सामाजिक सञ्जालमा अहिले एउटा अनौठो 'नोस्टाल्जिया' ट्रेन्ड चलिरहेको छ — आफ्नै तस्बिरलाई 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को सहायताले सन् १९८० दशकको शैलीमा बदल्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने।
यही ट्रेन्ड नेकपा एमालेले पनि पछ्याएको छ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूका '८० को दशक' को शैली झल्किने तस्बिर आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।
एमालेको फेसबुक पेजमा अध्यक्ष ओलीसँगै उपाध्यक्षहरू रामबहादुर थापा, पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, रघुजी पन्त र गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ लगायत नेताहरूका यस्ता तस्बिर राखिएका छन्।
एआईमार्फत तयार पारिएका यी तस्बिरमा नेताहरूलाई १९८० को दशकको फेसन, हेयरस्टाइल, चस्मा र पुरानो फोटो शैलीमा प्रस्तुत गरिएको छ।
हामीले यसबारे एमालेको प्रचार तथा प्रसार विभाग प्रमुख निरज आचार्यलाई सोध्दा उनले नेताहरूका तस्बिरलाई यस्तो शैलीमा सार्वजनिक गर्नुको कुनै राजनीतिक अर्थ नरहेको बताएका छन्।
'यसलाई कुनै राजनीतिक रूपमा लिनुपर्दैन। हामीले ट्रेन्ड फलो गरेका हौं। किनकि, सामाजिक सञ्जालमा के भइरहेको छ भनेर बुझ्न पनि जरूरी छ,' उनले सेतोपाटीसँग भने, 'यी तस्बिर राख्नुको अर्थ हामी समय अनुसार चलिरहेका छौं भन्ने पनि हो। अनि हामी अन्तर्क्रियात्मक हुन समेत खोजिरहेका छौं। यसले हामीलाई अरूको धारणा बुझ्न पनि सहज हुन्छ।'
सामाजिक सञ्जालमा चलिरहेको '८० को दशक' को ट्रेन्डले एमालेको राजनीतिक इतिहाससँग पनि एउटा रोचक संयोग जोडेको छ।
त्यो समय एमाले (तत्कालीन माले) भूमिगत अवस्थामा थियो। ८० को दशकको अन्त्यतिर मात्रै एमाले खुला राजनीतिमा आएको हो।
त्यति बेलाको भूमिगत एमाले र अहिले सामाजिक सञ्जालमा आफ्ना गतिविधि सार्वजनिक गरिरहेको एमालेबीचको अन्तरबारे आचार्यसँग सोध्दा उनले भने, 'त्यो बेला पार्टी भूमिगत थियो। त्यसैले हाम्रा गतिविधि पनि भूमिगत नै हुन्थे। त्यो बेला अहिले जस्तो सञ्चारको सुविधा पनि थिएन।'
'अहिले हामी खुला राजनीतिमा छौं। समाज पनि खुला र पारदर्शी छ। त्यसैले हामीले यसकै सिको गर्नुपर्छ। राजनीति समाजभन्दा बाहिर छैन,' उनले भने।
आचार्यका अनुसार यो केवल संयोग भने होइन। पार्टीको फेसबुक पेजलाई केही समयदेखि नै थप अन्तर्क्रियात्मक बनाउने प्रयास भइरहेको उनले बताए।
'युवापुस्तालाई पार्टीसँग जोड्न पनि हामीले यस्तो शैली अपनाएका हौं,' उनले भने।
एमालेले पछिल्लो समय पार्टीका गतिविधि र राजनीतिक धारणा सार्वजनिक गर्ने माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग बढाएको छ। सरकारले गरेका कामबारे पनि एमालेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिन थालेको छ।
यसै क्रममा एमालेको फेसबुक पेजमा प्रधानमन्त्री बालेन शाहको तस्बिर तथा भिडिओ राखेर एक मिनेट चार सेकेन्डको भिडिओ सार्वजनिक गरिएको छ।
उक्त भिडियोमा सरकारका चार कामलाई 'स्याबास' र चार कामलाई 'खबरदारी' गरिएको छ। एमालेले यस्ता भिडिओ हरेक साता सार्वजनिक गर्ने जनाएको छ।
केही दिनयता सामाजिक सञ्जालमा लोकप्रिय बनेको यो ट्रेन्डमा सर्वसाधारणदेखि सेलिब्रिटी र राजनीतिज्ञसम्म सहभागी भइरहेका छन्। यो ट्रेन्ड ठ्याक्कै कहाँबाट र कसले सुरू गर्यो भन्ने स्पष्ट प्रमाण छैन।
तर इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट फैलिएको यो एआई फोटो ट्रेन्ड पछिल्लो समय भारतमा समेत व्यापक बनेको छ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, शशी थरूर लगायतका नेताहरू यस ट्रेन्डसँग जोडिएका छन्।
कतिपयले एआईबाट तयार पारिएका '८० को दशक' का तस्बिर पोस्ट गरेका छन् भने कतिपयले त्यति बेलाका आफ्ना वास्तविक पुराना तस्बिर सार्वजनिक गरेका छन्।
यसरी सुरूमा मनोरञ्जन र नोस्टाल्जियाका लागि प्रयोग भएको यो ट्रेन्ड बिस्तारै राजनीतिक सामाजिक सञ्जाल सामग्रीको हिस्सा पनि बन्न थालेको छ।









