भदौ १० गतेको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएको शव जसै चितवनको नारायणी नदी किनार आइपुग्छ, पहिलो प्रश्न उठ्छ —
'यी को हुन्?'
कपडा भेटिन्छ।
साथमा मोबाइल वा केही सामान पनि भेटिन सक्छ।
शरीरमा कुनै चिन्ह हुन सक्छ।
कसैको त ट्याटू पनि फेला पर्छ।
त्यसपछि त्यो शवको फोटो खिचिन्छ।
तर पानी, हिलो, चोट र कुहिने प्रक्रियाले अनुहार नै नचिनिने उक्त शव हेरेर मान्छे पहिचान गर्न सकिँदैन।
अन्तर्राष्ट्रिय अभ्यासमा यस्तो शव पहिचान गर्न डिएनए परीक्षणलाई वैज्ञानिक प्रमाणका रूपमा प्रयोग गरिन्छ।
यसका लागि पहिचान खुल्न नसकेको शवबाट डिएनएको एउटा सानो नमूना लिइन्छ।
त्यही सानो नमूनाले अपरिचित शवलाई फेरि उसको परिचयसम्म पुर्याउन सक्छ।
तर यस्तो डिएनए परीक्षण कसरी गरिन्छ?
रगत वा शरीरबाट निकालिने त्यो सानो नमूनाले कसरी भन्न सक्छ — यो शव फलानो व्यक्तिको हो?
टिचिङ अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
डिएनए भनेको के हो?
पहिले एउटा कुरा बुझौं — शरीरको हरेक कोशिकाभित्र हाम्रो वंशसँग सम्बन्धित आनुवांशिक सूचना हुन्छ। त्यसको एउटा प्रमुख वाहक हो डिएनए, अर्थात् 'डिअक्सिराइबोन्युक्लिक एसिड'।
टिचिङ अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार डिएनए व्यक्तिको शरीरमा रहेको आनुवांशिक सूचना बोकेको पदार्थ हो।
'डिएनएले एक पुस्ताबाट अर्को पुस्तामा शारीरिक तथा वंशाणुगत गुणहरू लैजाने काम गर्छ। मानिसमा हुने ४६ वटा (२३ जोडी) क्रोमोजोममध्ये २३ वटा आमाबाट र २३ वटा बुबाबाट प्राप्त हुन्छन्,' उनले सेतोपाटीसँग भने, 'डिएनएले एउटा व्यक्तिको जैविक पहिचानसँगै उसको पारिवारिक सम्बन्धबारे पनि सूचना दिन्छ।'
मृतक आमाबुबा छन् भने डिएनए परीक्षणका लागि छोराछोरी सबभन्दा उपयुक्त हुन्छन्।
कुनै कुनै अवस्थामा दाजुभाइ–दिदीबहिनीसँग पनि डिएनए परीक्षण गर्न सकिन्छ।
तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ —
यदि सन्तानको डिएनएमा आधा आमाको र आधा बाबुको अंश हुन्छ भने आमाबाबुको डिएनए र सन्तानको डिएनए एउटै कसरी हुन्छ?
वास्तवमा एउटै हुँदैन।
डिएनए परीक्षणले आमाबाबु र छोराछोरीको डिएनए हुबहु मिल्छ कि मिल्दैन भनेर मात्रै हेर्दैन।
यसका लागि वैज्ञानिकहरूले डिएनएका निश्चित स्थानमा रहेका आनुवांशिक संकेतहरू भिडाउँछन्। यसलाई 'डिएनए मार्कर' भनिन्छ। फरेन्सिक परीक्षणमा यस्ता मार्करमध्ये एसटिआर (Short Tandem Repeat) महत्त्वपूर्ण हुन्छन्।
सन्तानले हरेक सम्बन्धित स्थानमा एउटा आनुवांशिक अंश आमाबाट र अर्को बाबुबाट पाउँछ। त्यसैले बाबु र छोराको डिएनए प्रोफाइल उस्तै नभए पनि उनीहरूबीच जैविक सम्बन्ध हुनुपर्ने किसिमको समानता पक्कै देखिन्छ।
यही सम्बन्धलाई धेरैवटा मार्करमा जाँचिन्छ।
प्रयोगशालामा शवबाट लिइएको नमूना र जीवित आफन्त (आमा, बुबा वा सन्तान) को रगतबाट तयार पारिएको डिएनए प्रोफाइललाई विशेष सफ्टवेयरमा हालेर मिलान गरिने प्रमुख चौधरी बताउँछन्।
'नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको फरेन्सिक साइन्स ल्याबोरेटरीले CODIS (Combined DNA Index System) प्रविधि प्रयोग गर्छ,' उनले भने, 'यो प्रणालीले क्रोमोजोमका विभिन्न ठाउँमा रहेका STR वा Loci (Markers) हरूको मिलान गर्छ।'
कोडिस प्रणालीमा कम्तिमा २० वटा मार्कर हेरिन्छ। यदि आमा वा बुबासँग सन्तानको डिएनए भिडाइँदै छ भने ती २० मार्करमध्ये कम्तिमा १० वटा (आधा) अनिवार्य रूपमा मिल्नैपर्छ।
त्यसैले यहाँ बुझ्नुपर्ने कुरा के भने, डिएनए परीक्षणको प्रश्न दुईवटा डिएनए उस्तै छन् कि छैनन् भन्ने मात्र होइन।
बरू यी दुई व्यक्तिबीच जैविक सम्बन्ध प्रमाणित हुने गरी डिएनए मार्कर मिल्छ कि मिल्दैन भन्ने हो।


शवको कुन भागबाट डिएनए निकालिन्छ?
अब फेरि शवमै फर्किऔँ।
बाढी, पहिरो वा पानीमा डुबेर धेरै दिनपछि भेटिएका शवबाट डिएनए निकाल्न सकिन्छ कि सकिँदैन?
चौधरीका अनुसार १०/१५ दिन वा महिनौंपछि फेला परेका, कुहिएका वा अस्थिपञ्जर मात्र बाँकी रहेका शवबाट पनि डिएनए परीक्षण सम्भव हुन्छ।
'शव ताजा छ भने उपयुक्त जैविक नमूनाबाट डिएनए निकाल्न सकिन्छ। तर बाढीले बगाएको शव धेरै दिनपछि भेटिएको छ, शरीर कुहिसकेको छ वा छिन्नभिन्न भएको छ भने रगत वा नरम तन्तुबाट नमूना लिन कठिन हुन्छ। यस्तो अवस्थामा दाँत र हड्डी महत्त्वपूर्ण हुन्छ,' उनले भने।
डा. चौधरीका अनुसार दाँतको भित्री भाग र हड्डी तुलनात्मक रूपमा कडा हुने भएकाले त्यसमा रहेका आनुवांशिक सामग्री कुहिने प्रक्रियाबाट जोगिन सक्छ।
'कुहिएको वा बिग्रिएको शवका लागि दाँत र हड्डी सबभन्दा उत्तम नमूना मानिन्छ। दाँतको भित्री भाग र हड्डी कडा हुने भएकाले बाहिरी वातावरण, तापक्रम वा कुहिने प्रक्रियाले यसभित्रका कोशिकाहरूलाई सजिलै नष्ट गर्न सक्दैन,' उनले भने।
उनले अगाडि भने, 'यदि शव आगोमा डढेर पूरै खरानी भइसकेको छ भने मात्र डिएनए निकाल्न सकिँदैन, तर कुनै भाग वा कोशिका जल्न बाँकी छ भने त्यसबाट डिएनए निकाल्न सकिन्छ।'
त्यसैले शवको अनुहार हराइसकेको भए पनि डिएनए हराइसकेको हुन्छ भन्ने होइन।
शरीरको बाहिरी रूप मेटिन सक्छ। तर शरीरको कुनै सुरक्षित भागमा बाँकी रहेको डिएनएले पहिचानको बाटो खोल्न सक्छ।
जीवित मानिसबाट डिएनएको नमूना लिन भने रगत प्रयोग गरिन्छ। विकसित देशहरूमा मुखभित्र कपास घुमाएर नमूना लिने प्रविधि छ। नेपालमा भने रगत नै मुख्य माध्यम बनेको चौधरी बताउँछन्।


शवसँग भेटिएको परिचयपत्र पर्याप्त किन हुँदैन?
शव सग्लो छ र बाहिरबाटै चिन्न सकिने अवस्थामा छ भने एउटा मात्रै मार्कर वा आँखाले हेरेरै पहिचान गर्न सकिन्छ।
तर अहिलेजस्तो टुक्रा टुक्रा फेला परेर कुहिन थालेका, छिन्नभिन्न भएका र अनुहार चिन्न नसकिने शव पहिचानका लागि कागजपत्र वा लुगालाई आधार मान्न सुरक्षित नहुने चौधरी बताउँछन्।
उनका अनुसार दुर्घटना वा विपद बेला एकै ठाउँमा रहेका धेरै मानिसका सामान, लुगा वा कागजपत्र अर्को शरीरमा पर्न वा साटिन सक्ने सम्भावना उच्च हुन्छ।
'त्यसैले शव कुहिएको अवस्थामा नागरिकता वा परिचयपत्र भेटिए पनि त्यसलाई थप वैज्ञानिक प्रमाणले पुष्टि गर्नुपर्छ,' डा. चौधरीले भने।
पछिल्लो समय ट्याटूका कारण शव पहिचान सहज भएका उदाहरण पनि छन्। तर ट्याटूको पनि आफ्नै सीमा छ।
आजकल धेरैजसो ट्याटू स्टुडियोहरूमा गरिन्छ। उही प्रकारका ट्याटू धेरै मानिसले एउटै शैलीमा बनाएका हुन्छन्।
धेरै जनाको शरीरमा एकै खालको ट्याटू छ भने यसको 'भेरियसन' कम हुन्छ र पहिचानमा अन्य वैज्ञानिक विधि अपनाउनुपर्ने उनी बताउँछन्।
भदौ १० को बाढीमा किन डिएनए आवश्यक पर्यो?
भदौ १० को बाढीपछि टिचिङ अस्पतालमा आएका शवले यो प्रक्रियाको जटिलता देखायो।
डा. चौधरीका अनुसार शरीरका विभिन्न भाग राखिएका २५२ वटा झोला अस्पतालको पोस्टमर्टम कक्षमा आइपुगेका थिए।
विभिन्न ठाउँबाट निकालेर ल्याइएका शव एकदमै कम संख्यामा मात्र सग्ला थिए। धेरैजसोका शरीरका विभिन्न भागका टुक्रा आइपुगेका थिए।
कहिलेकाहीँ एउटै व्यक्तिको भनेर ल्याइएका दुईवटा हात समेत परीक्षणपछि फरक फरक व्यक्तिको भएको भेटियो।
'एउटै व्यक्तिको भनेर ल्याइएको दुईवटा हात पनि कतिपय अवस्थामा फरक फरक व्यक्तिको थियो,' उनले भने, 'कतिपय फरक फरक व्यक्तिको भनेर ल्याइए पनि एउटै व्यक्तिको भेटियो।'
त्यसैले यहाँ प्रश्न केवल 'शव कसको हो?' भन्ने थिएन।
प्रश्न 'यो शरीरको कुन भागको हो?' भन्ने पनि थियो।
त्यसको उत्तर खोज्न डिएनए जस्ता वैज्ञानिक परीक्षण आवश्यक भयो।
यसका लागि शव अस्पताल ल्याइपुर्याउने बित्तिकै ती शवलाई चिकित्सकले चिन्न सक्ने गरी पहिचान नम्बर दिइन्छ। शव छिन्नभिन्न भएर पोका पारेर ल्याइए त्यसमा ट्याग लगाएर अस्पतालको रेकर्डमा राखिन्छ।
त्यसपछि प्रारम्भिक दृश्य परीक्षण र बाह्य वस्तुको अभिलेख गरिन्छ।
यसमा फरेन्सिक डाक्टरहरूले शवको कपडा, साथमा फेला परेका बहुमूल्य वस्तु (गहना, घडी, वालेट), नागरिकता, ड्राइभिङ लाइसेन्स वा अन्य कागजातको छुट्टाछुट्टै टिपोट बनाउँछन् र तिनलाई सुरक्षित राख्छन्।
'सनाखत र कानुनी प्रक्रियाका लागि शवको अवस्था जस्ताको तस्तै रहने गरी विभिन्न कोणबाट फोटो तथा भिडिओ खिचिन्छ। विशेषगरी अनुहार, शरीरका विशिष्ट चिह्न (जस्तै– ट्याटू, खत, शल्यक्रिया गरेका दाग) र लगाएका कपडाको स्पष्ट फोटो लिइन्छ,' चौधरीले भने, 'त्यसपछि शवलाई थप कुहिन वा बिग्रिन नदिन सफा गरेर फरेन्सिक मर्चरीको कोल्ड चेम्बर (० देखि ४ डिग्री सेन्टिग्रेड) मा सुरक्षित राखिन्छ।'
यसरी टुक्राटुक्रा आएका शवको डिएनए परिक्षण लागि नमूना संकलन गरेर व्यवस्थापन गर्न दिइएको छ। यसमा हालसम्म १६१ वटा व्यवस्थापनका लागि पठाइएको छ भने २४ जनाको शव सनाखत भइसकेको छ।
पोस्टमर्टमका लागि टिचिङ अस्पताल मात्र नभई अन्य विदेशी चिकित्सकहरूले समेत सहयोग पुर्याइरहेको उनी बताउँछन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***


