौता गर्दै, कहिले सुखसँग आशा गाँसेर, हामी निरन्तर अगाडि बढिरहन्छौँ। जीवन एक यात्रा हो र हामी त्यसका यात्री।
जीवन अनेक विरोधाभासहरूको संगम हो—मिलन र विछोड, हाँसो र आँसु, घाम र छाया, पीडा र वेदनाको सम्मिश्रण।
जीवनको अभिन्न अंग भए पनि, जीवन जिउने क्रममा हामी हरेक दिन, हरेक क्षण, तिता–नमिठा अनुभवहरू भोगिरहेका हुन्छौं। वास्तवमा जीवन संघर्षबिनाको हुनै सक्दैन। संघर्ष नै जीवनको मूल पाठ हो।
तर पनि प्रश्न उठ्छ—कहाँ मिलेन जीवनको तालमेल?
अहिलेसम्म न त स्पष्ट सफलता भेटिएको छ, न त लक्ष्य प्राप्तिको सन्तोष। मन आज प्रश्नहरूको भारी बोकेर उभिएको छ। जीवनको आधा यात्रासम्म आइपुग्दा कुन मोडमा तालमेल छुट्यो, म आफै छुट्याउन सकिरहेको छैन।
जीवन पनि एक किसिमको साम्राज्य जस्तै लाग्छ—जहाँ प्रत्येक दिन नयाँ युद्ध लडिन्छ। तर त्यो साम्राज्यभित्र मेरो आफ्नै बाटो मैले भेटाउन सकिनँ।
नजिकबाट नियाल्दा पनि किन मैले आफ्ना यात्राहरू पूरा गर्न सकिनँ? संगालेका सपना, योजना र लक्ष्यहरू कहाँ हराए—कुन मोडमा छुटे—उत्तर छैन। अनुभवहरू छन्, मिठा पनि छन्, तिता पनि छन्, तर ती अनुभवभित्र हराएका सपनाहरू खोज्दै आज म अझै अलमलमै छु।
आज आधा उमेरमा आइपुग्दा पनि जीवनलाई सानो र ठूलो बाटोमा छुट्याउन सकिनँ। के रहेछ जीवन? कहाँ छुट्यो यात्रा? पुग्न नसकिने गन्तव्य रोजेको थिएँ कि, कि गलत दिशातिर हिँडिरहेँ?
प्रिय जिन्दगी, कहाँ बिग्रियो मेरो तालमेल?
नदी बग्छ, अन्ततः समुद्रतिर नै। परमेश्वरले असम्भव बिनाको संसार सृष्टि गर्नुभएको हो भने मैले किन आफ्नो सफलताको किनार समात्न सकिनँ?
आज म आफैभित्र प्रश्नले भरिएको छु।
'आज होइन, भोलि होला' भन्दै–भन्दै आधा जीवन बितिसकेको छ, तर त्यो भोलि अझै आएको छैन।
जीवनमा हार र जित स्वाभाविक हुन्। तर हार–जित गर्नसक्ने त्यो ठोस थलो मैले भेटाउन सकिनँ। व्यापारको नाफा–नोक्सान जस्तै, जीवनको पनि लेखाजोखा हुनुपर्थ्यो। तर मेरो यात्राको हिसाब–किताब आजसम्म अधुरै छ। अरूका लागि काम गरेँ, जागिर खाएँ, केही समय जीवन चले पनि आज आएर मात्र जीवनको मूल्य बुझ्न थालेको छु। उमेरसँगै जीवन ऐनाजस्तै छर्लंग देखिँदो रहेछ, र त्यो स्पष्टताले झन् पीडा दिन्छ।
पैदल यात्रामा गन्तव्य निश्चित हुन्छ। तर मेरो जीवनको गन्तव्य अनिश्चित रह्यो। आज म खाली पानाजस्तै छु—जहाँ लेखिनुपर्ने शब्दहरू हराएका छन्। ती शब्द नपाउँदा कहिलेकाहीँ जीवन नै अर्थहीन जस्तो लाग्छ।
जन्मपछि बाँचुन्जेलसम्म संघर्ष र अन्ततः मृत्यु—यही जीवनको सत्य हो।
तर जीवन लरखरिँदा, कहिलेकाहीँ शून्यता गहिरिन्छ। प्रश्नहरू उब्जिन्छन्—उत्तर र तालमेल कतै देखिँदैनन्। समय निरन्तर बगिरहेको छ, तर म भने उहीँ अड्किएजस्तो महसुस गर्छु।
समय कसैको प्रतीक्षा गर्दैन। बगेको खोला फर्कँदैन। समय अनादि र अनन्त छ—न यसको आदि छ, न अन्त्य।
समय आफ्नै गतिमा अघि बढिरहेको छ, तर मेरो जीवनको गति किन स्थिर छ? योजना छन्, कल्पना छन्, तर तिनलाई प्रयोग गर्ने ठाउँ कहाँ छ? कुन हाँगो समातेर अगाडि बढ्ने?
आज ऐनाअगाडि उभिएर आफैलाई सोध्छु—के भयो त तालमेल? सपना किन अधुरा रहे? सबै कुरा खोजिरहेको छु, तर केही भेटिँदैन।
'समय आउँछ' भन्छन्, तर त्यो समय कहिले आउँछ? यो प्रश्न आज ममाथि नै भारी बनेर बसेको छ।
जीवन दुखेन भनेको होइन। तर दुःखको अर्थ के हो? जीवन नितान्त व्यक्तिगत यात्रा हो, तर त्यस यात्रालाई ठोस बिन्दुमा पुर्याउन नसक्दा पीडा अझ गहिरो हुन्छ। धेरै किताब पढेर होइन, जीवन भोगेर धेरै कुरा सिकेँ। तर आज आएर असफलताको अनुभूति अझ स्पष्ट छ।
जीवन खोज्दै–खोज्दै आफै हराएँ कि जस्तो लाग्छ। सबै गरेँ जस्तो लाग्छ, तर अन्ततः के पाएँ? जीवन एकदिनको चोला हो भन्ने कुरा आज मात्रै गम्भीर रूपमा बुझेको छु। जीवनले घाइते बनाइसकेको छ, तर यो कथालाई बदल्ने आशा अझै बाँकी छ।
सायद जीवनको तालमेल कुनै निश्चित बिन्दुमा होइन, निरन्तर खोजमा नै लुकेको हुन्छ।
अझै भेटिएको छैन मेरो जीवनको तालमेल तर खोज भने जारी छ।