हरेक दिन सामाजिक सञ्जाल र भेटहरूमा परिवर्तन र विकासका छट्पटी पोख्छु।
छट्पटी देखेर अचम्म मान्छन्। कति हो क्या छट्पटी भनेर व्यङ्ग्य गर्छन्!
आफैलाई कहिलेकाहीँ छट्पटी बढी भएको भान हुन्छ। वास्तवमा यही छट्पटीले मलाई विदेशिन रोकेको थियो। त्यसैले समाजमा के हुँदैछ र कसरी चलिरहेको छ भनेर सधैं घोत्लिन्छु। समस्याका फेहरिस्त छन् मसँग। तर समाधानको अचुक उपाय चाहिँ ठ्याक्कै सिफारिस गर्न सक्दिनँ। किनकि समस्याहरू वर्षौंदेखि गुजुल्ट्याइएका छन् यहाँ।
लामो समय शैक्षिक क्षेत्रमा कार्य गरिरहँदा अनेकन मान्छेहरूका मनोविज्ञान बुझियो। विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकदेखि समाजका अनेक तह र तप्काका मान्छेसँग संगत भयो। मान्छेका सोच, स्वार्थ, अपेक्षा, आक्रोश र निराशा नजिकबाट देखियो। मान्छेको मनोविज्ञानले समाजको एउटा स्पष्ट चित्र देखायो।
सामाजिक सञ्जालका पोस्ट र जल्दाबल्दा विषयमा लेखेको देखेर जमघटमा मान्छेहरूले 'स्थानीय चुनावमा उठ्ने हो?' सोधे मलाई!
प्रश्नको उत्तर सिधा नदिई राजनीति गर्ने योग्यता छैन भनेर फिस्स हाँसिदिएँ।
'के चाहिन्छ र त्यस्तो योग्यता?' एक जना प्रश्न थियो।
योग्यता विनाको पेशा राजनीति हो भन्न मन थियो तर दबाएँ त्यसलाई।
भनिनँ।
प्रष्ट भनौँ त भनेर प्रश्नकर्तालाई नै प्रश्न तेर्स्याएँ। उसले टाउको हल्लायो। त्यसो भए ल सुन्नुस्।
'झुट बोल्ने, चुनावमा पैसा खर्च गर्ने, हावादारी आश्वासन दिने, बुथ कब्जा गर्ने' योग्यता चाहिन्छ। फटाफट भनिदिएँ।
साँच्चै भन्नुपर्दा, राजनीतिमा जान चाहन्नँ भनेको होइन, बरू राजनीतिमा भइरहेका कुरा थाहा पाएरै जान नचाहेको हो।
समाजले अहिले खोजेको राजनीतिक योग्यता र जीवनभर जोगाएर राख्न खोजेको योग्यता बीचमा व्यापक अन्तर छ। त्यो एकाएक परिवर्तन गर्न सक्दिनँ।
भन्दै गएँ म।
उनीहरू एकाग्र भई सुनिरहे। कमजोर संरचना र प्रणालीमा रातारात मान्छेहरू परिणाम खोज्छन्। अल्झिएका नियम-कानुन र कार्यप्रणालीले तत्काल परिणाम दिन सकिँदैन। पर्खिने धैर्यता मान्छेमा छैन। दुई–चार महिनामा परिणाम दिएन भने ‘यो पनि त्यही ड्याङको मूला हो’ भनेर सामान्यीकरण गर्छन्।
'भो, झन्झट नगरौँ!' अनि अर्को महत्त्वपूर्ण कुरा, ठ्याक्कै, 'म कुनै पार्टीमा छैन'।
पुरानाको आलोचना गरेको देखेर मान्छेहरू 'नयाँ' ठान्दा रहेछन्।
नयाँहरूसँग पनि हिमचिम छैन। व्यवहार हेर्दा आलाकाचा, उरन्ठेउला र विचारबिनाको भिड जस्तो लाग्छ। अझ भन्नुहुन्छ भने पुराना पार्टीको निराशाको प्रतिबिम्ब जस्तो लाग्छ मलाई।
बहुदलीय व्यवस्थामा सहज रूपमा चुनाव जित्न पार्टी चाहिन्छ। मूल कुरा त्यो छैन। स्थानीय चुनाव निर्दलीय होस् भन्ने चाहना सपना मात्र भयो।
योजना र दृष्टिकोणले मात्र अहिले चुनाव जितिँदैन। साम, दाम, दण्ड सबै कुरा चाहिन्छ। डाङडुङ गर्ने, खुवाउने/खाने संस्कारसँग सम्झौता गर्नुपर्छ। त्यो गर्न सकिँदैन। नयाँ संस्कार निर्माण गर्न चाहनेले त्यसो गर्नु पनि भएन। समय परिवर्तन भएछ भने सोचौँला भन्दै पन्छिन खोजेँ म!
एउटा साथीले ट्वाल्ल परेर अनौठो गरी हेर्यो। प्रश्न गर्न खोज्दै थियो। रोकियो र मेरै कुरा सुन्यो।
'राजनीति गर्न मन भए पनि समाजको परिवेशमा फिट हुन कठिन छ। स्थानीयस्तरमा हुनु पर्ने नेतृत्व निर्माण भएकै छैन। मान्छेले त्यस्तो खोज्दा पनि खोज्दैनन्। खासमा स्थानीय चुनाव पार्टी पार्टीबीचको हुनु नै गलत छ। संविधानमा भएको यो व्यवस्था कसले संशोधन गरिदेला र खै?'
साँच्चिकै गाउँमा धेरै कुरा गर्नुपर्ने छ- 'कृषिको रूपान्तरण, ग्रामीण बस्तीको पुनर्संरचना, शिक्षा, स्वास्थ्य, रोजगार र मानवीय सक्षमता वृद्धि, बसाइसराइको रोकथाम ...'।
दुनियाँकै पछौटेमध्ये एक भएर बस्न सकिँदैन अब। अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने? यो हाम्रो अकर्मण्यतालाई भविष्यका पुस्ताले नसरापून् भन्ने पनि ठान्छु! त्यसैले काम गर्न हतारो छ। नवीनले बीचैमा 'तपाईं जस्तो मान्छेलाई गाउँले खोज्दैछ, जानु यार' भन्यो। यस अगाडिका सबै मेरा कुरा सुनेन क्यारे! दोहोर्याइनँ उसलाई।
विदेश घुम्दा हामीले चाहिँ किन गर्न सकेनौँ होला? प्रश्न आइरहन्छन् मनमा।
विदेशको सुव्यवस्था र विकास देखेर गम खान्छु फेरि। मन भत्भती पोल्छ। यहाँ व्यक्तिगत परिवर्तनका लागि मान्छेहरू छट्पटिन्छन् तर राज्य निर्माणमा बेखबर छन्।
राज्य निर्माणपछि व्यक्तिका आवश्यकता स्वतः पूरा हुन्छन् भन्ने कुरा समाजमा बुझाउनै सकिएन। चार पाँच दशक अगाडि हाम्रै हाराहारीका कोरिया, मलेसिया, ताइवान, थाइल्यान्ड मात्र होइन, दुई दशकमा चमत्कार गर्ने दुबई, कतार, भियतनाम जस्ता मुलुकको विकास र परिवर्तन देख्दा डाहा लाग्छ। डाहा, विकास गरेकोमा होइन हामीले गर्न नसकेकोमा चिन्ता हो।
हामी चुक्यौँ...! अगाडि त बढिरहेका छौँ। तर सुस्त गतिमा। संसार दौडिरहेको बेला हामी हिँडिरहेको जस्तो लाग्छ। अझ कहिलेकाहीँ त हिँडेको होइन एकै ठाउँमा घुमिरहेको जस्तो लाग्छ। हाम्रा सामु समस्या अनगिन्ती छन्। तर समाधान पनि छन्। खासमा समाज, भू–बनोट, भूराजनीति, अर्थव्यवस्था र राज्य सञ्चालनको शैलीमा समस्या छ। सबभन्दा महत्वपूर्ण कुरा मानिसको चेतनामा छ। विकासका लागि चाहिने अनुशासन निर्माण गर्न सकिएन। सुशासन र भ्रष्टाचारमा निर्मम हुन सकिएन। नेता, प्रणाली र प्रवृत्ति खराब भन्छौँ, फेरि तिनैको पछि लाग्छौँ। त्यसका विरूद्ध लड्न सकिएन।
दोष एकले अर्कालाई लगाउन सकिन्छ। नेताले जनतालाई र जनताले नेतालाई। अनि देश चाहिँ दुवैको बीचमा अल्झिएको छ। राजनीतिक परिवर्तन धेरैपटक गर्यौँ। व्यवस्था फेर्यौँ, सरकार फेर्यौँ, संविधान फेर्यौँ, दल फेर्यौँ, अनुहार फेर्यौँ। तर काम गर्ने संस्कार फेर्न सकिएन। यो नै प्रमुख चुनौती हो।
परिवर्तनको कुरा गर्दा प्रायः सिंहदरबारतिर हेरिन्छ। सायद केही परिवर्तन त्यहाँबाट आउला तर सबै परिवर्तन त्यहाँबाट आउँदैन। मान्छेका सोच र काम गर्ने तरिका बदलिनुपर्छ।
अझ मुख्य कुरा, राजनीति गर्ने मान्छेको दृष्टिकोण हुनुपर्छ। एक हिसाबले ऊ नमूनायोग्य हुनुपर्छ।
स्थानीय समाजले त्यस्तो योग्यता र दृष्टिकोण खोज्दै खोजेन। अघिल्ला निर्वाचनहरूमा बुथ कब्जा गर्न खुकुरी नचाउँदै आएका उदण्डहरूको भिड त देख्नु भयो नि तपाईंहरूले? त्यो त हो भन्दै हो मा हो मिलाए। पुलिस प्रशासन र राज्य कति निरीह थियो त्यहाँ! अन्तमा त्यही निर्वाचनलाई सदर गर्यो होइन? हो यस्तैले मन दुख्छ।
यावत् कुरा बुझेर नै राजनीतिमा जान सक्दिनँ। किनकि झुटो सपना बेच्न, आफूले जिते सबै ठीकठाक हुन्छ भन्न, रातारात परिणाम दिन, चुनाव जित्नको लागि पैसा खर्च गर्न सक्दिनँ। सायद यस्तै कारण राजनीतिमा अयोग्य छु। योजना हुनु, दृष्टिकोण हुनु, इमान हुनुले तात्त्विक असर पर्दैन अहिले। चुनाव र राजनीति यिनै कुराहरूको परीक्षा हो। यस्तो गन्जागोल परीक्षामा पास हुन गाह्रो छ। पास हुनैको लागि चिट चोर्ने इच्छा पनि छैन मलाई।
तर एउटा कुरा, राजनीतिमा जान नसक्दैमा राजनीतिक चेतबाट अलग हुनु पर्छ भन्ने होइन।
राजनीति हाम्रो घरसम्म आउँछ। अस्पतालसम्म आउँछ। विद्यालयसम्म आउँछ। सडकसम्म आउँछ। त्यति मात्र होइन, छोराछोरीको भविष्यसम्म आउँछ। त्यसैले राजनीति खराब भयो भनेर पन्छिएर बस्न सकिँदैन। बस्नु पनि हुँदैन। आफ्नो आफ्नो ठाउँबाट राजनीति सुधार गर्न योगदान गर्नुपर्छ भन्ने मलाई लाग्छ।
राजनीति राम्रो हुनुपर्छ। नेतृत्व असल हुनुपर्छ। व्यवस्था प्रभावकारी हुनुपर्छ। त्यसका लागि राजनीति गर्ने मान्छेसँगै देश र समाजको संस्कार बदलिनु पर्छ। त्यो बदलियोस् भन्ने ठूलो इच्छा छ। सायद त्यही भएर अहिले राजनीतिमा जाँदिनँ र जान पनि सक्दिनँ। खासमा त्यहाँ खोजिने योग्यता र क्षमता छैन ममा।
लामै समय गफगाफ चल्यो। दिन ढल्किसकेछ। केही साथीहरू जाने होइन भन्न थाले। जमघटको सन्दर्भ र अन्तर्क्रिया फलदायी नै भयो भन्ने ठाने मैले। समकालीन यस्ता विषयमा फेरि छलफल गर्नुपर्छ भन्दै कुराको बिट मारियो।