जिन्दगीको दौडमा आज फेरि समयले अर्को कथा माग्दैछ। हाम्रो एउटा सानो र सुखी संसार थियो— म, मेरा श्रीमान् र मेरी प्यारी ७ वर्षकी छोरी।
छोरी सात वर्षकी हुँदासम्म हामीलाई कहिल्यै दोस्रो सन्तानको आवश्यकता महसुस भएन। तर समयसँगै चेत खुल्दै जाँदो रहेछ। 'भोलि हामी नरहँदा छोरी संसारमा एक्ली पो हुने हो कि' भन्ने डर मेरो मनमा पलायो।
श्रीमान् त भन्नुहुन्थ्यो, ‘एउटै भए पुग्छ’ तर छोरीकै भविष्य र साथीका लागि भए पनि मैले दोस्रो सन्तानको रहर गरेँ। हामी पूर्ण योजनाका साथ अगाडि बढ्यौँ।
हामी घरभन्दा टाढा, रोजगारीको सिलसिलामा थियौँ। म फेरि दोस्रो पटक आमा बन्ने सौभाग्य पाएँ, त्यो पनि मैले चाहेकै समयमा। योभन्दा ठुलो खुसी के हुन सक्थ्यो र! तर यात्रा सजिलो थिएन।
हामी दुवै स्कुलमा पढाउँथ्यौँ, छोरी पनि त्यहीँ पढ्थिन्। सुरुका चार महिना मलाई असाध्यै गाह्रो भयो। खाना खाने बित्तिकै बान्ता भइहाल्ने। दिनभरि स्कुलको थकानले शरीर गल्थ्यो। तर श्रीमान् साथमा हुँदा धेरै सजिलो हुन्थ्यो। बिहान उहाँले जसोतसो खाना बनाउनुहुन्थ्यो, हामी स्कुल जान्थ्यौँ।
साँझ फर्केपछि म लुगा पनि नफेरी ढल्थेँ। श्रीमानले माया गरेर ख्वाउनुहुन्थ्यो, तर खाएको केही बेरमै बान्ता हुन्थ्यो। शरीर कमजोर थियो, तर मन बलियो थियो किनकि म फेरि आमा बन्दै थिएँ।
स्कुलमा मैले कसैलाई यो कुरा सुनाएकी थिइनँ। मंसिर-पुसको महिना, विद्यार्थी र सरहरूले सुन्तला र अमिलो ल्याउनु हुन्थ्यो र ‘म्यामलाई मनपर्छ’ भन्दै दिनुहुन्थ्यो। म कति धेरै खान्थेँ! खाइसकेपछि डकार बान्ता आउँदा अरूले सोध्दा ‘ग्यास्ट्रिक हो’ भनेर टारिदिन्थेँ। आफ्नै इच्छाले आमा बन्दै गर्दा पनि मलाई किन हो किन लाज लाग्थ्यो।
यसरी नै पाँच महिना बित्यो। चैतमा स्कुलको अन्तिम परीक्षा सकिएपछि हामी आफ्नो स्थायी घर फर्कियौँ। छोरीको पढाइ र सानो उमेरका कारण म अब उतै फर्किन सक्ने अवस्था थिएन। म घरमै बस्ने भएँ। श्रीमानको मलाई एक्लै छोडेर जाने मन त कहाँ थियो र, तर रहरभन्दा बाध्यता ठुलो हुन्थ्यो। घरमा नानी र मलाई छोडेर हाम्रो खुसी किन्न उहाँ फेरि आफ्नो कर्मथलो फर्किनुभयो।
त्यसपछि सुरु भए मेरा दुःखका दिन। श्रीमानको भूमिका कति ठुलो हुन्छ भन्ने कुरा उहाँ टाढा भएपछि मात्र थाहा पाएँ। उहाँ साथमा हुँदा मेरो शरीर कमजोर भए पनि मन बलियो थियो किनकि उहाँ मेरो पीडा बुझिदिनुहुन्थ्यो। यता घरमा आएपछि शारीरिक पीडासँगै मानसिक पीडा थपियो।
महिलालाई कति गाह्रो छ— सबैको मन राख्नुपर्ने, चित्त बुझाउनुपर्ने, तर जति गर्दा पनि जस नपाइने। कहिलेकाहीँ त लाग्थ्यो बुहारी हुनु नै ठुलो पाप हो। यो अवस्थामा तँलाई कस्तो छ भनेर सोध्नुको साटो झन् पीडा थपिन्थ्यो।
यसैबिच हामीले छोरीलाई सुनायौँ, ‘तिम्रो खेल्ने साथी आउँदै छ।’ उनी खुसी हुनुको साटो रोइन् र भनिन्, ‘अब तिमीहरूले मलाई माया गर्दैनौ।’
त्यो अबोध बालिकाको कुराले मन अमिलो भयो, पछि सम्झाएपछि मात्र उनी खुसी भइन्। त्यसपछि मेरो सबैभन्दा नजिकको साथी मेरी छोरी भइन्। स्कुलबाट आउँथिन्। अनि मम्मी एकछिन फ्रेस हुन पर्छ हिँड्नुपर्छ भनेर मलाई सधैँ हिँडाउँथिन्। सानो सानो कुरामा मलाई छोरीले केही सहयोग गर्दा पनि मन ठुलो हुन्थ्यो।
दुःखसुख दिनहरू बित्दै जाँदा स्वास्थ्यमा अर्को संकट आयो। मलाई प्रेग्नेन्सी सुगर देखियो र शरीर चिलाउने खतरनाक समस्या पनि सुरु भयो। डाक्टरहरूले कडा निगरानीमा राखेर औषधि चलाए। १५-१५ दिनमा हस्पिटल जानुपर्थ्यो, कहिले त एक हप्तामा पनि। स्वास्थ्यको पिर, मानसिक तनाव, श्रीमान् टाढा— तर काखको र पेटभित्रको बच्चाका लागि मैले खुसी हुनै पर्ने थियो। मेरा यी समस्याहरू मात्र दुई/चार जनालाई थाहा थियो।
भनेर के हुन्छ र भनेर हामीले कसैलाई सुनाएका थिएनौँ। मेरा दिदीहरू र मेरो मम्मी नै मेरा सबैभन्दा नजिकको साथी उहाँहरूसँग लुकाउने कुरै थिएन।
मेरी ममीले फोनबाटै भए पनि मलाई सधैँ ऊर्जा दिनुहुन्थ्यो र भगवानमा विश्वास गर्न सिकाउनुभयो। मैले हरेक बिहान उठेर हनुमान चालिसा र गर्भ चालिसा सुन्न र पढ्न सुरु गरेँ।
साँच्चै भगवान् हुनुहुँदो रहेछ! उहाँले मेरो पुकार सुन्नुभयो। मेरो डेलिभरी डेट (डेलिभरी हुने दिन) भन्दा १० दिन अगाडि श्रीमानको जागिर घरपायक भयो। उहाँ मैसँग नजिक आउँदा संसारको सारा खुसी जिते जस्तो लाग्यो। अब मलाई कुनै डर थिएन, मात्र बच्चालाई सकुशल धर्तीमा ल्याउनु थियो।
मेरो एउटा सानो रहर थियो— 'बेबी सावर' गर्ने र राम्रा फोटोहरू खिच्ने। तर श्रीमानले भन्नुभयो, ‘त्यस्तो केही गर्नु पर्दैन, यो फेसन मात्र हो, म दही चिउरा विधि गरिहाल्छु।’
मैले देखेको त्यो सपना अधुरै रह्यो तर मलाई गुनासो छैन, त्यो हाम्रो परम्परा पनि त होइन, आजकालको ट्रेन्ड मात्र त हो।
अन्ततः, म फेरि आमा बनेँ। त्यो असह्य पीडा र दुःखको त कुरै नगरौँ। यदि अरू कसैले त्यति दुःख दिएको भए जिन्दगीभर अनुहार हेरिँदैनथ्यो होला। तर आफ्नै सन्तानलाई धर्तीमा ल्याउन पाएको दुःख कस्तो अचम्मको! सन्तानको मुख देख्ने बित्तिकै, उसलाई काखमा राख्ने बित्तिकै सारा पीडा छिनभरमै हराएर गयो।
आज म दुई महिनाको सुत्केरी छु। यो ९ महिनाको यात्रामा मलाई कसले कति साथ दियो र कसले कति चित्त दुखायो, त्यो सबै मैले आफ्नै मनभित्र गुम्स्याएर राख्न चाहेँ। किनकि मेरो काखमा मुस्कुराइरहेका मेरो सन्तानहरू नै मेरो संसार हो, र यसको अगाडि अरू सबै कुरा फिक्का छन्।