घरको मूल ढोकामा
आज पनि उसैगरी उभिन्छिन् आमा
तर फर्केर आउने मान्छे, अब उनको आँखाले होइन,
सम्झनाले मात्रै खोज्छन्।
उनको सिन्दूर पुछिएको दिन
केवल निधार रित्तिएको थिएन
एउटी स्त्रीको आधा संसार समाजले एकैछिनमा
‘विधवा’ भनेर चिनाइदिएको थियो।
त्यो दिन उनले सेतो सारी फेरिन्
तर मनको कुनै कुना भित्रको रङ फेरिनन्;
चुल्हो निभ्न दिइनन्
तर आफ्ना रहरहरू, बिस्तारै खरानी बनाइन्।
छोराछोरीको अनुहारमा भविष्य खोज्दै
आफ्नो वर्तमान गाडिरहिन्
रातहरू उनीसँगै रोए
बिहानहरू भने उनकै हातबाट जन्मिए।
मान्छेहरू भन्थे
‘अब त एक्लै हो।’
उनी मुस्कुराउँथिन्,
किनकि उनलाई थाहा थियो
आमा कहिल्यै एक्ली हुँदिनन्
उनको काँधमा
सन्तानको पूरा आकाश हुन्छ।
आज छोराको घरमा
आमाको लागि एउटा कोठा छ
तर आमाको मनमा
अझै उही पुरानो घर छ
जहाँ एउटा कुर्सी खाली छ
र त्यस कुर्सीमा
उनी हरेक साँझ
मृत श्रीमानसँगै
मौन संवाद गर्छिन्।