नेपाली कांग्रेसले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने भएको छ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अधिवेशनमा भाग लिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आह्वान पनि गरेको छ।
वडा अधिवेशनमा भाग लिने १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई अहिलेको केन्द्रीय समितिमा समेट्ने निर्णय पनि भएको हो।
महामन्त्री प्रदीप पौडेलले असोज ३ देखि सुरू हुने अधिवेशनमा भाग लिन आह्वान गर्ने निर्णय भएको बताए।
‘असोज ३ देखि सुरू हुने वडा अधिवेशनमा भाग लिन आह्वान गरेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘निवर्तमान केन्द्रीय सदस्यहरू वडा गएर अधिवेशनमा भाग लिनुभयो भने केन्द्रीय समितिमा समेट्ने निर्णय पनि भएको छ।’
कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय सदस्यहरू पनि सम्बन्धित वडाबाट निर्वाचित भई आउनुपर्नेछ, विगतजस्तो स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन।
वडा अधिवेशनमा भाग लिने १४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई त्यसपछि केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय भएको हो।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर गत पुसको विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा नरहेका १११ जना नेताहरूलाई केन्द्रीय सदस्य बनाउन सभापति गगन थापालाई आग्रह गरेका थिए।
सोही माग पूरा गर्न भन्दै कांग्रेसले वडाको अधिवेशनमा सहभागी भएका खण्डमा त्यस्ता नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो।
‘१४ औं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई अहिलेको कार्यसमितिमा मिसाउने निर्णय भएको होइन,’ अर्का पदाधिकारीले भने, ‘नेता चन्द्र भण्डारीले बाहिर बोलेजस्तो सबैलाई केन्द्रीय सदस्य बनाउने भनेका होइनौं, जो वडा गएर १५ औं महाधिवेशन प्रक्रियामा सहभागी हुन्छ ती नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने भनेको हो।’
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका करिब ३३ जना निवर्तमान केन्द्रीय सदस्य १५ औं महाधिवेशन प्रक्रियामा सामेल हुने तयारीमा रहेकोले बाटो खुला गरिएको पनि ती पदाधिकारीको भनाइ छ।
नेता भण्डारीले पत्रकारहरूसँग कुराकानी गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औं महाधिवेशनमा जाने बताएका थिए।
प्रवक्ता देवराज चालिसेले अद्यावधिक गरिएका र गत पुससम्म नवीकरण गरेका सबै सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकिएको छ र अब वडा-वडामा नामावली पठाइनेछ।
‘पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय साथीहरू पनि अहिले केन्द्रीय कार्यसमितिमा हुनुहुन्छ,’ उनले भने, ‘१४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई पनि आउने बाटो खुला गरिएको छ, १४ औं महाधिवेशनबाट आएका साथीहरू विधानअनुसार अधिवेशनमा भाग लिन पाउनेछन्।’
अधिवेशनमा जानुअघि पार्टी भित्रको एकताका लागि यस्ता निर्णयहरू गरिएको पनि उनले बताए।
‘केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन, वडामै जानुपर्छ, वडाबाटै निर्वाचित भएर आउनुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशनमा सहभागी नहुनु भएका निवर्तमान केन्द्रीय सदस्यहरू पनि वडामा गए केन्द्रीय सदस्य बराबर हैसियतमा हुनुहुन्छ।’
उनकाअनुसार असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन हुनेछ। काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन र बन्द सत्र चल्ने उनले बताए।